Home / Feature Breaking news / कलासंगममा अब्बल दाङ

कलासंगममा अब्बल दाङ

देवेन्द्र बस्नेत

पाँच दशकअघि जिल्लामा ४÷५ जना कलाकर्मीहरुको दौँतरी समूह थियो । दाङको कलाकारितालाई उँचो पार्ने ‘मिसन’ अनि जिल्लाको कला साहित्य संरक्षणका लागि खटिएका दौँतरीहरु थिए– मथुराप्रसाद श्रेष्ठ, चेतमान श्रेष्ठ, गोविन्दराज श्रेष्ठ, गिरिराज शर्मा आदि । त्यो बेला कलाकार भनेकै उनीहरु मात्रै थिए । २०२२ सालको कलाकारिता सम्झँदै मथुरा भन्छन्– ‘कलाकार भनेर हाम्रो यही समूहका दौँतरीहरु मात्रै चिनिन्थ्यौँ ।’ त्यो बेला कलाकारितालाई अगाडि बढाउन निकै चुनौती थियो । गीत रेकर्ड गर्ने सुविधा थिएन ।

नत अहिलेको जस्तो सांस्कृतिक कार्यक्रमहरु नै हुन्थे । तर यो दौँतरी समूहले कलाकारितालाई ओझेलमा पर्न दिएन । उनीहरु आफै कार्यक्रम आयोजना गर्थे । आफूहरु दाङको कलाकार भनेर पहिचान दिन यो समूह कहिल्यै चुकेन ।

‘हामीहरु आफैले नाटक तथा सांस्कृतिक कार्यक्रम गथ्र्यौँ’, मथुरा भन्छन्– ‘त्यो बेला अरु कलाकार एकजना पनि निस्कन्नथे ।’ उनीहरुमा ‘रातारात’ हिट हुने ‘ख्वाब’ पनि थिएन । चिन्तन थियो, त केबल गीतमार्फत ‘संस्कृति संरक्षण ।’ ‘हामीहरुले त्यो बेला सुपरहिट कलाकार बन्ने सपना कहिल्यै देखेनौ’– मथुरा सम्झनछन्– ‘हाम्रो एउटामात्रै सोँच हुन्थ्यो मौलिकता जोगियोस् ।’ पेशागत कामका लागि गाउँ–गाउँ पुग्दा उनीहरुले गाउँमै सांगीतिक खुराक दिइहाल्थे । मथुराले थपे– ‘म औँलो उन्मूलन कार्यक्रमको अभियन्ता थिएँ, म यो अभियानका क्रममा जहाँ पुग्थेँ, त्यही नाचगान चलाइहाल्थँे ।’

नेपाली संगीत क्षेत्रमा दाङको प्रतिनिधित्व गरेको यो समूहको प्रभाव त्यसपछिको पुस्तामा पर्दै जान थाल्यो । यसपछि मधुबावु थापा र चन्द्रकला शाहको सांगीतिक जोडी नेपाली संगीत क्षेत्रमा उदायो । स्व. मधुबाबु उनै मथुरासहितको चार जनाको समूहको गायकी देखेर प्रभावित थिए ।

‘धर्नामा म औँलो उन्मूलन कार्यक्रममा गएको बेला नाचगान चलाउँथ्यौँ, मधुबावुजी हामीले गाएको गीत सुन्न त्यहाँ आउनु हुन्थ्यो’, मथुरा भन्छन्– ‘उहाँले त्यो बेला पनि साह्रै मीठो गीत गाउनु हुन्थ्यो, उहाँको आवाज एकदमै मिठास भरिएको ।’ तर मधुबावुको सांगीतिक क्षेत्रको औपचारिक यात्रा प्रारम्भ भने चन्द्रकला शाहमार्फत भयो । चन्द्रकला शाहलाई बाल्यकाल छँदै गीत गाउन खुबै रहर लाग्थ्यो । तर गाउँ, समाजका लागि यो पाच्य हुँदैनथ्यो । ‘मनमा गीत गाउने रहर उम्लिएर आउँथ्यो’, चन्द्रकलाले विगत सम्झिइन्– ‘तर समाजले पचाउँदैनथ्यो, अनि मनभित्र रहर गुम्सिन्थ्यो ।’
वि.सं. २०३२ मा उनले गीत लेख्नेसम्मको साहस गरिन् । उनको त्यो गीत रेकर्ड भयो । चन्द्रकलाको शब्दमा रहेको पहिलो गीत तीर्थकुमारीले गाएकी थिइन् । यसै क्रममा उनी काठमाडौँ पुगिन् । त्यो बेला रेडियो नेपालले प्रत्येक तीन तीन महिनामा स्वर परीक्षा आह्वान गथ्र्यो । रेडियो नेपालमा गीत रेकर्डका लागि स्वर परीक्षा पास अनिवार्य नै हुन्थ्यो ।

