Home / Feature Breaking news / रुकुमपूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुमपूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम,१३ असोज । रुकुम (पूर्व) लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

बुधबार सिस्ने गाउँपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले रुकुम पूर्वलाई पूर्ण खोप जिल्ला घोषणा गरेका हुन् । सभामुख घर्तीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी बुधवारदेखि जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन् । जन्मेदेखि १५ महिनासम्मका एक हजार ३०० बालबालिका र १६ देखि २३ महिनासम्मका ९३४ जना बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यसअघि जिल्लाका ३ वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् ।

तीनवटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख गौरव ढकालले जानकारी दिए । रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन् । यसअघि ११ वटा जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।अब नेपालमा पूर्ण खोप जिल्ला घोषणा भएको संख्या ६२ पुगेको छ । नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोषणा गर्ने प्रतिबद्धता अनुसार हालसम्म ६२ जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा विभागका खोप शाखाका वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार देशका झन्डै ९० प्रतिशत पालिका पूर्ण खोप सुनिश्चित पालिका भएका छन् । बाल मृत्युदर कम गर्नका लागि २०६६ सालदेखि जन्मदेखि २३ महिना सम्मका बालबालिकालाई नियमित खोप लगाउन थालिएको उनले बताए । खोप लगाउन थालेदेखि नेपालमा बाल मृत्यु दरमा पनि निकै कमी आएको श्रेष्ठको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*