काठमाडौँ : क्रियाशील सदस्यता वितरणमा देखिएको विवादबारे आफ्नो धारणा तय गर्न कांग्रेस संस्थापन इतर समूह छलफलमा जुटेको छ । पार्टी महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा.प्रकाशशरण महत, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायतबीच छलफल सुरु भएको हो ।
‘नेताहरुबीच अहिले पनि छलफल चलिरहेको छ,’ एक नेताले जानकारी दिए । आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका केही सदस्यलाई पनि छलफलमा बोलाइएको बताइएको छ ।
समितिका संयोजक रमेश लेखकले ५७ जिल्लाको क्रियाशील सदस्यको विवरणले अन्तिम रुप पाइसकेको बताएका छन् । उनले सप्तरी र बाराको मात्रै बाँकी रहेको बताएका छन् । तर, अन्य जिल्लामा पनि संस्थापन समूहले जिल्ला तथा वडा तहका पदाधिकारीलाई नै पन्छाएर क्रियाशील सदस्यता बाँडेको भन्दै विवाद भइरहेको छ ।