Home / Feature Breaking news / ‘अस्थिर र महत्वाकांक्षी’ प्रचण्डको अबको बाटो के ?

‘अस्थिर र महत्वाकांक्षी’ प्रचण्डको अबको बाटो के ?

रोमन आचार्य कुञ्जरमणि भट्टराई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयदेखि नेपाली राजनीतिको केन्द्रमा छन् ।

नेकपा (माओवादी) बन्नुभन्दा छ वर्षअघिदेखि तत्कालीन पातलो मसालका महामन्त्री भएर सुरु भएको उनको नेतृत्व ३२ वर्षयता निरन्तर छ ।

उनको राजनीतिक जीवन नै एउटा आरोह–अवरोहको शृङ्खला बनेको छ । वि.सं. २०५२ सालमा थालेको सशस्त्र युद्धदेखि तत्कालीन सात दलसँग गरेको वार्तामा सफल दरिएका प्रचण्ड ०६४ सालको संविधानसभा चुनावमा पार्टीलाई प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जिताउन सफल भएका थिए । ०७० सालमा आइपुग्दा पार्टीलाई आएको तेस्रो र कमजोर मत स्वीकार गरेका प्रचण्डले त्यसयता गठबन्धन गरेर पार्टीलाई अस्तित्वमा राखिरहेका छन् ।

पार्टी सानै हुँदा अहिले पनि राजनीतिको केन्द्रमा रहेका प्रचण्ड अझै पार्टीलाई एक नम्बर बनाउने प्रयत्न गरिरहेका छन् । अधिवेशनले होइन, अर्को पार्टीसँगको एकताले पार्टीलाई बलियो बनाउन भन्ने मान्यतमा रहेका प्रचण्ड अहिले पनि त्यही अभ्यासलाई निरन्तरता दिने पक्षमा देखिन्छन् ।

वैचारिक र राजनीतिक कदममा अस्थिर देखिने प्रचण्ड राजनीतिको केन्द्रमा कसरी रहिरहेका छन् भन्ने प्रश्न भने प्रमुख नेताहरूकै मनमा गुञ्जिएको देखिन्छ ।

राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं प्रचण्ड ०५१ सालदेखि नै राजनीतिको केन्द्रमा रहेको बताउँछन् । विश्लेषक चापागाईंले बाह्रखरीसँग भने, “प्रचण्ड सधैँ एक नम्बरमा बस्न खोज्ने मान्छे हुन् । ०५१ पश्चात् नेपालको राजनीति उनकै वरिपरि नाचिरहेको थियो । हरेक खालका राजनीतिक निर्णय, गरिने कार्यक्रमहरू प्रचण्डलाई केन्द्रविन्दुमा राखेर गर्ने गरिन्थ्यो ।”

प्रचण्डको राजनीतिक जीवनका उतारचढाव 

१० वर्ष लामो सशस्त्र द्वन्द्वबाट आएको माओवादी ०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्यो । ०६५ सालमा उनी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्न सफल भए । तर, उनी आफ्नै कदम र निर्णय क्षमताका कारण लामो समय पदमा टिक्न सकेनन् । तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कट्वाल प्रकरणका कारण उनी नौ महिनामा नै सत्ताबाट बाहिरिन बाध्य भए ।

संविधानसभाको दोस्रो निर्वाचनमा भने माओवादीले ०६४ को मत जोगाउन सकेन । माओवादी पहिलोबाट तेस्रो दलमा खुम्चिन पुग्यो । त्यसले राष्ट्रिय राजनीतिमा माओवादीले जनताको मत कायम राख्न नसकेको देखिन्छ भने माओवादीभित्रै पनि गल्ती सच्याउन नसकेको टिप्पणी छ ।

माओवादी केन्द्रका नेता राम (सुरेन्द्र) कार्की आफूहरू चुकेको विषयमा आत्मसमीक्षा गर्नुपर्ने र बाटो बिराएको ठाउँबाट फर्किएर पुरानै बाटो समाउनुपर्ने बताउँछन् । ‘त्यसको मतलब फेरि यु्द्धमा फर्किनुपर्छ भन्ने हो ?’ नेता कार्कीका अनुसार त्यसो नभएर जसको प्रतिनिधित्व गर्ने हो, उसका मुद्दा छोडेको ठाउँमा फर्कनु हो ।

