Home / Feature Breaking news / नाफाका आधारमा अब्बल, मध्यम र कमजोर वाणिज्य बैंकहरू कुन–कुन हुन् ?

नाफाका आधारमा अब्बल, मध्यम र कमजोर वाणिज्य बैंकहरू कुन–कुन हुन् ?

नाफा आर्जनका हिसाबले यस वर्षको पहिलो त्रैमास (साउन–आसोज) मा पाँच बैंक अर्बपति क्लबमा उक्लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा चार बैंकले अर्ब रुपैयाँ माथि नाफा आर्जन गरेका थिए ।

बढी नाफा आर्जन गर्ने बैंकहरूमा एनआइसी एसिया, नबिल बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक पहिलो त्रैमासमै अर्बपति क्लबमा प्रवेश गर्न सफल भएका छन् । नाफाका हिसाबले नबिल बैंक र ग्लोबल आइएमइ बैंक उस्तै देखिन्छन् । गत वर्षको सोही अवधिको ७३ करोड रुपैयाँ नाफाको तुलनामा उल्लेख्य नाफा वृद्धि गरेर एनएमबी बैंक अर्बपति क्लबमा इन्ट्री गर्न सफल भएको छ । गत वर्ष पहिलो त्रैमासमा अर्बपति क्लबमा प्रवेश गरेको प्राइम कमर्सियल बैंक भने यसपटक पहिलो त्रैमासमै अर्बपति क्लबमा इन्ट्री गर्न सकेन ।

नबिल बैंकले पहिलो त्रैमासमा १ अर्ब ११ करोड २२ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ छ । अर्थात् ११ हजार रुपैयाँले मात्र नबिल बैंक बढी नाफा आर्जन गर्ने बैंकको सूचीमा दोस्रो स्थानमा रहन सफल भएको छ ।

यद्यपि, नबिल बैंकको तुलनामा ग्लोबल आइएमई बैंकको आधार दर केही उच्च छ । एनआइसी एसिया बैंकले भने पुँजी पर्याप्तता (क्यापिटल एडिक्वेसी) नियामकीय आवश्यकताभन्दा धेरै बढाएको छैन । पुँजीको आधार ठूलो हुँदा त्यसले बैंकको नाफामा असर पार्ने हुन्छ । उदाहरणका लागि, एनआइसी एसिया बैंकको पुँजी पर्याप्तता अनुपात ११.४४ प्रतिशत छ भने ग्लोबल आइएमई बैंकको १३.२२ प्रतिशत छ । ग्लोबल बैंकको तुलनामा नबिल बैंकको पुँजी पर्याप्तता अनुपात झण्डै एक प्रतिशत बिन्दूले कम छ । पुँजीको आधार आवश्यकताभन्दा ठूलो हुँदा नाफाको आकार धेरै देखिएपनि रिटर्न अन इक्विटी (स्वपुँजी लगानीको प्रतिफल) भने कम हुन जान्छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकलाई नाफाका आधारमा तीन वर्गमा बाँड्दा अर्बपति क्लबमा रहेका पाँच बैंक बाहेक बढी नाफा आर्जन गर्ने अब्बल दर्जामा क्रमशः प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक रहेका छन् । मेगा बैंकका लागि नाफा आर्जनका दृष्टिले टप टेनमा स्थान सुरक्षित गर्नु ठूलो उपलब्धि देखिन्छ ।

त्यस्तै, नाफा हिसाबले मध्यम स्थानमा रहेका अन्य नौ बैंकहरूमा सरकारको स्वामित्व रहेको नेपाल बैंक, सिटीजन्स बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुछ्रे बैंक, लक्ष्मी बैंक, कुमारी बैंक र एनसीसी बैंक रहेका छन् ।

त्यस्तै नाफाका दृष्टिले अन्तिम नौ स्थानमा सरकारी स्वामित्वको कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन बैंक, सनराइज बैंक, नेपाल बंगलादेश बैंक, नेपाल एसबीआइ बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक र बैंक अफ काठमान्डू रहेका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नाफा आर्जनका दृष्टिले अब्बल रहेर अर्बपति क्लबमा छ भने नेपाल बैंक मध्यम र कृषि विकास बैंक अन्तिम नौ स्थानमा देखिएको छ ।
पहिलो त्रैमासमा बैंकहरूले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.०६ प्रतिशतले नाफा बढाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले कुल १८ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन्, अघिल्लो वर्षको पहिलो त्रैमास (साउन–असोज) मा यस्तो नाफा १४ अर्ब ६० करोड रुपैयाँ थियो ।