‘गीत रेकर्ड गर्नका लागि कहाँ अहिलेको जस्तो सजिलो थियो र ?’ चन्द्रकलाले भनिन्– ‘रेडियो नेपालमा मात्रै गीत रेकर्ड हुन्थ्यो, त्यसका लागि स्वर परीक्षा पास हुनैपथ्र्यो ।’ दाङ हापुरकी चन्द्रकलाले स्वर परीक्षा दिइन्, पास पनि भइन् । गायिकाको औपचारिक प्रमाणपत्र हात परेपछि उनी गायनमा लागिन् । उनले भनिन्– ‘२०३६ सालमा पहिलो गीत रेकर्ड गराएँ ।’ त्यसो त, उनको पहिलो गीत आफ्नै आमा जयकला मल्लको सिर्जना थियो ।

‘ओल्लो डाँडा इन्द्रेणी,
पल्लो डाँडा माझैमा लाग्यो झुल्के घाम’
बोलको गीत चन्द्रकला सानी छँदा उनलाई आमाले सुनाउने गीत थियो । ‘म सानी छँदा मुवाले पिठ्युँमा बोेकेर यही गीत गुनगुनाइरहनु हुन्थ्यो’, उनले भनिन्– ‘मुवाकै त्यही गीतलाई रेकर्ड गराएँ ।’ चन्द्रकला त्यो पुस्ताकी गायिका हुन् ।

जसका रचनालाई तीर्थकुमारी, राधादेवी, गणेश रसिक, कुमार बस्नेत, तारा देबी, मिरा राना, राम थापालगायतका पुराना गायकहरुले स्वर दिएका छन् । चन्द्रकलाका कैयन गीतहरु कालजयी छन् । चन्द्रकला अहिले पनि संगीतमै सक्रिय छिन् । अहिले तीज गीत उनी आफै गाएकी छिन् । उनले भनिन्– ‘म बाँच्दासम्म संगीतमै लागिरहन्छु ।’ उनले गाएको ‘के खाने दर अनदी पुवा, के खाने आलु र तामा बरिलै’ बोलको गीत अबको केही दिनमै म्युजिक नेपालबाट सार्वजनिक हुँदैछ ।

२०३६ देखि संगीतमा एक्लै संघर्ष गरेकी चन्द्रकलाले २०३९ मा संगीत सहकर्मी भेटाइन्, दाङकै मधुबाबु थापालाई । केही समयअघिको थापाको निधनले चन्द्रकलाका लागि ठूलो सहारा गुमाइदिएको छ । दाङ सौडियारका थापा दृष्टिविहीन थिए । तर बाँच्दा संगीतको रोशनीले जग चकमन्न बनाउँदै आए । २०३९ सालदेखि संगीतको औपचारिक यात्रा प्रारम्भ भएको थियो, थापाको । उनले २०३९ सालमा ‘भैगो हजुर मायाँ जाल नबुन, गैगो हजुर मायाँ लाउने दिन’, बोलको लोकगीत रेडियो नेपालमा रेकर्ड गराएका थिए ।

चन्द्रकलाले यो गीतको स्मरण गर्दै भनिन्– ‘आफूले गीत गाएजस्तै सबैलाई माया मारेर गए ।’ २०३९ मा रेकर्ड गराएको यो गीतले चन्द्रकला शाहको मन छोयो । संयोग नै मान्नुपर्छ यी दुबै कलाकार २०४० मा आफ्ना गीत बजेवापतको रोयल्टी लिन एकै दिन रेडियो नेपाल पुगेका रहेछन् ।