“हामीले आधारभूत रूपमा प्रतिनिधित्व गर्ने वर्ग भनेको मजदुर र किसान नै हो । हामी २०६४ मा अलिकति चुक्यौँ । शक्तिशाली भएका बेलामा राजनीतिक अभियानसँगै शिक्षा र स्वास्थ्यलाई जोडेर जानुपर्थ्यो । हामीले त्यति बेला चाहेको भए जुम्ला, मुगु, कालीकोटलाई सम्पूर्ण रूपमा साक्षर बनाउन सक्थ्यौँ । हामीले अभियान सञ्चालन गरेको भए कर्णालीका विकट जिल्लाहरू पनि सम्पूर्ण रूपमा साक्षर बन्न सक्थे,” उनी भन्छन्, “रोगहरूबाट पहिले नै बच्ने अभियान सञ्चालन गर्न सक्थ्यौँ । हामीले ठूला राजनीतिक कुरा त गर्‍यौँ, तर जनतालाई साँच्चिकै बलशाली बनाउने कार्यक्रम ल्याउन सकेनौँ । यी सबै कुरामा आत्मसमीक्षा हुनुपर्छ ।”

माओवादीकै कतिपय नेताहरूका अनुसार प्रचण्डले पार्टी र वर्गीय प्रतिनिधित्वभन्दा आफ्नो राजनीतिक सुरक्षालाई प्राथमिकता बनाउने गरेका छन् । त्यसैले उनी आफू कमजोर भएको महसुस गर्नासाथ अरूसँग सहमति गर्न पुग्छन् । नेताको टिप्पणीजस्तै प्रचण्डले ०७३ सालमा संसद्को पहिलो दल नेपाली कांग्रेससँग सातबुँदे सहमति गरे र दोस्रोपटक प्रधानमन्त्री बने । त्यस बेला मधेसी मोर्चा, फोरम लोकतान्त्रिक, राप्रपालगायत दल उनको समर्थनमा थिए ।

विश्लेषक चापागाईं सधैँ पहिलो नम्बरमा रहेको व्यक्ति खस्किँदै गएको आभास भएपछि प्रचण्डमा अस्थिरता र वितृष्णा देखिन थालेको बताउँछन् । “०७२ सम्म प्रचण्ड राजनीतिको केन्द्रमा रहेकै हुन् । सरकार भत्काउनु, राज्य पुनःसंरचनामा, सरकार गिराउने र बनाउने खेलमा प्रचण्ड जता ढल्क्यो, त्यतै पल्लाभारी हुने अवस्था आयो । उनले चाहेको अवस्थामा सरकार बने, नचाहे भत्कियो,” चापागाईंले भने, “तीन दशक एउटा पार्टीको नेतृत्व गर्नु पनि चानचुने कुरै होइन । सधैँ एक नम्बरमा रहेको मान्छे खस्किँदै गइरहेको आभास भएपछि उनीभित्र वितृष्णा आयो ।”

चापागाईंका अनुसार ०७४ सालको निर्वाचनमा कांग्रेसका शीर्ष नेतासँग गठबन्धन हुने तर कांग्रेस कार्यकर्ताकै भोट माओवादीले नपाउने अवस्था र माओवादी एक्लैले चुनाव ‘फेस’ गर्न नसक्ने देखेपछि प्रचण्ड एमालेसँग गठबन्धन गर्न पुगेका हुन् ।

स्थानीय तहको निर्वाचनमा केही स्थानमा नेपाली कांग्रेससँग तालमेल गरेका प्रचण्डले चाहेअनुसार परिणाम हासिल गर्न सकेनन् । त्यसैले कांग्रेससँगको गठबन्धनमा सरकारमै रहेका उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भने एमालेसँग गठबन्धन गरे । यसो गर्नुमा उनले पार्टी र आफ्नो सुरक्षालाई केन्द्रविन्दुमा राखेका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा बसेर नेकपा (एमाले)सँग संगठनमा ६०–४० को भागबन्डा, दुई अध्यक्ष र आलोपालो प्रधानमन्त्रीको सहमति गरेर पार्टी एकता गर्न तयार भए । अन्ततः नेकपा (एमाले) र माओवादी गठबन्धनले झन्डै दुईतिहाइ मत ल्याउन सफल भयो । चुनावी गठबन्धन पार्टी एकतामा परिणत भयो ।

