Home / Feature Breaking news / फोरलेन सडक : १५ दिनमा खाल्टा पुर्ने, पुससम्म ३० प्रतिशत काम

फोरलेन सडक : १५ दिनमा खाल्टा पुर्ने, पुससम्म ३० प्रतिशत काम

अमरराज आचार्य
दाङ, १८ भदौ । जिल्लाका गौरवको योजना फोरलेन सडक आउँदो पुससम्म ३० प्रतिशत काम नभए ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने भएको छ । यो योजना जिल्लाको गौरवको आयोजनाको रूपमा छ तर योजना सुरु भएको लामो समयसम्म पनि थोरै मात्र काम भएको छ । योजना सञ्चालन भएको करिब ३ वर्ष बितिसक्दा पनि अहिलेसम्म १० प्रतिशत मात्र काम भएको छ ।

शुक्रवार जिल्ला समन्वय समितिको संयोजनमा भएको सरोकारवालाहरूको बैठकले पुससम्म ३० प्रतिशत काम पूरा गर्न निर्माण कम्पनीलाई सचेत गराएको छ । पुस मसान्तसम्म ३० प्रतिशत काम नभए ठेक्का तोड्ने निर्णय भएको जिल्ला समन्वय समिति दाङले जनाएको छ । समयमा फोरलेनको काम नहुँदा यात्रुहरूले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

फोरलेनकै कारण भएका सवारी दुर्घटनाले मानव क्षति समेत भएको छ । बैठकले चारलेन सडकअन्तर्गत घोराही, तुलसीपुर, घोराही, लमही सडकखण्डमा रहेका खाल्टाखुल्टी १५ दिनभित्र पुरिसक्नु पर्ने निर्णय समेत गरेको छ । खाल्टा पुर्ने जिम्मा बैठकले आयोजना निर्माण कम्पनीलाई दिएको छ ।

यसैगरेर चारलेन सडक निर्माणका लागि समन्वय सहजीकरण र उक्त कामको प्रगति विवरण, समस्या समाधान, समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । जसको सदस्य सचिवमा फोरलेन आयोजनाका प्रमुख रहने भएका छन् ।

समितिको सदस्यमा घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायीहरू सदस्य रहने भएका छन् । समितिको बैठक १५÷१५ दिनमा बस्ने र भएका कामको समीक्षा गर्न र समस्या समाधानका लागि पहल गर्ने बैठकले निर्णय गरेको छ ।

फोरलेन सडक निर्माणले गति लिन नसकेपछि यातायात व्यवसायीहरूले केही सयम अघि विरोधका कार्यक्रम सावर्जनिक नै गरेका थिए । यो सहमतिसँगै यातायात बन्दको कार्यक्रम स्थगन गर्ने निर्णय भएको छ । समयमा नै काम नहुँदा चारलेन सडकमा धेरैले ज्यान गुमाएका छन् । बैठकमा चारलेन सडक आयोजनाका प्रमुख अर्जुन बमले अहिलेसम्म चारलेन सडकको १० प्रतिशत मात्र काम सम्पन्न भएको बताए । काम गर्नका लागि अवरोध नभए पनि काम हुन नसकेको उनले बताए ।

‘काम गर्न कुनै समस्या छैन त्यही पनि काम हुन सकेको छैन’ उनले भने । चारलेन सडकसँगै सुरु भएका आयोजनाहरूको काम करिब अन्तिम चरणमा रहेको उनको भनाइ छ । फोरलेन बनाउने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बई र सडक विस्तार योजना २०७५ पुस १३ गतेबाट काम सुरु गर्ने सम्झौता भएको थियो तर सम्झौताको करिब एक वर्षपछि मंसिर दोस्रो सातादेखि मात्र निर्माणको काम सुरु भएको थियो ।

निर्माण कम्पनीले सम्झौताको मितिले ३० महिनाभित्र लमही–घोराही हुँदै तुलसीपुर सम्मको करिब ४९ किलोमिटर सडकलाई फोरलेनको रूपमा विस्तार गरिसक्ने गरी सम्भौता भएको थियो । सडकखण्ड फोरलेन गर्नका लागि भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले १ करोड २१ लाख ८२ हजार ३ सय अमेरिकी डलरमा जिम्मा लिएको छ तर पटक–पटक निर्माणको जिम्मा पाएको कम्पनीले अन्य ठेकेदारलाई जिम्मा दिँदै आएको छ ।

काम नगरी निर्माणका कामका लागि विभिन्न कम्पनीलाई जिम्मेवारी दिए पनि कामले गति लिनसकेको छैन । समयमा काम नहुँदा नागरिकले धेरै दुःख पाउने गरेका छन् । सडक समयमा निर्माण गर्न माग गर्दै पटक–पटक आन्दोलन समेत गर्दै आएका छन् । बैठकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले फोरलेन सडक निर्माण कम्पनीको लापरवाहीका कारण समयमै सडक निर्माण हुन नसकेको बताए ।

समयमा काम गर्न नसक्ने ठेकेदारलाई नियमअनुसार कारबाही गरिनु पर्ने भए पनि कारबाही हुन नसकेको बताए । उनले सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । फोरलेन सडक समयमै काम हुन नसक्दा जनप्रतिनिधिहरूले गाली मात्र खाने गरेका छन्’, नगर प्रमुख चौधरीले भने, ‘आफूहरूलाई जिम्मा दिएमा त्यसको जस अपजस लिन तयार छौँ ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सरकारको नीतिको कारण समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसकिएको बताए । काम गर्दा भएका कमीकमजोरी सच्चाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । काम गर्नका लागि आफूहरूले सहयोग गर्न तयार रहेको समेत उनले बताए । ‘काम गर्नुहोस्, हामीबाट हुने सहयोग गर्न हामी तयार छौँ’, प्रमुख खड्काले भने । जिल्लाकोे समृद्धिको लागि सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने समेत उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फोरलेन सडक निर्माणका लागि समयन्व भइरहेको बताए । निर्माण कम्पनीसँग काम गर्नका लागि पटक–पटक सम्पर्क गरेर काममा लगाउने काम गरिरहेको उनको भनाइ छ । समयमा काम गर्न नसक्ने, निर्माणको काम नगर्नेलाई ठेक्का सम्झौता गर्ने निकायले कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

फोरलेन सडक निर्माणको काम गरिरहेको श्रेष्ठ निर्माण कम्पनीका प्रतिनिधि शेखर शर्माले वैशाख महिनाबाट आफूहरूले काम गर्न सुरु गरेको बताए । निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरूको समस्याको कारण केही समस्या भएको उनको भनाइ रहेको थियो । तिहारपछि तीव्र गतिमा काम हुने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले चारलेन सडकमा चरम लापरबाही भएको बताएका थिए । उनीहरूले लापरबाही गर्ने ठेकेदारलाई कारबाही गरिनु पर्ने बताएका थिए । अहिलेको निर्माण कम्पनीबाट काम हुन नसक्ने भएकाले ठेक्का रद्द गरेर अगाडि बढ्न समेत आग्रह गरेका थिए । बैठकमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, यातायात व्यवसायी सुरेश हमाल, घनश्याम बस्नेत, घोराही खानेपानीका अध्यक्ष देवीबहादुर डिसी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, सञ्चारकर्मी दधिराम सुवेदी, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, डा लोकराज पराजुलीलगायले विभिन्न सुझाव राखेका थिए । बैठक जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*