Home / Feature Breaking news / घोराहीमा वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र सार्वजनिक, ५७ सय बढी रोजगारका लागि विभिन्न देशमा

घोराहीमा वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र सार्वजनिक, ५७ सय बढी रोजगारका लागि विभिन्न देशमा

दाङ, २० असार । घोराही उपमहनगरपालिकाले बैदेशिक रोजगार सम्वन्धी पाश्र्र्वचित्र तयार गरेको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको बार्षिक समीक्षा तथा वैदेशिक रोजगारीसम्बन्धी तयार गरिएको पाश्र्वचित्र सार्वजनिक गरिएको हो ।

२०६८ सालको जनगणना अनुसार तयार गरिएको पाश्र्वचित्रमा घोराही उपमहानगरपालिकाबाट ८ हजार बढी मानिस रोजगारका लागि विदेश गएका छन् । घोराहीमा घर भएका ३५ हजार ४ सय १९ घरधुरीमध्ये ८ हजार १३ जना रोजगारीका लागि बाह्य देशमा गएको पाश्र्वचित्रमा उल्लेख गरिएको छ । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये २ हजार २ सय ८५ जना रोजगारबाट फर्किएका छन् भने ५ हजार ७ सय २८ जना बैदेशिक रोजगारका क्रममा विभिन्न देशहरुमा रहेका छन् ।

उनीहरुमध्ये २६ प्रतिशतले मात्र सुरक्षित वैदेशिक रोजगार सम्वन्धी आवश्यक सूचना वा जानकारी लिएर गएको अवस्था छ । वैदिशक रोजगारमा जाने २१.३२ प्रतिशत जनसंख्यामध्ये ४ प्रतिशत महिलाहरु रहेको सामी परियोजनाले जनाएको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश करिब ८५ प्रतिशत व्यक्तिहरु २१ देखि ४० उमेर समूहका रहेका छन् ।

तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जाने करिब ६३ प्रतिशतको मुख्य गन्तव्य खाडी मुलुकहरु रहेको पाइएको छ । जसमा साउदी अरबमा २० प्रतिशत, दुवईमा १४ प्रतिशत, मलेसियामा १४ प्रतिशत र कतारमा १२ प्रतिशत रहेका छन् । त्यसैगरी १५ प्रतिशत युवाहरु युरोपलगायतका देश र बाँकी २५ प्रतिशत मानिसहरु रोजगारीका लागि भारत जाने गरेको पाश्र्वचित्रमा उल्लेख गरिएको छ ।

बैदेशिक रोजगारीमा जाँदा सीप तालिम सिकेर जाने युवाहरुको संख्या अन्त्य न्यून रहेको पाइएको छ । वैदेशिक रोजगारीमा रहेको संख्यालाई विश्लेषण गर्दा १४ प्रतिशत युवाहरु मात्र सीप तालिम सिकेर वैदेशिक रोजगारीमा जाने गरेका छन् भने ८६ प्रतिशत युवाहरु कुनै पनि सीप वा तालिम नलिएर विदेश जाने गरेको देखाउँछ । बैदेशिक रोजगारीमा रहेका युवाहरुबाट घोराही उपमहानगरपालिकामा बार्षिक रुपमा १ अर्ब ६८ करोड २४ लाखको हाराहारीमा विप्रेषण भित्रने गरेको छ ।

विप्रेषण सबैभन्दा धेरै साउदी अरबबाट २० प्रतिशत, मलेसियाबाट १५ प्रतिशत, कतार र युएईबाट १३÷१३ प्रतिशत र बाँकी अन्य देशहरुबाट २८ प्रतिशत भित्रने गरेको उल्लेख गरिएको छ । यसरी आउने रकममध्ये सबैभन्दा धेरै ऋण तिर्न २४ प्रतिशत, घर खर्च तथा खानपिनमा १५ प्रतिशत, घर बनाउन १२ प्रतिशत, जग्गा खरिद गर्न ९ प्रतिशत, शिक्षामा ८ प्रतिशत र स्वास्थ्य उपचारमा ९ प्रतिशत खर्च हुने गरेको छ । त्यसैगरी व्यवसाय सुरुवातमा १ प्रतिशत, जिन्सी सम्पत्ति जोड्न ५ प्रतिशत, २ प्रतिशत ऋण लगानी र बाँकी १५ प्रतिशत बचत परिवारले बचत गर्ने गरेका छन् ।

पाश्र्वचित्रको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, उपमप्रमुख हुमा डिसीलगायतका अतिथिहरुले बिमोचन गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले वैदेशिक रोजगारीलाई घटाएर युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी देशको आर्थिक समृद्धि गर्न सकिने बताएका थिए ।

देशमा रोजगारीका अवसरहरु नहुँदा धेरै युवाहरु विदेशिन बाध्य भएको भन्दै नगर प्रमुख चौधरीले युवाहरुलाई आफ्नै ठाउँमा बस्ने र केही गर्ने अवसर सिर्जना गर्नका लागि घोराही उपमहानगरपालिकाले ध्यान दिइरहेको बताएका थिए । कार्यक्रममा सामी परियोजनाले गरेका कार्यक्रमहरुको बारेमा परियोजनाका प्रदेश संयोजक पञ्चराम चौचरीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिकाका बालकृष्ण खनालले गरेका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायतको सहभागिता रहेको थियो । सामी परियोजनाले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिका बैदेशिक रोजगार सम्वन्धी सचेतनामुलक र अप्ठेरोमा परेका परिवारलाई सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*