गठबन्धन गर्दा एकातासम्म नै पुग्ने नारा बनाएका एमाले–माओवादी अन्ततः पार्टी एकतासम्मै पुग्न बाध्य भए । एकता प्रचण्ड र केपी शर्मा ओली दुवैको चाहना थिएन । तर, गठबन्धन गर्दा दुवै पार्टीका नेताहरूमा तयार भएको मनोविज्ञान र भोटरको सद्भावले पार्टी एकता बाध्यताजस्तै बन्यो । त्यसैले दुवैतर्फ भोटरको अपेक्षा भन्दै पार्टीभित्रैकै दबाब थेग्न नसक्दा एमाले र माओवादी केन्द्रबीचको एकताबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । पार्टी एकतापछिका करिब तीन वर्ष प्रचण्ड दोस्रो हैसियतको सकसपूर्ण राजनीतिक यात्रामा रहे ।

आफूले जता औँला घुमायो, (भीमकाय पार्टी हुँदा समेत) पार्टीलाई त्यतै घुमाएका प्रचण्ड एमालेसँगको एकतापछिका करिब दुई वर्ष दोस्रो हैसियतमा मात्र होइन, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगीका रूपमा मात्र सीमित भए ।

पार्टी एकता गर्दा अर्का अध्यक्ष ओलीसँग आलोपालो प्रधानमन्त्रीमा सहमति गरेका थिए । साढे दुई वर्षमा कार्यकाल बाँड्ने सहमति थियो । तर, भद्र सहमति अभद्र तरिकाले उल्लंघन गरेपछि प्रचण्डले साढे दुई वर्षपछि असन्तुष्टि सार्वजनिक गर्न थाले ।

पार्टी एकतापछि ओलीले प्रचण्डलाई हातमा लिएर बाँकीमाथि ‘डोजर’ चलाउन सुरु गरिसकेका थिए । त्यसैले एमालेको माधवकुमार नेपाल खेमा प्रचण्डभन्दा अघिदेखि नै असन्तुष्ट थियो । प्रचण्डले त्यही असन्तुष्टिलाई ओलीविरुद्धको हतियार बनाए । ओलीले सहमति कार्यान्वयन नगरेपछि नेपाल खेमासँग जोडिएका प्रचण्डले असन्तुष्टि चरम चुलीमा पुर्‍याउन सफल भए । नेकपा विवाद उत्कर्षमा पुग्यो ।

प्रचण्ड–नेपाल समूहको अगुवाइमा नेकपाको केन्द्रीय समितिले ओलीलाई पार्टीको अध्यक्ष र दलको नेताबाट पनि हटाइदियो । प्रचण्ड नेकपाको अध्यक्षसँगै संसदीय दलको नेता पनि चुनिए । तर, प्रचण्ड–नेपालसँग पार्टीको ७० प्रतिशतभन्दा बढी हैसियत रहँदा पनि त्यसले कानुनी हैसियत प्राप्त गर्न सकेन । निर्वाचन आयोगले प्रचण्ड–माधव समूहलाई झुलाइदियो । कानुनी उपचारका लागि सर्वोच्च अदालत जान नपाउँदै सर्वोच्चले नेकपाको एकतालाई नै अवैध ठहर्‍याइदियो ।

त्यति गर्नुअघि नै राजनीतिका चतुर खेलाडी ओलीले संसद् विघटन गरेर फरक परिस्थिति निर्माण गरिसकेका थिए । पार्टीको केन्द्रीय समितिमा ७० प्रतिशत बनाएका प्रचण्ड सर्वोच्चको फैसलापछि संसद्को तेस्रो दल नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा सीमित बन्न पुगे ।

सर्वोच्च अदालतको फैसलाले संसद् पुनःस्थापना भएपछि प्रचण्डका लागि तत्कालीन नेकपाको अध्यक्ष र प्रधानमन्त्री सुनिश्चित बनेको थियो । तर, सर्वोच्चकै फागुन २३ गतेको फैसलाले त्यो अवसरबाट पनि वञ्चित गरायो । स्वयं प्रचण्डले केही दिनअघि मात्रै एउटा कार्यक्रममा आफू प्रधानमन्त्री बन्ने तयारी भइरहेको बेला अदालतले पार्टी दुईवटा बनाइदिएको बताएका थिए ।

“जुन दिन मलाई दलको नेता चुन्ने र प्रधानमन्त्री बनाउने निर्णय गरियो, त्यही दिन अदालतले दुइटा पार्टी आ–आफ्नो ठाउँमा जानू भन्यो,” प्रचण्डले भनेका थिए ।

