Home / समाचार / राजपुर गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका

राजपुर गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका

राजपुर, १६ असार । राजपुर गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिले मंगलवार सो पालिकालाई एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका भएको प्रमाणपत्र दिएको छ ।

राजपुर गाउँपालिका खोप समन्वय समितिले सबै वडालाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र दिएपछि पालिकालाई जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरे । राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभामा प्रमुख अतिथि शर्माले बालबालिकाहरुलाई आधारभूत स्वास्थ्य सेवाअन्तर्गत सबै खोप उपलव्ध गराउँदै पूर्ण खोपको अभियानलाई निरन्तर चलाउन आग्रह गरे ।

संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पनि बालबालिकालाई नेपाल सरकारले तोकेका सबै प्रकारका खोप तोकिएको उमेर समूहभित्रै उपलब्ध गराउन आग्रह गरे । भौतिक विकासले मात्र मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उनले मानव विकास पनि उत्तिकै आवश्यक रहेको बताए । त्यसका लागि बालबालिकाको स्वास्थ्य सेवामा सबैलाई गम्भीर हुन आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप कार्यक्रम अधिकृत किशोर आचार्यले पालिकालाई पूर्णखोप सुनिश्चित गराउनका लागि पूरा गर्नुपर्ने विभिन्न चरणका विषयमा जानकारी गराएका थिए । नेपाल सरकारले तेह्र प्रकारका रोगबाट बच्ने औषधिको खोप बालबालिकालाई उपलव्ध गराउँदै आएको छ । यसका लागि बालबालिकाहरुलाई ७ वटा खोप लगाउनुपर्ने छ ।

कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादव, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेललगायतले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका बनाउन सहयोग गर्ने सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिँदै यसको दिगोपनामा गम्भीर बन्न आग्रह गरेका थिए ।

कार्यक्रमको सहजीकरण राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल पुनले गरेका थिए । कार्यक्रममा राजपुरका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*