‘मलाई मधुबाबु दृष्टिविहीन होलान् भन्ने पनि थाहा थिएन,’ चन्द्रकलाले भनिन्– ‘उनको गीत सुनेर भेट्ने इच्छा खुबै लागेको थियो, २०४० मा उनको र मेरो पहिलो भेट रेडियो नेपालमा भयो ।’ त्यही बेलादेखि दाङ सौडियारका थापा र दाङ हापुरकी शाह सांगीतिक सहयात्री बने । ‘उनले आँखा नदेख्ने, तर गायकी यति मिठो’, उनले भनिन्– ‘यो मान्छेलाई सहयोग गर्नुपर्छ भनेर म अभिभावकको भूमिकामा रहँदै आएँ, म उनको दिदी बनेर उनको सेवा गरिरहेँ ।’

यो बीचमा चन्द्रकला र मधुबावुले झण्डै सयको हाराहारीमा युगल लोकगीत गाए । ‘मोहनी लगायौ की मन्तर गरेर’ बोलको थारु लयमा आधारित उनीहरुको संयुक्त गीत निकै मन पराइएको थियो । यस बाहेक ‘डालीमा कोइली र मैना, मायाबाहेक संसारमा कोही छैन,’ ‘भन माया गौँथली हैनौ र’लगायतका गीतमा चन्द्रकला र थापाले संयुक्त गाएका छन् । ‘मधुबाबु मेरो भाइ मात्रै गुमेन, मेरो सांगीतिक सहयात्री गुमेको छ’, चन्द्रकलाले भनिन्– ‘संगीत क्षेत्रमा उसको जस्तो साथ अब मलाई सायदै मिल्ने छ ।’

हरेक विधाको संगीतमा अब्बल थिए मधुबाबु । गायन, लेखन तथा संगीतमा उत्तिकै खप्पिस थिए । २०३९ देखि संगीत यात्रामा प्रवेश गरेका उनले पाँच सयको हाराहारीका गीतमा स्वर अनि संगीत दिए । मुख्यतः लोकगीत गायनमा सक्रिय रहँदै आएका उनले आधुनिक गीतमा समेत संगीत भरेका थिए । उनी भजन गायनमा समेत उत्तिकै सौखिन थिए ।

उनीद्वारा संगीतबद्ध ६ वटा आधुनिक गीत बजारमा आएका छन् । थापा शास्त्रीय संगीतका विज्ञ समेत थिए । भारतको इलाहावादबाट शास्त्रीय संगीतमा संगीत प्रभाकर (बि म्यूज) गरेका थापालाई संगीत विज्ञकै रुपमा चिन्ने गरिन्छ । यो विधामा प्रयोग हुने तानपुराको ‘सुर’ मिलाउन सक्ने कमैमध्येका उनी एक थिए । ‘मधुबाबु संगीतविज्ञ हुन्’, शाह भन्छिन्– ‘शास्त्रीय संगीतमा प्रयोग हुने तानपुराको सुर मिलाउन सक्ने कम मध्येका एकजना सर्जग उनी थिए ।’

थापा कुनैबेला बुटवलदेखि पश्चिमका स्रष्टाहरुको एकमात्रै संगीत गुरु थिए । गायकी प्रवेश गर्ने हरेकले उनै थापालाई पछ्याउँथे । थापाले गीत(संगीतमा पुरानो मौलिकता बचाइराख्नुपर्छ भन्ने भावना कहिल्यै छोडेनन् । उनका शिष्यहरुले नयाँ आधुनिक समाजसँगै चल्नुपर्ने बताउँदा पनि उनले सहजै इन्कार गरिदिन्थे । संगीतयात्राको दौरानसँगै २०५० देखि उनी रेडियो नेपालका जागिरे समेत थिए ।