राजनीतिक परिस्थिति बदलिएपछि पत्ता फेरिहाल्ने प्रचण्डले एमाले र माओवादीको एकता बदर भएसँगै राजनीतिक ‘मुभ’ बदले । उनले आफ्नै हातमा आइसकेको सत्ताबाट ओलीलाई प्रतिस्थापन गर्न प्रतिपक्षी दल कांग्रेससँग सहकार्यको हात बढाए । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रूपमा संसद्लाई सबैभन्दा आफूमाथिको खतराका रूपमा अर्थ्याउँदै जेठ ८ गते दोस्रोपटक संसद् विघटन गरे । सबैभन्दा ठूलो पार्टीले पटक–पटक संसद् विघटन गरेपछि दोस्रोपटकको पुनःस्थापनापछि सर्वोच्चले नै सांसदहरूको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष गरेको दाबीअनुसार कांग्रेस सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दियोे । झन्डै दुईतिहाइ बहुमतसहितका प्रधानमन्त्री ओली सत्ताबाट प्रतिपक्षमा पुगे ।

संसद्को ६४ प्रतिशत सिटबाट ओर्लिएर एमाले झण्डै ३३ प्रतिशतमा खुम्चियो । केन्द्रसहित ६ प्रदेशमा सरकारको नेतृत्वमा रहेको नेकपा सर्वोच्चको आदेशबाट पूर्ववत् अवस्था एमाले र माओवादीमा फर्किएपछि बाँकी रहेका सबै प्रदेश सरकार पनि गिरेर एमाले अहिले पूर्णतः प्रतिपक्षमा छ । राजनीतिमा प्रतिशोध लिने प्रचण्डको स्वभाव हो । एमालेलाई पूर्ण रूपमा प्रतिपक्षमा पुर्‍याउनु पनि प्रचण्डले लिएको बलियो प्रतिशोध नै हो ।

राजनीतिक विश्लेषक मुमाराम खनाल प्रचण्ड परिवर्तनका संवाहक भएको भन्दै अहिलेको परिवर्तन पनि उनकै कारण भएको मान्छन् । तर, प्रचण्डमा निजी स्वार्थ व्यवस्थापनको खुबी नहुँदा विचलन देखिने गरेको र त्यही निजी कमजोरीले सिंगो राजनीतिमा प्रचण्डलाई कमजोर पारिरहेको उनी बताउँछन् ।

“प्रचण्डका कारणले नै पनि नेकपा (एमाले), मधेसवादी दलहरू टुटफुट  गराउने, केन्द्रदेखि प्रदेशका सरकारहरू परिवर्तन भएको हो,” विश्लेषक खनालले भने, “ओलीसँग भएको सहमतिबमोजिम प्रधानमन्त्री बन्न नपाएपछि प्रतिशोधमा एमालेलाई प्रतिपक्षमा सीमित पारिएको हो ।”

निजी व्यवस्थापन नहुुँदासम्म प्रचण्डमा छटपटी भने देखिइरहने खनालको विश्लेषण छ । “संविधानसभाका निर्वाचनहरू भए, शान्तिप्रक्रिया एउटा टुंगोमा पुग्यो, उनीहरूका लडाकुहरू समायोजन भए । उनको पार्टी र द्वन्द्वको व्यवस्थापन पनि भयो । तर, अझै पनि प्रचण्डको व्यवस्थापन हुनसकेको छैन,” खनाल भन्छन्, “प्रचण्डको स्थायी व्यवस्थापन नगर्दासम्म राजनीतिमा उनको छटपटीका प्रभाव देखिरहन्छ ।”

प्रचण्ड एजेन्डाको राजनीतिमा सफल भएको तर व्यक्तिगत रूपमा भने असफल भएको उनको टिप्पणी छ । “प्रचण्डले माओवादी आन्दोलनमार्फत उठाएका सबै एजेन्डा स्थापित भएका छन् । तर, उनी एकपछि अर्को असफलता हात पारिरहेका छन्,” खनालले भने, “उनको असफलताको कारण निजी आकांक्षा हो । माओवादी आन्दोलनको असफलताको कारण उनै भएका छन् ।”

