Home / Feature Breaking news / विश्व आत्महत्या रोकथाम दिवस: आशा जगाऔ जीवन बचाऔ

विश्व आत्महत्या रोकथाम दिवस: आशा जगाऔ जीवन बचाऔ

लक्ष्मी ढकाल
मेरो एकजना ११ मा सँगै पढेको साथीले ४ दिनअघि मलाई फोनमा जीवनप्रति निराशा लागेको र आफू यस संसारमा बाँच्ने ईच्छा नलागेको कुरा गरिन । तत्कालै भेटेर कुरा गर्ने अवस्था नै थिएन ,किनकी म टाढा थिए । मएउटा मनोविमर्शकर्ता भएको हिसाबले मैंले उनलाई उचित समय दिएर उचित तरिकाले जीवनका विषयमा बुझाउनेछु र सोचाई परिवर्तन गर्न सहयोग गर्ने छु भन्ने सोच्दै थिएँ । तर, आज मात्र विष सेवन गरी आत्महत्या गरिछन ।

एसएसई परीक्षामा ए प्लस नआएको भन्दै काठमाडौंकी एक किशोरीले आत्महत्या गरेको समाचारलाई पनि हामीले बिर्सिएका छैनौं । फेसवुक लाइभमा आएर आत्महत्या गरेका समाचारहरु पनि विर्सिएका छैनौ ।यी त भए आत्महत्याका केही प्रतिनिधिमूलक घटनाहरु । आत्महत्याको बाटो रोजिएका दृष्टान्तहरु । तर, समग्रमा व्यक्तिले आत्महत्या किन गर्दछन् ।के कारणले आत्महत्या गर्ने सोचलाई अझ बढाउँछ । आत्महत्याको रोकथाम किन सोचेअनुरुप सवै पक्षसँग सहकार्य गरेर गर्न सकिएको छैन र, अब आत्महत्याको रोकथाममा घरपरिवार, साथीसँगी, विशेषज्ञ, सरकारी संयन्त्रसहित सबैको सहयोग लिएर कसरी योगदान पुर्‍याउन सकिन्छ, अब हामी सबैले सोच्नुपर्ने बेला आइसकेको छ ।

हरेक वर्ष सेप्टेम्वर १० लाई ‘विश्व आत्महत्या रोकथाम दिवस’ को रुपमा मनाइने गरिन्छ । र, सधैंझैं यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले तय गरेको ‘आशा जगाऔ,जीवन बचाऔ भन्ने २०२२को नाराका साथ नेपाल लगायत विश्वभरि नै यो दिवस मनाउन लागिएको छ ।

यो नाराको विषयवस्तुलाई ह्रदयंगम गरी यो दिवस मनाउँदै गर्दा नेपालमा आत्महत्याको दर किन बढिरहेको छ, किन मानिसहरुले आत्महत्यालाई मुत्युवरण गर्ने माध्यमका रुपमा लिइरहेका छन्, यसको रोकथाम सोचेअनुसार किन गर्न सकिएको छैन । साथै आत्महत्याको रोकथाममा घरपरिवार, साथीभाइ, समाज, सहयोगी संस्थाहरु, राज्यका संयन्त्रलाई कसरी परिचालन गर्ने भनेर बस्तुगत विश्लेशण गरी उपयुक्तखालको योजना बनाई लागु गर्नुपर्ने देखिन्छ ।

आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा असह्रय हुने गरी पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोज्छन् ।

उदासिनता, रक्सी र अन्य लागुपदार्थको दुरुपयोग,दिर्गरोघ,मानसिक समस्या,मनोसामाजिक समस्याहरु जस्तै युवा तथा किशोर किशोरी, सम्वन्ध विच्छेद गरेर एक्लो जिवन बाँचिरहेका व्यक्तिहरु, तनावयुक्त बैवाहिक जीवन, घरवार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गिक हिंसा, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरु, प्रेममा असफल व्यक्तिहरु, ठूलो आर्थिक हानी नोक्सानीमा परेका व्यक्तिहरु, जीवनदेखि हरेस खाएका र आत्मविश्वास गुमाएका ब्यक्तिहरु आत्महत्याको बढी जोखिममा हुन्छन् ।