काठमाडौँको अनामनगरमा एउटा कोठा भाडामा लिएर बस्दै आएका थापा सामान्य जीवनशैलीमै चल्दै आएका थिए । संगीतमा अथक मेहनत र समय खर्चेका थापाले सम्मान भने पाउन सकेनन् । चन्द्रकला भन्छिन्– ‘लामो समयसम्म संगीतमा खटिइरहे, तर पनि सम्मान नपाएर मरे ।’

चन्द्रकला र मधुबावुको सांगीतिक जोडी दाङको कलाकारिता क्षेत्रको बिकासका लागि निकै नमूनायोग्य बन्यो । उनीहरु कैयन कलाकारहरुका ‘गुरु’ सावित भए । उनीहरुमार्फत दाङको कलाकारितामा अर्को पुस्ताको उदय भयो । दाङबाट कोमल वली, नारायणप्रसाद पाण्डे, गोविन्द आचार्यको उदय भयो भने सल्यानबाट खड्ग बुढा र लीलावती बुढा उदाए । चन्द्रकला भन्छिन्– ‘दाङका धेरै भाइ–बहिनीहरुलाई स्वर परीक्षा पास गराउन सहयोग गरिम्, अनि उनीहरुलाई संगीतसम्बन्धी ज्ञान पनि बाँडिम् ।’ यो पुस्ता अझ सशक्त बनेर आयो ।

कोमल वलीले राष्ट्रियस्तरमै अहिलेसम्म ख्याति कमाइरहेकी छन् भने गोविन्द आचार्यले नेपाली लोक संगीतबाट बिद्याबारिधी गरेर दाङको नयाँ इतिहास कायम गरिदिए । कोमल वली, गोविन्द आचार्यपछिको युवा पुस्ता नेपाली संगीतमा उत्तिकै सक्षम दरियो । शिशिर योगी, सन्तोष श्रेष्ठ, सागर अधिकारी (शास्त्रीय संगीतमा एम म्युजिक), चन्द्र शर्मा, यादव योगी, प्रकाश रेग्मी, गोविन्द मधुर आचार्य, प्रकाश रेग्मी, प्रेम प्रकाश वली, लोकराज अधिकारी, पीताम्बर रिजाल, सन्दीप न्यौपाने, देबकला बस्नेतलगायतको युवा पुस्ताको आगमन निकै दमदार बन्यो । शिशिर शास्त्रीय गायनमा आफूलाई निकै ठूलो प्रतिष्पर्धीका रुपमा नेपाली संगीतको क्षेत्रमा दाङबाट उभ्याउन सकेका गायक हुन् ।

सन्तोष नेपाली सुगम संगीतका चर्चित संगीतकारका रुपमा दरिन सफल भए । चन्द्र शर्मा लोकदोहोरी गायनमा चम्किला गायक बन्न सफल भए भने उनै चन्द्र दोहोरी गायक–गायिकाहरुको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय अध्यक्ष बनेर दाङको कलाकारितामा अर्को इतिहास कायम गरिदिए ।

यादव योगीले संगीत र गायन तथा गीत लेखनमा देखाएको दख्खल पनि दाङको कलाकारिता क्षेत्रको अर्को विकासमा योगदान बनेको छ । गोविन्द मधुर आचार्यको संगीत र गायन बिधा पनि दाङको कलाकारिताका लागि उदाहरणीय बनेको छ भने प्रकाश रेग्मीले आधुनिक गीत गायनमा मर्म पोख्न सक्ने एक अब्बल गायकको परिचय बनाइसकेका छन् । प्रेम प्रकाश वलीले पनि आधुनिक गीतको क्षेत्रलाई गतिलोसँग पकड्न भ्याए । लोकराज अधिकारी गीत लेखनमा राष्ट्रियस्तरमै नामी लेखक बनेर कहलिए ।

यो पुस्ताले आधुनिक, फिल्मी तथा पप गीतको क्षेत्रमा समेत कुशल प्रतिनिधित्व गराउन सक्यो । सन्तोष श्रेष्ठ, शिशिर योगी, प्रकाश रेग्मी, गोविन्द मधुर आचार्य, यादव योगी आधुनिक गीतको क्षेत्रमा मज्जासँग भिजेका संगीतकर्मी हुन् । दाङकै मुनाल घिमिरे चलचित्र निर्माता तथा निर्देशकका रुपमा दरिएका छन् । यादव, गोविन्द मधुर नेपाली चलचित्रमा पनि पत्याइएका संगीतकार बनेका छन् भने लोकराज अधिकारीले पनि संगीतको माध्यमबाट चलचित्रमा लगानी गर्न सफल गीतकार हुन् ।