खनालले भनेजस्तै प्रचण्डका अभिव्यक्तिमा पनि त्यो छटपट्टी पाउन सकिन्छ । एकातर्फ प्रचण्ड पाँचदलीय गठबन्धनलाई निर्वाचनसम्म कायम राख्ने उद्घोष गरिरहेका छन् भने अर्कोतर्फ आफ्नो पार्टीलाई पहिलो बनाउन अभियान पनि घोषणा गरिरहेका छन् । राजनीतिमा पार्टी र संगठनलाई मात्र होइन, आफूलाई पनि प्रयोग गरिरहने प्रचण्डले पार्टीका धेरै नेताहरूले छोडे पनि संगठनलाई अन्तिमपटक प्रयोग गर्ने प्रयत्न भने जारी राखेका छन् ।

‘सास छउन्जेल आश हुन्छ’ भन्ने नेपाली उखानलाई प्रचण्डले राजनीतिमा प्रयोग गरिरहेका छन् । माओवादीमा नयाँ पुस्ताका नयाँ नेता जन्माउने र नयाँ जागरण ल्याउने प्रयास उनले जारी राखेका छन् ।

वरिष्ठ वामपन्थी नेता राधाकृष्ण मैनाली माओवादीको संगठन दरिलो नभएकाले प्रचण्डका अस्थिर र द्विअर्थी अभिव्यक्ति सुनिने गरेको बताउँछन् । “विचार र सिद्धान्तको कार्यान्वयनका लागि पार्टीको संगठन पनि हुनुपर्छ । संगठन निर्माण गर्ने भन्ने कुरा एउटा कला पनि हो,” मैनालीले भने, “माओवादीले निर्माण गरेको संगठन भूगोलमा आधारित संगठन होइन । त्यसैले माओवादी संगठन भनेको डुलुवा संगठन भयो ।”

प्रचण्डकै कता ढल्किने र कोसँग सहकार्य गर्ने टुंगो नहुँदा माओवादीको स्थायी संगठन बन्न नसकेको उनको बुझाइ छ । “राम्रा, क्षमतावान् र प्रभावशाली मानिसले नेतृत्व गरेको संगठन बन्न सकेन,” मैनालीले भने, “त्यसैले खुला रूपमा राजनीतिमा आएपछि उहाँको संगठन हावामा उड्यो, भूगोलमा आधारित बन्नै सकेन ।”

तर, राष्ट्रियसभामा माओवादी केन्द्रको संसदीय दलका नेता दीनानाथ शर्मा भने पार्टीमा बाहिर भनिनेजस्तो समस्या नै नरहेको दाबी गर्छन् । प्रचण्डको अभिव्यक्तिलाई बदनाम गर्न प्रयोग गरिने गरेको उनको बुझाइ छ ।

“हाम्रो पार्टीमा आन्तरिक समस्या छैन, । बाहिर भनिने गरेझैँ पार्टीमा निराशा पनि छैन,” शर्माले भने, “अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई निराशा भन्दै माओवादी आन्दोलनको आडमा भएका रूपान्तरण र उपलब्धिलाई बदनाम गराउन विरोधीहरूले नकारात्मक अभिव्यक्ति दिइरहेका छन् ।”

उनले माओवादीले परिवर्तन चाहनेहरूको विचार बोकेर युगकै नेतृत्व गरिरहेको भन्दै आफू पनि खुसी रहेको सुनाए । “राजनीतिक दलको शक्ति अगाडि आउने, पछाडि जाने त स्वाभाविक रूपमा हुन्छ नै, पहिलो संविधानसभापश्चात् हाम्रो शक्ति त्यही भएको हो । इतिहासको विभिन्न कालखण्डमा राम्रा र असल विचार भएका नेताहरू अल्पमतमा पर्ने र सत्तामा नरहने भएको छ । हामीमा पनि त्यही भएको हो । म गर्वचाहिँ के गर्छु भने हाम्रो परिवर्तन चाहने विचारले नै युगको नेतृत्व गरेको छ । समयसापेक्ष रूपमा संगठन ठूलो–सानो हुने बहुमत–अल्पमत हुन्छ । लोकतान्त्रिक प्रणालीमा यस्तो हुन्छ नै ।”

सधैँ राजनीतिको केन्द्रमा रहेका प्रचण्ड आफ्नो पार्टीमा पनि तीन दशक बढी एक नम्बर नेतृत्वमा छन् । तर, राजनीतिमा प्रचण्डको असफलता भनेको आफूसँग रहेका नेताहरूलाई आफैँसँगै अड्याउन सकेका छैनन् । विगतमा माओवादीमा रहेका नेताहरू अहिले छिन्नभिन्न अवस्थामा छन् ।

माओवादीबाट क–कसले छोडे प्रचण्डलाई ?

