काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । तर उनले कुन समूहबाट आफु महामन्त्रीमा उठ्ने भन्ने खुलाएनन्।
भेलालाई सम्बोधन गर्दै थापाले आफ्नो क्षेत्रबाट उम्मेदवारी घोषणा गरेकाले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे। ‘यो ठाँउबाट प्रारम्भ गरेका सबै सफलता प्राप्त गरेको छु । सायद अघिल्लो पटक यो कुरामा त्यत्ति ध्यान पुर्याउन सकिनँ। मैले त्यो बेलामा दाङमा गएर उम्मेदवारी घोषणा गरेको थिएँ,’ थापाले भने ‘तर आज मेरो ठाउँ, आँगन, मन्दिर जे–जे भने पनि मेरो सबै कुरा यहि नै हो । यहीँबाट उम्मेदवारी घोषणा गरेको छु। तपाईंहरुको शुभेच्छा र आशिर्वाद सधैं जस्तो, मैले यो पटक पनि पाउँछु भन्ने भरोसा छ।’
थापा यसअघि १३ औं महाधिवेशनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट पनि महामन्त्रीको उम्मेदवार बनेका थिए। तर उनी रामचन्द्र पौडेल समूहका डा. शशांक कोइरालासँग पराजित भएका थिए।
RaptiSandesh RaptiSandesh