Home / Feature Breaking news / स्थानीय तह निर्वाचन : दाङमा पालिकामा कांग्रेस, वडामा एमाले पहिलो शक्ति

स्थानीय तह निर्वाचन : दाङमा पालिकामा कांग्रेस, वडामा एमाले पहिलो शक्ति

दाङ, ११ जेठ । स्थानीय तहको चुनावको मतपरिणाम अन्तिमतिर पुगेको छ । सम्भवतः आज बुधवारसम्म जिल्लाका सबै पालिकाको मतपरिणाम सावर्जनिक भैसक्ने छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वडामध्ये १६ वडाको मतपरिणाम सावर्जनिक भैसकेको छ । तीन वडामा मतगणना भइराखेको छ ।

जिल्लाका दुई जुम्ल्याह उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका गरेर १ सय वडाहरु छन् । यो समाचार तयार पार्दासम्म ९८ वडाको मतपरिणाम आएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार पालिकातर्फ नेपाली कांग्रेसको अग्रता छ भने वडा तहमा नेकपा एमालेको अग्रता छ । नेपाली कांग्रेसले ५ पालिका प्रमुख र उपप्रमुख नै जितेको छ भने केही पालिकामा उपाध्यक्ष जितेको छ ।

धेरै प्रमुख र उपप्रमुख जितेको कांग्रेसको जिल्ला समन्वय समितिमा पनि एकल बहुमत पुग्ने भएको छ । माओवादीले तीन पालिका प्रमुख जितेको छ । नेकपा एमालेले एक उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख र एउटा पालिकामा उपाध्यक्ष जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ६ पालिका जितेको थियो ।

नेपाली कांग्रेसले तीन पालिकामा जितेको थियो भने माओवादीले एक पालिकामा जितेको थियो । यो चुनावमा कांग्रेसले पालिकाको संख्या बढाएर जिल्ला समन्वय समितिमा एकल बहुमत पुराएको छ । माओवादी केन्द्रले पनि विगतको चुनाव भन्दा दुई पालिका थप गर्न सफल भएको छ । नेकपा एमालले विगतको चुनाव भन्दा कमजोर नतिजा ल्याएको छ ।

जिल्लाका दश पालिकाहरुमध्ये ९ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा पाँच पालिकाहरुमा प्रमुख–उपप्रमुख कांग्रेसले जितेको छ भने अन्य दुई पालिकाहरुमा उपप्रमुख जितेको छ । कांग्रेसले एकल रूपमै लमही नगरपालिका प्रमुख र उपप्रमुखसँगै बबई गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, शान्तिनगर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, दंगीशरण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, राजपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र बंगलाचुली गाउँपालिका र गढवा गाउँपालिकामा १÷१ जना उपाध्यक्ष जितेर जिल्लामा बहुमत आफ्नो पक्षमा ल्याउन सफल भएको छ ।

माओवादीले ३ पालिका अध्यक्ष जितेको छ । माओवादी केन्द्रले बंगलाचुली गाउँपालिका अध्यक्ष, गढवा गाउँपालिका अध्यक्ष र राप्ती गाउँपालिका अध्यक्ष जितेको छ । नेकपा एमालले घोराही उपमहानगरपालिका प्रमुख, उपप्रमुख र राप्ती गाउँपालिकामा उपाध्यक्ष जितेको छ । पालिका जित्नेमा कांग्रेस पहिलो भए पनि वडामा जित हासिल गर्नेमा भने कांग्रेस दोस्रो स्थानमा छ ।

९८ वडाहरुको मत सार्वजनिक हुँदा ३९ वडाहरु एमालेले जितेको छ भने कांग्रेसले हालसम्म ३६ वडाहरुमा जितेको छ । त्यसैगरी माओवादीले १९, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १÷१ र २ वडा स्वतन्त्रले जितेका छन् । २०७४ सालको चुनावमा कांग्रेसले ४२ वडा जितेको थियो । एमालेले ३० वडा जितेको थियो । अव तुलसीपुर वडा नं. १७ र १९ को गणना भैरहेको छ ।

तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना जारी छ । तुलसीपुरका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार अगाडि छन् । प्राप्त नतिजा अनुसार तुलसीपुरमा एमालेका उम्मेदवार बिजयी हुने सम्भावना छ । मतपरिणाम जारी रहँदा सत्ता गठबन्धनबाट प्रमुखमा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरी पछि छन् ।

७१ हजार १ सय ६६ मत गणना गर्दा तुलसीपुरमा एमालेका उम्मेदवार टीकाराम खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गिरीले २६ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा ७४ हजार ४ सय १२ मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*