आफू महामन्त्री हुँदा प्रचण्डलाई ०४६ सालमै महामन्त्री सुम्पिएका मोहन वैद्य ‘किरण’ अहिले नेकपा (क्रान्तिकारी) माओवादी खोलेर बसेका छन् । प्रचण्डसँगै विचार र कार्यक्रम ल्याएर सशस्त्र युद्धलाई उत्कर्षमा पुर्‍याउने युद्धताकाका माओवादीका ‘ब्रान्ड एम्बेस्डर’ डा. बाबुराम भट्टराई नयाँ शक्ति खोलेर एकता गर्दै अहिले जनता समाजवादी पार्टी (जसपा)मा पुगेका छन् ।

सशस्त्र युद्धका क्रममा समेत कर्णालीमा संगठन गर्न नसकेको माओवादीमा अरू नेताले नसकेको संगठन निर्माण गरेर सफल नेतामा दरिएका र युवा जोसलाई प्रतिनिधित्व पनि गर्ने नेता नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले नेपाल कम्युनिस्ट पार्टी नाममा माओवाद नै छोडेर राजनीति गरिरहेका छन् ।

धोका 

सधैँ अवसरवादीहरूको व्यवस्थापनबाट माओवादीमा बलियो भएका प्रचण्डले अहिले भने तीनै अवसरवादीबाट धोका पाएका छन् । माओवादीले कारबाही गरेपछि पनि प्रचण्डले नै शक्तिमा ल्याएका रामबहादुर थापा ‘बादल’लाई महासचिव बनाएका थिए । तर, उनैले प्रचण्डलाई ‘लेन्डुप प्रवृत्ति’ भन्दै छोडेर मोहन वैद्यसँग नेकपा (माओवादी) सुरु गरेका थिए । तर, उनले अवसरकै लागि वैद्यलाई धोका दिए र एउटा समूहसहित माओवादी केन्द्र फर्किए । फर्किएपछि पनि बादल प्रचण्डको प्राथमिकतामै थिए । माओवादी केन्द्रबाट सरकारको नेतृत्व उनै बादललाई गराएर  प्रचण्डले गृहमन्त्री बनाए । एमालेसँग एकतापछि पनि प्रचण्डले बादललाई नै आफूपछिको दोस्रो महत्त्वपूर्ण जिम्मेवारीका लागि ‘बार्गेनिङ’ गरे । तर, बादल प्रण्डसँग रहेनन् । बादलले प्रचण्डसँग भन्दा ओलीसँग बढी अवसर देखे । उनले पार्टी नै छोडेर ओली सरकार रोजे । अहिले उनी ओलीसँगै एमालेमा छन् ।

प्रचण्डलाई जनयुद्ध सकिएलगत्तै इमानदारलाई पाखा लगाएको आरोप लगाउने नेता थिए, डडेलधुराका नेता खगराज भट्ट । राजनीतिमा लेखराज भट्टजस्ता अवसरवादीलाई काखी च्यापेर खगराज भट्टजस्तालाई पाखा लगाएको भन्दै माओवादीभित्र आवाज समेत नउठेको होइन । तर, त्यसलाई वास्त नगरी प्रचण्डले लेखराजलाई बोक्ने र खगराजलाई थन्क्याउने काम गरिरहे । फलस्वरूप, तिनै लेखराज मन्त्री सिफारिस गर्ने प्रचण्डलाई तथानाम गाली गर्दै ओलीको मन्त्री बन्न लालयित भए । अहिले उनी प्रचण्ड छोडेर एमालेमा ओलीसँगै गएका छन् ।

प्रचण्डलाई धोका दिएका अर्का पात्र हुन्, टोपबहादुर रायमाझी । माओवादी नेताहरूका अनुसार रायमाझीको घरझगडा सुरु भएपछि विभिन्न कान्डहरू हुँदा प्रचण्डले नै उनलाई जोगाएका थिए । तर, प्रचण्डले काखी च्यापेका रायमाझीले मन्त्री बन्नकै लागि पार्टी छोडे । पार्टी मात्र छोडेनन्, नेकपा (माओवादी केन्द्र) अवैध रहेको भन्दै निर्वाचन आयोगमा उजुरी समेत हाले । माओवादी खारेज गर्ने योजना असफल भएपछि उनै रायमाझी आफू माओवादीमै रहेको भन्दै सांसद पदबाट भएको कारबाही फिर्ता गर्नुपर्ने निवेदन बोकेर सर्वोच्च अदालत पुगे । उनी कति अवसरवादी छन् भन्ने यी घटना नै काफी छन् । जसले प्रचण्ड कस्ता पात्रलाई काखी च्याप्छन् भन्ने पनि छर्लंग पारेको छ । उनको असफलताको पछाडि अवसरवादीको संरक्षण पनि एउटा महत्त्वपूर्ण कारण बनेको देखिन्छ ।

