Home / Feature Breaking news / घर–आँगनमै पानी ट्यांकी र विद्युत पोल, तर छैन पानी र बत्ती

घर–आँगनमै पानी ट्यांकी र विद्युत पोल, तर छैन पानी र बत्ती

लिलाधर वली
दाङ, ७ फागुन । घोराही उपमहानगरपालिका–१ उपल्लो माले निवासी धनी तिवारीको घर आँगन छेउमै खानेपानीको ट्यांकी छ । त्यहीको अर्काे कुनामा विद्युतको पोल गाडिएको छ । खानेपानी ट्याङकी र पोल घर आँगनको छेउमा भए पनि न उनले पानी पाएकी छिन् न त बत्ती नै बाल्न पाएकी छिन् ।

करिब दुई बर्षअघि बनाइएको खानेपानी ट्यांकी डेढ बर्षदेखि रित्तै छ । गाउँदेखि करिब आधा घण्टा टाढा डाईचिराबाट उपल्लो मालेमा पानी पु¥याउनका लागि राखिएको मोटर बिग्रिएपछि डेढ बर्षदेखि ट्यांकीमा पानी छैन भने विद्युत पोल गोडेर तार तानेको एक बर्ष भैसक्दा समेत बत्ती बाल्न नपाएको धनी तिवासीले बताइन् । ‘भएको छैन भन्ने हो भने घरछेउमै खानेपानीको ट्यांकी छ ।

विद्युतको पोल गाडेर तार तानिएको छ तर बत्ती पानी केही छैन’, उनले भनिन्– ‘विद्युत र खानेपानीको धारा र ट्यांकी देखाउनलाई बनाएजस्तै भएको छ’, उनले घरमा विद्युत जडानका लागि वाइरिङ गरे पनि मिटर बक्स पाउन नसक्दा बत्ती दिन नसकेको विद्युत कार्यालयले बताउने गरेको उनले बताइन् ।

धनीले जस्तै मालेकै मालती पुनमगरले पनि गाउँमा विद्युत पुगेपछि घर वाइरिङ गरेको एक बर्ष भयो । गाउँमा विद्युत पोल गाडेर तार तानेपछि विजुली बत्ती बाल्ने आशमा घरमा वाइरिङ गरेर मिटर बक्सका लागि २५ सय रुपैयाँ दिइसके पनि मिटर बक्स पाउन नसकेको उनी बताउँछिन् । बत्ती नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यतासँगै मोबाइल चार्ज गर्नका लागि एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको बताइन् ।

‘गाउँमा विद्युत आएपछि खुशी लागेको थियो । तर पोल गाड्न एक बर्ष लाग्यो र गतबर्ष तार तानेपछि बत्ती आयो तर बाल्न पाएका छैनौ’, उनले भनिन्– ‘जसले गर्दा मोबाइल चार्ज गर्नसमेत एक घण्टा हिँडेर सिमलतारा जानुपर्ने बाध्यता रहेको छ ।’ उनले विद्युत जस्तै खानेपानीको पनि समस्या रहेको बताइन् ।

गाउँमा खानेपानी ल्याउनका लागि बिग्रिएको मोटर बनाउन वडा कार्यालयले बजेट नदिँदा एक बर्षदेखि एक गाग्री पानी ल्याउनका लागि दैनिक एक घण्टा हिँड्नुपर्ने अवस्था रहेको बताइन् । ‘पानी फाल्ने मोटर बिग्रिएपछि ट्यांकी रित्तै भएको छ ।

त्यो बनादिनका लागि पटक–पटक वडा कार्यालयलाई आग्रह ग¥यौँ तर हाम्रो भनाई सुनुवाई नै हुँदैन’, उनले भनिन्– ‘मोटर नबन्दा करिब आधा घण्टाको दूरीमा रहेको डाईचिरा भन्ने स्थानमा रहेको मुहानको पानी खान बाध्य छौँ ।’ उनले त्यो पनि गर्मी दिनमा सुकेपछि करिब दुई घण्टा बढी समय लाग्ने ठाउँमा जानुपर्ने बाध्यता रहे पनि सम्बन्धित निकायले स्थानीयको समस्यालाई बेवास्ता गर्दै आएको बताइन् ।

लामो समयदेखि धारामा पानी नआउँदा स्थानीयले खानेपानीको समस्या भोग्नका साथै कतिपय ठाउँका धाराहरुमा टुटीहरु हराएको सल्लीकोट माले टोल विकास संस्थाका अध्यक्ष बिजय तिवारीले बताए । उनले बिग्रिएको खानेपानीको धारा सञ्चालनका लागि वडा कार्यालयदेखि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई गए पनि समस्या समाधान नभएको बताए ।

‘खानेपानीको धारा एकपटक बिग्रिएपछि बनायौँ तर त्यो पुनः विग्रियो । त्यसपछि बनाउनका लागि वडादेखि खानेपानी कार्यालयसम्म गयौँ’, टोल विकास संस्थाका अध्यक्ष तिवारीले भने– ‘तर बिग्रिएको धाराको मोटर बनाउन कसैले ध्यान दिएनन् । जसले गर्दा गाउँमा धारा बने पनि स्थानीयलाई जंगलकै पानी खानुपर्ने बाध्यता छ ।’

उनले गाउँका करिब ६० घरपरिवारसँगै विद्यालयमा समेत खानेपानीको समस्या भएको बताए । सम्बन्धित निकायको बेवास्ताका कारण स्थानीय खानेपानीदेखि घरमा खाना बनाउने, कपडा धुने, नुहाउनेलगायतका समस्याहरु झेल्नुपर्ने बाध्यता रहेको बताए । प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एक घर एक धारा पु¥याउने लक्ष्य रहे पनि दाङको घोराही उपमहानगरपालिका वडा नंं. १ मा भने बिग्रिएको मोटर बनाउन ध्यान नदिँदा खानेपानीका धाराहरुमा समेत क्षति पुगिरहेको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*