Home / Feature Breaking news / लमही नगरपालिकाको नीति कार्यक्रम : कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

लमही नगरपालिकाको नीति कार्यक्रम : कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

लमही, १० असार । बजेटको पूर्वसन्ध्यामा पालिकाहरुले नीति कार्यक्रम ल्याएका छन् । केही पालिकाले केही दिन पहिलो नयाँ आर्थिक वर्षको लागि नीति कार्यक्रम ल्याए पनि जिल्लाका अधिकांश पालिकाले बजेट ल्याउने एक दिनअघि मात्र वार्षिक नीति कार्यक्रम ल्याएका छन् । केही पालिकाले बजेट र नीति कार्यक्रमसँगै ल्याउने तयारी समेत गरेका छन् ।

जिल्लामा दश पालिका छन् । असार १० मा पालिकाहरुले बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ । लमही नगरपालिकाको नयाँ आर्थिक वर्षको लागि वार्षिक नीति कार्यक्रम ल्याएको छ । दोस्रो नगर सभा तथा प्रथम अधिवेशनमा नगर प्रमुख जोगराज चौधरीले आव २०७९÷०८० को लागि नीति कार्यक्रम ल्याएका हुन् । नीति कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रलाई समेटिएर ल्याएको नगरपालिकाले जनाएको छ ।

नीति कार्यक्रम ६२ बुँदामा समेटिएको छ । कार्यक्रममा पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय सरकारले योजना तथा नीति कार्यक्रमहरु जनतालाई केन्द्रबिन्दुमा राखेर बनाउन सुझाव दिए । जनताको अपेक्षा र आवश्यकता बिपरीत योजना तथा नीति बन्दा जनतामा निराशा छाउने भएकोले स्थानीय सरकारका प्रमुखले आफूअनुकूल नभई जनअनुकूल योजना बनाउन आवश्यक भएको बताए । लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले स्थानीय सरकारले नगरसभा आयोजना गर्दा आफैले बनाएको कानुनको पालना गर्न आबश्यक भएको बताए ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नगरपालिकाको प्रस्तुत बार्षिक योजना र कार्यक्रममा सुझावमा आएका र छुटेका कार्यक्रमहरुलाई समावेश गरेर कार्यसम्पादन गरिने बताइन् । नगरपालिका पूर्व उपप्रमुख देबका बेलबासेले नगरपालिकाले आर्थिक सुशासन र पारदर्शितामा विशेष ख्याल राख्न सुझाव दिइन् । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्थानीय सरकारले शान्ति सुरक्षाको मजबुतीको सवाललाई पनि बार्षिक कार्यक्रममा समेट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा जेष्ठ नागरिक सञ्जालका अध्यक्ष जागेश्वर शर्मा घिमिरे, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष केपी घिमिरे, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डेय, नेकपा माओबादीका लमही इन्चार्ज दिलकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका तारा खनाललगायतले विचार राखेका थिए । कार्यक्रमको सञ्चालन गायत्री थापाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*