प्रचण्डले धेरै संरक्षण गरेका अर्का पात्र हुन् –प्रभु साह । माओवादीमा युद्ध ताकादेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका मात्रिका यादव प्रभलाई काखी च्यापेको भन्दै प्रचण्डसँग बिच्किएका थिए । मन्त्री बन्न ओलीसँग नजिकिएर एमाले प्रवेश गरेका साह अहिले एमालेमा पनि असन्तुष्ट नै छन् ।

उनले माओवादी केन्द्र छोडेका नेताहरूलाई समेट्ने र अन्य पार्टीहरूसँग पनि एकता गर्ने रणनीति बनाएका छन् । तर, ओलीसँग फरक मत राखेर एमालेको विधान महाधिवेशनमा सहभागी निर्णय गरेका उनी पछिल्लो समय भने फेरि ओलीसँगै मञ्चमा देखिन थालेका छन् ।

अवसरवादीलाई काखी च्याप्ने प्रचण्डको यही स्वभावले गोपाल किराँती, भरत दाहाल, मणि थापा, मुमाराम खनालसहितका थुप्रै नेता माओवादीबाट बाहिरिएको एक नेताको टिप्पणी छ ।

तर, प्रचण्ड यसको प्रवाह नगरी आफू कमजोर हुनासाथ पार्टी एकता गर्ने रणनीतिबाट बाहिरिएका छैनन् । प्रचण्डका लागि अब पनि अर्को ठिकै जनमत भएको पार्टीसँगको एकता आवश्यक दखिएको छ, उनी त्यो प्रयासमा जुटिरहेका छन् । एकता सम्भव नभए चुनावी तालमेल भने पक्का जस्तै छ । विश्लेषक मुमाराम खनाल त प्रचण्डले आफूजस्तै मानिसलाई मात्र पार्टीमा राखेको आरोप लगाउँछन् ।

“प्रचण्डले आफूजस्ता मानिसहरू मात्र पार्टीमा राखे जसले गर्दा नेतृत्वमा आउने मान्छे त उनीसँग रहने कुरै भएन । बाबुराम, वैद्यलगायतका प्रभावशाली नेताहरू पार्टीबाट निस्किदै गए । ती नेतालाई उनले बचाउन सकेनन्,” खनालले भने, “आफूले ल्याएको पार्टी फैलिँदै गए पो राम्रो हुन्छ त आफू थिचिँदै जाँदा थिचिने पार्टी के राम्रो हुन्छ ? नेताहरूमा असन्तुष्टि देखिनुको कारण यो पनि हो ।”

पूर्वमाओवादी एक ठाउँ ल्याउने प्रचण्डको प्रयास

प्रचण्डले विभिन्न पार्टीमा आवद्ध भएका पूर्वमाओवादी नेताहरूसँग एकताको प्रस्ताव राखिरहेका छन् । कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताउँदै आएका प्रचण्डले केही दिनअघि सर्लाहीमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीलाई एकताको प्रस्ताव राखेका छन् । यस्तै उनले माअ‍ोवादी छोडेर पछि कम्युनिष्ट र माओवादको औचित्य नै सकिएको भन्दै आएका बाबुराम भट्टराईलाई पनि पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् ।

केही समय प्रचण्डसँग सहकार्य गरिसकेका वरिष्ठ वामपन्थी नेता आर के मैनाली पूर्वमाओवादी एकीकृत हुँदा पनि पुरानो क्रेज फर्कने सम्भावना नरहेको बताउँछन् ।

“माओवादीलाई एक ठाउँमा ल्याए पनि हिजोको क्रेज जनतामा आउँदै आउँदैन । राजनीतिमा एउटा प्रभावलाई नकारात्मक धारणा बनाइसकेपछि त्यसलाई पोजेटिभ बनाउन असम्भवप्रायः हुन्छ,” मैनालीले भने, “जस्तो ओली गफाडी हो भनेर मानिसहरूले सोचेका छन्, जुन कुरा सुधार गर्न अब ओलीलाई सम्भव छैन, त्यस्तै माओवादीमा पनि पुरानो विश्वास फर्काउने कुरा सम्भव देखिँदैन ।”