 बैंक  नाफा (२०७८–७९ को पहिलो त्रैमास) रुपैयाँ  नाफा (२०७७–७८ को पहिलो त्रैमास) रुपैयाँ  कर्जा – निक्षेप अनुपात %  आधार दर %
 एनआइसी एसिया बैंक  १ अर्ब १८ करोड १ अर्ब २ करोड  ८५.३२  ७.४८
 नबिल बैंक  १ अर्ब ११ करोड २२  लाख ३५ हजार  १ अर्ब ३ करोड  ८८.६४  ६.११
 ग्लोबल आइएमइ बैंक  १ अर्ब ११ करोड २२ लाख २४ हजार  १ अर्ब ५ करोड  ८९.१४  ७.४१
 राष्ट्रिय वाणिज्य बैंक   १ अर्ब ५ करोड  ८२ करोड ९२ लाख  ८२.८८  ५.६३
 एनएमबी बैंक  १ अर्ब ४ करोड  ७३ करोड २९ लाख  ९१.२७  ७.९६
 प्राइम बैंक  ९७ करोड ७९ लाख  १ अर्ब १ करोड  ९०.२५  ८.२७
 सिद्धार्थ बैंक  ९४ करोड ८७ लाख  ५० करोड  ८७.७५  ७.५७
नेपाल इन्भेष्टमेन्ट बैंक  ९२ करोड ३७ लाख  ६२ करोड ३८ लाख  ९५.३७  ६.७७
 मेगा बैंक  ९१ करोड ४६ लाख ६० करोड ७९ लाख  ९१.२१  ९.८१
 नेपाल बैंक  ७५ करोड ४८ लाख  ५५ करोड ४ लाख  ८६.२३  ५.९३
 सिटीजन्स बैंक  ६८ करोड ७४ लाख  ५१ करोड ५५ लाख  ८७.३९  ८.११
 प्रभु बैंक  ६३ करोड ६३ लाख  ८५ करोड  ८२.६४  ७.६३
 एभरेष्ट बैंक  ५७ करोड ८८ लाख  ३३ करोड ४७ लाख  ८६.३९  ७
 सानिमा बैंक  ५६ करोड ७८ लाख  ३७ करोड ३२ लाख  ८५.२५  ७.४५
 माछापुछ्रे बैंक  ५६ करोड १५ लाख  ३६ करोड ९ लाख  ८८.१०  ७.६३
 लक्ष्मी बैंक  ५५ करोड २८ लाख  ३१ करोड २३ लाख  ८८.९४  ७.५७
 कुमारी बैंक  ५४ करोड ११ लाख  ६० करोड २५ लाख  ९२.१३  ७.८८
 एनसीसी बैंक  ५१ करोड ८० लाख  ३३ करोड ४५ लाख  ८९.९६  ८.१२
 कृषि विकास बैंक  ४८ करोड ५३ करोड  ४६ करोड १४ लाख  ८८.९९  ७.१२
 स्ट्याण्डर्ड चार्टर्ड बैंक  ४८ करोड १८ लाख  ४० करोड १३ लाख  ८८.०६  ५.१८
 हिमालयन बैंक  ४५ करोड २८ लाख  ३६ करोड ५९ लाख  ९३.५४  ७.७३
 सनराइज बैंक  ४३ करोड ७ लाख  ३८ करोड २९ लाख  ८४.६५  ८.४०
 एनबी बैंक  ४१ करोड १६ लाख  ५७ करोड ११ लाख  ८७  ७.५१
 नेपाल एसबीआइ बैंक  ३७ करोड २९ लाख  २० करोड ५ लाख  ९५.०८  ८.११
 सिभिल बैंक  २९ करोड १८ लाख  ९ करोड ६६ लाख  ८७.९४  ८.२६
 सेञ्चुरी बैंक  २७ करोड २४ लाख  २२ करोड २ लाख  ८८.७  ८.०९
 ब्यांक अफ काठमान्डू  २५ करोड ३४ लाख  २४ करोड १४ लाख  ९०.४८  ८.५६
 कुल / औसत  १८ अर्ब ११ करोड  १४ अर्ब ६० करोड  ८८.६४  ७.५३

बैंकहरूले प्रकाशित गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*