Home / Feature Breaking news / काउन्सीलिङकालागी टोल फ्रि नम्बर

काउन्सीलिङकालागी टोल फ्रि नम्बर

दाङ, २८ जेठ

कोरोना भाईरसका कारण हुन सक्ने मानसिक तथा मनोसामाजिक समस्यासँग सामना गर्न मनोविमर्श सेवाकालागि दाङमा टोल फ्री नम्बर सुरु गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो ।

कोरोना भाईरसको कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा हुन सक्ने मानसिक तथा मनोसामाजिक समस्याका विरुद्धमा मनोविमर्श गर्नकालागि केन्द्रले आज मंगलवारदेखी १६६०८२१८००० नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको हो ।

कोरोना भाईरस र लामो समयदेखीको लकडाउनको कारण व्यक्तीहरुमा पर्न सक्ने मानसिक असरहरुको फोनबाटै मनोविमर्श (काउन्सीलिङ) गर्नकालागि संस्थाले टोल फ्रि नम्बर सुरु गरेको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

कुनै पनि व्यक्तीले आफू लगायत परिवारका कुनै पनि सदस्यहरुमा मानसिक एवं मनोवैज्ञानिक असर देखा परेमा केन्द्रको टोल फ्री नम्बर १६६०८२१८००० मा नमस्ते (एनटीसी) को सीमबाट सम्पर्क गरेर निशुल्क मनोविमर्श सेवा लिन सक्ने उहाँले जानकारी दिनुभयो । शनिवारबाहेक हरेक दिन विहान १० बजेदेखी दिउसो ४ बजेसम्म निशुल्क मनोविमर्श सेवा लिन सक्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

‘कोरोना भाईरस र लामो समयदेखीको लकडाउनको कारण विभिन्न व्यक्तीहरुमा मानसिक एवं मनोवैज्ञानिक असर परेको पाईएको छ । उहाँहरुलाई काउन्सीलिङको आवश्यकता पर्न सक्छ । काउन्सीलिङकालागि सहज होस् भनेर हामीले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएका हौँ’ केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले भन्नुभयो­ ‘यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन । निशुल्क रुपमा उहाँहरुले तालिम प्राप्त मनोविमर्शकर्ताहरुबाट मनोविमर्श सेवा लिन सक्नुहुन्छ ।’

कोरोना भाईरसको त्रासका कारण पछिल्लो समय मानसिक तथा मनोसामाजिक समस्या बढ्दै गएको मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो । मानसिक तथा मनोसामाजिक असर परेमा डर लाग्ने, चिन्ता लाग्ने, आत्तिने, छटपटी हुने, अत्यधिक टाउको दुख्ने, चिटचिटाहट हुने, मुटुको धड्कन बढ्ने, रुन मन लाग्ने, आत्मबलमा कमी आउने, आत्महत्याको सोचहरु आउने, ध्यान केन्द्रित गर्न गाह्रो हुने, भ्रमपूर्ण विचारहरु आईरहने, काम गर्न जागर नलाग्ने, धुम्रपान तथा मद्यपानको अत्यधिक प्रयोग गर्ने, एकान्त मन पराउने, नकारात्मक सोचाईहरु आईरहने जस्ता विभिन्न लक्षणहरु देखिने उहाँको भनाई छ । लकडाउनको समयमा आत्महत्याका घटनाहरु पनि बढेको ढकालले जानकारी दिनुभयो ।

यी लक्षणहरु दुई हप्ताभन्दा बढि देखिएमा मनोविमर्शको आवश्यक पर्ने गर्दछ । जसकालागि तालिमप्राप्त मनोविमर्शकर्ताद्धारा मनोविमर्श सेवा लिनुपर्ने ढकालले जानकारी दिनुभयो ।

‘व्यक्तीमा मानसिक तथा मनोसामाजिक समस्याका लक्षणहरु दुई हप्ताभन्दा बढि समयसम्म देखिएमा मनोविमर्शको आवश्यकता पर्दछ’ ढकालले भन्नुभयो­ ‘त्यस्ता व्यक्तीहरुले समयमै मनोविमर्श सेवा पाउनुभयो भने मानसिक तथा मनोसामाजिक समस्या समाधान हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*