ओलीलाई गफाडी नेताको पहिचान बदल्न असम्भव भएको भन्दै प्रचण्ड त्योभन्दा गाह्रो स्थितिमा पुगेको उनको बुझाई छ ।

“दुई–दुई पटक सत्तामा पुगेर पनि केही गर्न सकेनन् भन्ने जनतामा परिसकेको छ,” मैनालीले भने ।

प्रचण्डमा देखिने गरेको अस्थिरताको रहस्य भने उनमा रहेको तीव्र महत्वाकांक्षा भएको मैनालीको विश्लेषण छ । प्रचण्डको यही महत्वकांक्षा गणतन्त्रमाथि वितृष्णा जगाउने साधन बनेको उनेको बुझाई छ ।

“उहाँ परिवारवादमा रुमलिनु भयो । आफूसँगै आन्दोलनमा लागेका पीडित परिवारका बारेमा उहाँलाई चासो र चिन्तै भएन । त्यसबाट जनतामा प्रभाव घट्दै गएपछि उहाँमा अस्थिर मानसिकता देखियो,” मैनालीले भने, “जसको नतिजा के भयो भने गणतन्त्र आएको १४ वर्षमै व्यवस्था माथि निरासा बढेको छ । गणतन्त्रकालमा उहाँ लोकप्रिय बन्न सक्नु भएन ।”

मैनालीले गणतन्त्रमा पनि उस्तै शोषण र कुशासन जारी रहेकाले विकल्प के त भन्ने प्रश्न मानिसहरूले गरिरहेको बताए ।

“यी सबै कुराहरूले गर्दा प्रचण्डलाई एउटा अस्थिरतातर्फ धकेलेको छ । उहाँ अहिले यति कमजोर बन्नुमा बाहिरी शक्ति होइन कि उहाँभित्रको चिन्तन र स्वभावले प्रभाव पारेको हो,” मैनालीले भने, “उहाँको स्वभाव अस्थिर भयो अनि महत्वकांक्षा बढी भयो ।”

तर, प्रचण्ड भने एकातिर माओवादी नेताहरूलाई फिर्ता ल्याउने अभ्यास गरिरहेका छन् भने अर्कातिर अर्को पार्टीसँगको एकता अभ्यास पनि जारी राखेका छन् । तर, उनले भाषण भने पार्टी छोडेका नेताहरू माओवादी आन्दोलनले नै जन्माएको भन्दै अवसरवादी गए पनि आन्दोलनले नयाँ नेता जन्माउने दाबी गर्छन् ।

“चरम अवसरवादीहरू ओली प्रवृत्तिमै विलय भएका छन् । त्यसले झट्ट हेर्दा पार्टीमा क्षति पुगेजस्तो, पार्टी कमजोर भएजस्तो देखिए पनि सारमात्यस्तो हुँदैन,” प्रण्डले वाईसीएलको एक कार्यक्रममा भनेका छन्, “माओवदी आन्दोलनले जन्माएका नेताहरू अवसवादसँग विलय भएका छन् । माओवादी आन्दोलनले अवसरवादलाई अस्वीकार गर्छ । उनीहरूको विकल्पमा आन्दोलनले नयाँ जोस जागर र इमान्दारी भएका नेता जन्माउँछ ।”

राजनीतिक दृष्टिकोणमा प्रचण्डको भनाइमा दम होला, आन्दोलनले नै नेता जन्माउछ तर, महन्वपूर्ण कुरा आन्दोलन बाँकी छ कि छैन भन्ने हो ? प्रचण्डसँग यही प्रश्न सबैभन्दा बोझिलो छ –के माओवादीका लागि आन्दोलन चाहिँ बाँकी छ ?

माओवादी आन्दोलनमाथि प्रश्न 

प्रचण्डलाई पार्टीभित्र पटक पटक संकट आउने गरेको छ । यस्तो संकटको कारण उनले नेतृत्व गरेको माओवादी आन्दोलनका सहिद, घाइते तथा अपांग परिवार र उनीहरूको अवस्था पनि हो ।

प्रचण्ड नेतृत्वको आन्दोलनमा जाँदा पाँचहजार बढी परिवारले आफन्त गुमाएका छन् ।

बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*