Home / Feature Breaking news / महसुल नतिर्ने ७० ग्राहकको विद्युत काटियो

महसुल नतिर्ने ७० ग्राहकको विद्युत काटियो

निराजन डाँगी

तुलसीपुर, ८ कार्तिक । तुलसीपुरमा लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकको विद्युत लाइन काटन सुरु भएको छ । तुलसीपुरमा कार्तिक १ गतेदेखि ५ दिनमा मात्रै ७० घरको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा ११ लाख २९ हजार बक्यौता रकम असुल उपर गर्न बाँकी रहेको हुँदा बाध्य भएर लाइन काट्नु परेको विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले जानकारी दिए ।

मिटर रिडिङ भएको ६० दिनभन्दा बढी समय व्यथित भएमा र ग्राहक महसुुल तिर्न नआएमा ग्राहकलाई कालोसूचिमा राखेर वितरण केन्द्रले लाइन काट्न थालेको प्रमुख फर्सालले बताए । अझै जम्मा ग्राहकहरुबाट प्राधिकरणले ५ करोड ६७ लाख बक्यौता रकम असुल उपर गर्न बाँकी रहेको प्रमुख फर्सालले बताए । चालु आर्थिक बर्षको अन्त्यसम्म ३ करोड असुल गर्ने लक्ष्य रहेको प्रमुख फर्सालले जानकारी दिए ।

सोही उद्देश्यअनुरुप वितरण केन्द्रले विद्युत महसुल नबुझाउने ब्यक्ति, संस्था, सरकारी कार्यालयलगायतका ग्राहकको बिद्युत लाइन काट्न सुरु गरेको हो । ‘अटेरी गरी विद्युत महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गर्दै आएको थियो,’ एक कर्मचारीले भने– ‘तर, पनि अटेरी गर्नेहरुको धमाधम लाइन काट्न सुरु भएको हो ।’ चालु आर्थिक बर्ष २०७८÷०७९ को हालसम्म प्राधिकरणले २३ लाख ७९ हजार बक्यौता रकम बुझाउन बाँकी ८७ घरको लाईन काटेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय धमाधम लाइन काट्न सुरु गरेपछि धमाधम बक्यौता महशुल संकलन हुन थालेको विद्युत प्रधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले जानकारी दिए । अटेरी गरेरभन्दा पनि सेवाग्राहीहरु लापरबाहीले गर्दा महसुल बुझाउन नआउने गरेको प्रमुख फर्सालले बताए । बेलैमा विद्युतको खपत गरेबापतको रकम बुझाए जरिवानाबाट समेत बच्न सकिने हुँदा लापरबाही नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

आर्थिक बर्ष ०७७÷०७८ मा प्रधिकरणले ६३ लाख ८८ हजार बक्यौता तिर्न बाँकी रहेका २ सय ८५ ग्राहकको लाईन काटेको थियो । विद्युत् महसुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युतविना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था रहेको छ । बक्यौता बुझाएपछि ग्राहकको घरमा पुनः विद्युत जडान गरिने प्राधिकारणका प्रमुख फर्सालले बताए । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका ४६ हजार ५७ ग्राहक संख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*