आत्महत्या गर्ने कारणहरुमध्ये डिप्रेसन रोग प्रमुख हो । डिप्रेसनका कारण मनमा धेरै पीडा हुन्छ, बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरे मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि यस्ता बिरामीले आत्महत्या गर्छन् ।

डिप्रेसन भएका विरामीको मद्यपान वा लागुपदार्थ सेवन गर्ने बानी छ भने आत्महत्या गर्ने खतरा अरु बढ्छ । मानसिक असन्तुलन, मदिरापानको लत, लागुपदार्थको दुव्र्यसन, छारे रोग, दीर्घखालको र धेरै पीडा हुने शारीरिक रोग र एचआइभी एड्स आदि जस्ता कारणहरुले पनि मानिसहरुमा आत्महत्याको सोच ल्याउन सक्ने र आत्महत्याको प्रयास समेत गर्ने सक्ने सम्भावना हुन्छ ।

मानसिक तथा शारीरिक पीडा एकदमै धेरै भयो भने र आफ्नो जीवनदेखि नै निराशपना उत्पन्न भयो भने व्यक्तिले आत्महत्याको बाटो रोज्छन र कतिपय अवस्थामा आत्महत्याको बाटो रोज्न परिवारका सदस्यहरु तथा अन्य कसैले बाध्य बनाइरहेको हुन्छ ।

आत्महत्या गर्ने विचार गरेकाहरुले आफ्नो मनको कुराहरु परिवारजन तथा साथीभाइलाई भनेका हुन्छन् । जस्तै “मेरो कोही छैन,मलाई कसैले माया गदैनन म यो जिन्दगीमा वाचेर के काम वरु मर्न पाए आनन्द हुन्छ भन्ने जस्ता निराश भएको कुरा गर्छन् भने परिवारजनले उसमा आत्महत्याको विचार आएको हो कि भनी शंका गरी यस्तो कुरा किन गरेको भनेर सोध्नुपर्छ । उसलाई यतिखेर सहयोगको आवश्यकता छ भन्ने बुझ्न सक्नुपर्छ । यदि परिवारका सदस्य वा अन्य कसैले यस्तो विचार व्यक्त गरेमा तुरुन्त मानसिक रोग विशेषज्ञ वा तालिम प्राप्त मनोविमर्शकर्ता कहाँ लैजानुपर्छ ।

मानसिक स्वास्थ्यको प्रवद्र्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास तथा सोच भएका व्यक्तिहरुलाई आवश्यक मनोविमर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, मनोविदहरु तथा विशेषज्ञहरुमार्फत सेवाको पहुँच सबैका लागि सर्वसुलभ बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आवश्यक नीति र निर्देशिका बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ । स्थानीयस्तरका सामुदायिक संघसस्थाहरु र गैरसरकारी संस्थाहरुलाई पनि आत्महत्याको रोकथामको विषयमा जागरुक गराई उनीहरुको क्षमता अभिबृद्धि गर्न सकियो भने त्यस्ता संघसंस्थाहरु मार्फत आत्महत्याको रोकथाममा उल्लेख्य सहयोग गर्न सकिन्छ ।

डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याका सोचाई राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्या गर्ने सोचाइ आउने सम्भावना कम हुन्छ । आत्महत्याको रोकथाममा परिवार, समाज, साथीसङगीहरुको भूमिका सवै भन्दा महत्वपूर्ण हुन्छ ।

आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने, उनीहरुको मनको कुरा सुनीदिने, विरामीलाई एक्लै नछोडने,मनोविमर्शकर्ताकहा सिफारिस गर्ने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा घरपरिवारका सदस्य तथा साथी भाईहरुले सहयोग गर्नुपर्दछ । सम्पूर्ण सबै पक्षसँग समन्वय, सहयोगका लागि सहकार्य र आत्महत्याको जोखिममा रहेका व्यक्ति, वर्ग र समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्न सकियो भने आत्महत्याको रोकथाम गर्न सक्छौ ।
लेखक मनाेसामाजिक मनोविमर्शकर्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*