काठमाडौं । गायिका विमा कुमारी दुराले कलाकारलाई सरकारले उपेक्षा गरेको गुनासो गरेकी छन् । जीवनको उर्जाशील समय देशको कला संस्कृतिको संरक्षण र संबद्र्धनमा खर्चिएका कलाकार नै सरकारबाट उपेक्षित भइरहेको उनको दुःखेको छ ।
“सरकारले हामी कलाकारहरुलाई चाहेको भए धेरै गर्न सक्थ्यो र गर्नु पनि पथ्र्यो तर गरेको छैन,” केही केही दिन अगाडि काठमाडौंका आयोजित एक कार्यक्रममा उनले भनिन्, “जति हाम्रा लागि गर्नु भएको छ, दर्शक तथा स्रोताले गर्नु भएको छ ।”
“गुण्डा मरे पार्टीले झण्डा ओडाउने तर सर्जकको मृत्यु भए केही पनि छैन । सरकारले कलाकारलाई चिन्दैन,” दुराले अगाडि भनिन् ।
गुण्डा नाइकेहरु चिन्ने सरकारले सर्जकहरुलाई नचिनेको उनको गुनासो छ । “सिंहदरबार पस्न पनि हामीलाई गाह्रो छ । अरु त के कुरा गरौं, यसबाटै राज्यले हामी (सर्जक)लाई गरेको ब्यबाहार प्रष्ट हुन्छ, दुरा भन्छिन् ।
पछिल्लो समय भइरहेका सिङगिङ रियालिटी शो प्रति आफ्नो धारणा राख्दै उनले भनिन्, “लोक गायन प्रतिभाको उजागर गर्ने कार्यक्रम ‘नेपाल लोक स्टार’ हुने सुन्दा खुसी लाग्यो । सरकारले गर्नुपर्ने काम कोही एक व्यक्तिको पहलमा हुँदैछ । यो प्रतिस्पर्धाबाट सही लय, स्वर र शब्द भएको व्यक्ति छानियोस् ।”
लोक गायनको क्षेत्रमा दर्जनौं कालजयी गीत दिएकी विमा अग्रज गायिका हुन् ।