Home / Feature Breaking news / ८ जनाको बगेर मृत्यु, दुई जना बेपत्ता
सांकेतिक तस्वीर

८ जनाको बगेर मृत्यु, दुई जना बेपत्ता

दाङ, १२ भदौ । अबिरल बर्षासँगै बबई नदीमा आएको बाढीमा बगेर दाङमा एकजनाको मृत्यु भएको छ । मलामी गएका बेला नुहाउने क्रममा बबई नदीमा बग्दा दंगीशरण गाउँपालिका–१ निवासी ५० बर्षीय बामदेव देवकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

देवकोटा शुक्रवार विहान निधन भएका स्थानीय ९० बर्षीय दिलबहादुर रानाको मलामी गएका थिए । मलामी गएका देवकोटा नुहाउने क्रममा बाढीमा बगेका थिए । ‘मलामी गएको बेला नुहाउने क्रममा उहाँ बग्नु भएको रहेछ’, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले भने– ‘करिब पाँच सय मिटर तलबाट स्थानीयले उहाँको शब निकालेका रहेछन् ।’

दाङमा मनसुन सुरु भएसँगै नदी तथा खहरे खोलाहरुले बगाउने क्रम बढेको छ । जसले गर्दा मानवीय क्षतिसँगै अन्य क्षतिसमेत हुने गरेको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दुई महिनाको अवधिमा जिल्लामा बाढीमा परेर ८ जनाको मृत्यु भएको छ । जेठ ३१ गते मनसुन सुरु भएसँगै बिहीवारसम्म खहरे खोला तथा नदीहरुमा बगेर ८ जनाको मृत्यु भएको जिल्ला आपतकालीन तथा कार्य सञ्चालन केन्द्रका प्राविधिक महेन्द्र रावतले जानकारी दिएका छन् ।

‘दाङमा मनसुन सुरु भएको दुई महिनाको अवधिमा नदी तथा खहरे खोलाहरुमा बगेर ८ जनाको निधन भएको छ’, उनले भने– ‘उनीहरुमध्ये ७ जनाको शव फेला परिसकेको छ भने एकजना बेपत्ता रहेका छन् ।’ आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिकाका ३ जना, तुलसीपुरका २ जना रहेका छन् । त्यस्तै बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका १÷१ जना रहेका छन् । मृत्यु हुनेमा पुरुष, महिला र बालबालिकाहरु रहेका छन् ।

६३ बढी घरहरु भत्किदा एक करोड बढीको क्षति

त्यसैगरी जिल्लामा असार र साउन महिनामा बर्षात्का कारण घर तथा गोठहरु भत्किँदा करिब सवा एक करोड बढीको क्षति भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङको तथ्यांकअनुसार जेठ ३१ गतेदेखि हालसम्म जिल्लाका दशवटा स्थानीय तहहरुमा १ सय ३ वटा घर तथा गोठहरु भत्किँदा अनुमानित १ करोड ३७ लाख ३७ हजार ८ सय ५० बराबरको क्षति भएको छ ।

जसमा ६३ घर तथा गोठहरु पूर्ण र ४२ वटा घर–गोठहरु आंशिकरुपमा भत्किएका छन् । घर र गोठहरु भत्किँदा चार जना मानिसहरु घाइते भएको जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्रका प्राविधिक महेन्द्र रावतले जानकारी दिएका छन् । ‘जिल्लामा बर्षात्का कारण दुई महिनाको अवधिमा १ सय बढी साना तथा ठूला घरहरु पूणं तथा आंशिकरुपमा भत्किएका छन्’, उनले भने– ‘जसमा सवा करोड बढीको क्षति भएको छ ।’ उनका अनुसार यी घटनाहरुमा २६ वटा पशुचौपायाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*