यस्तै पप गायनमा समिर आचार्यले दाङबाट आफुलाई प्रतिनिधित्व गराए । हाल अष्ट्रेलियामा रहेका समिरले आफ्नो पुरानै ‘प्याटर्न’ पप संगीतको झल्को आउने गरी गीतहरु बजारमा ल्याइरहेका छन् । त्यसो त, दाङ गायन मात्रै होइन, ब्यङ्ग्य क्षेत्रमा समेत उत्तिकै सक्षम बनेको छ ।

कमल गाउँले राष्ट्रियस्तरमा परिचित हाँस्यकलाकार दाङकै हुन् भने पीताम्बर रिजाल गायकसँगै अर्का कुशल कमेडियन हुन् । दाङ कलाकारको खानी जिल्लाका रुपमा परिचित छ । पुरानो पुस्ताले बनाइदिएको यो पहिचान पछिल्लो पुस्ताले झनै फराकिलो पार्दै लगेको छ । गायनमा मात्रै नभई यहाँका कलाकर्मीहरुले फिल्मी क्षेत्रमा समेत राम्रो पकड जमाएका छन् । कमल गाउँले, विशाल पोख्रेल, पल शाह, कोमल वलीलगायतका कलाकारहरु चलचित्रमा प्रतिनिधित्व गरेका छन् ।

मोडलिङमा पनि यहाँको प्रतिनिधित्व अब्बल सावित भएको छ । यसैगरी नृत्य बिधामा उब्जिएका नयाँ कलाकर्मीहरु उत्तिकै सक्षमता बोकेका छन् । त्यसो त, केही समयदेखि शुरु भएको म्युजिक भिडियो निर्माणको अर्को नयाँ पाटोले नयाँ नयाँ मोडल तथा डान्सरहरुलाई कलाकारितामा स्थापित गराउन मद्दत पु¥याइरहेका छन् । सुदन थापा, नारायण नेपाल, अमृतमान वलीलगायतका निर्देशकहरुले मोडलिङ करिअरको बिकासमा ठूलो टेवा पु¥याइरहेका छन् ।

जिल्लामा बढ्दो कलाकारिता ‘क्रेज’ले कलाकारको धनीका रुपमा बनाएको जिल्लाको पहिचानलाई अझ बढावा दिइरहेको छ । चार पाँच जनाको समूहबाट शुरु भएको दाङले अहिले दर्जनौ कलाकार जन्माइसकेको छ । दाङले अब्बल कलाकारहरुजन्माएको भएता पनि प्रविधिको विकासमा काम गर्न अझै बाँकी छ । यहाँको कलाकारिताको विकासको मुख्य चुनौती भनेको गीत रेकर्डिङको समस्या हो । दाङमै गीत रेकर्ड गर्न सक्ने व्यवस्था नहुँदा यहाँका कलाकारहरुलाई एउटै गीत रेकर्डिङका लागि ठूलो आर्थिक भार उठाउनुपर्ने हुन्छ ।

काठमाडौँमात्रै गीत रेकर्डिङको विकल्प हुँदा यहाँका नवप्रवेशीहरुलाई रेकर्डिङ स्ट्रडियोसम्म पुग्ने बाटो सहज बन्दैन । तसर्थ कलाकार उत्पादनसँगै संगीतको प्राविधिक पाटोलाई पनि दाङले ध्यान दिन जरुरी छ । अन्यथा यहाँबाट कलाकारहरु जन्मिइरहनेछन् तर संगीतको सामान्य ‘थ्योरी’ को अभावले उनीहरुमा अब्बल कलाकारको प्राण भरिने छैन । जब संगीतको प्राण भरिन्न, तबसम्म कलाकारिता मूर्त बन्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*