Home / Feature Breaking news / हरियो बजारमा जोडिएका रंगीन सपनाहरु, रुदिलोको महदेखि तिल्कीको चामलसम्म

हरियो बजारमा जोडिएका रंगीन सपनाहरु, रुदिलोको महदेखि तिल्कीको चामलसम्म

खेमराज रिजाल
दाङ, २२ चैत । शान्तिनगर गाउँपालिका—७ बुराडावरका मौरीपालक किसान चित्रभान खत्रीलाई अहिले उनले उत्पादन गरेको महको मार्केटिङका लागि कुनै समस्या छैन । २ सय ५० गोला मौरीका घार स्याहार्दै आएका खत्रीले बार्षिक लागत कटाएर ८ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यसैबाट उनको चार छोराछोरीसहित ६ जनाको परिवारको रोजीरोटी, शिक्षा, स्वास्थ्य र अन्य भैपरी आउने खर्च टरेको छ । २ जनालाई उनले फर्ममा नियमित रोजगारीसमेत दिएका छन् ।

हरियो बजारले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.का सदस्यहरुको उत्पादनलाई बजारीकरण गर्ने कार्य गरिआएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.द्वारा सञ्चालित लघुवित्त कार्यक्रममा जोडिएपछि उनले सीपमुलक तालिममात्र पाएनन्, पटक–पटक मौरी पालन व्यवसाय सञ्चालनका लागि ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म पनि विनाधितो ऋण समेत लिएर आफ्नो व्यवसाय विस्तार गर्दै यहाँसम्म पु¥याए । उनको फर्ममा सिजन सिजनका मह उत्पादन हुन्छ ।

सिजन अनुसार चिउरीको मह, तोरीको मह अनि रुदिलोको महसमेत उत्पादन हुने गरेको छ । ‘मह उत्पादन मौरीले गरिदिन्छन्, भने उक्त उत्पादनलाई बजारीकरण ‘हरियो बजार’ले गरिदिएको छ, हामीले त मौरीको समयानुकूल स्याहार गर्ने मात्रै हो’, खत्रीले स्पष्ट रुपमा भने– ‘अन्तभन्दा मूल्य पनि हरियो बजारले बढिदिएको छ ।

सुरुमा व्यवसाय गर्ने कुनै स्रोत नभएर रनभुल्लमा परेका खत्री लघुवित्त कार्यक्रममा जोडिए, व्यवसायिक सीप हासिल गरे, व्यवसाय सञ्चालनका लागि विनाधितो ऋण पनि पाए, अनि अहिले सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । ‘छोराछोरीलाई काठमाडौँदेखि घोराही, तुलसीपुरसम्म पठाएर उच्च शिक्षा पढाउने आधार यही व्यवसाय नै हो’, उत्साह, सीप, जाँगर र लगानीका लागि सपोर्ट गर्नै संस्थाको तालमेल भए पनि सानो पँुजीबाट पनि जीविकोपार्जनमा समस्या हुँदोरहेनछ’, खत्रीले भने ।

तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवाका किरण वली एकाविहानैदेखि मोटरसाइकलमा क्यान लिएर गाउँ–गाउँ कुदिरहेका देखिन्छन् । उनको यो जागर गाउँको शुद्ध दूध संकलनका लागि हो । उनले भोजपुर क्षेत्रका कम्तीमा ३÷४ स्थानमा संकलन केन्द्र तय गरेका छन् । हरेक बिहानै उनी ती संकलन केन्द्रबाट दूध संकलन गरी घोराहीको हरियो बजारमा ल्याउँछन् ।

गोठुवाका महिलाहरु लघुवित्त कार्यक्रममा जोडिएका थिए, उनीहरुले उत्पादन गरेको दूध पनि संकलन हुन्छ, त्यहीकै दूध संकलन गरेर हरियो बजारमा डेरी पनि सञ्चालनमा ल्याइएको छ । किरणको रोजीरोटी यही दूध संकलनसँग जोडिएको छ । बिहानीको ४÷५ घण्टाकाम गरे वापत उनले हरियो बजारबाट मासिक १५ हजार पारिश्रमिकसमेत पाउँदै आएका छन् ।

त्यसैगरी घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरका विपिन खनाल दुग्ध व्यवसायी हुन् । उनले महिला सामुदायिक सेवा केन्द्रबाट व्यवसाय प्रवद्र्धन तालिम लिएपछि गाउँमा दिपिका कृषि तथा पशुपंक्षी फर्म खोले । ‘दैनिक ८० लिटरसम्म दूध घोराहीको हरियो बजारमा पु¥याउँथे, अचेल त अलि दूध घटेको छ’, विपिनले भने । उनको पनि प्रमुख पेशा अहिले कृषि नै बनेको छ । त्यही पेशाले उनको रोजीरोटी चलेको छ । उनले उत्पादन गरेको दूधको बजारीकरणमा कुनै समस्या छैन । ‘राम्रो भाउमा हरियो बजारमा जान्छ’, खनालले भने ।

चित्रभान, किरण र विपिन त प्रतिनिधिपात्र मात्र हुन् । उनीहरुजस्तै हजारौं विपन्न व्यक्तिहरुलाई सीपमुलक व्यवसायमा जोड्न र उनीहरुले उत्पादन गरेका बस्तुहरुको सहजरुपमा बजारीकरण गर्नका लागि महिला सामुदायिक सेवा केन्द्रले घोराहीमा हरियो बजारको सञ्चालन गरेको छ । चार बर्षअघि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको हो । हाल यस संस्थाले बैंकबाट थप १ करोड ऋण लिएर हरियो बजारलाई विस्तार समेत गरिएको छ ।

हरियो बजारमा अहिले जिल्लामा उत्पादिन कृषिजन्य तथा पशुजन्य उत्पादनहरु बिक्रीमा राखिएका छन् । रुदिलोको महदेखि चोयाका डाला र तिल्कीको चामलसमेत उपलब्ध हुने गरेको छ । ‘भान्साका लागि चाहिने ए टु जेड सामान त्यहाँ पाइन्छन्, गुणस्तरको कुनै चिन्ता गर्नुपर्ने अवस्था देखिँदैन’ नजिकैको एपेक्स इन्स्टिच्युटका सञ्चालक धर्म केसीले भने– ‘अर्गानिक बस्तुहरुको प्रमोशनका लागि हरियो बजार सञ्चालनमा आएको जस्तो मलाई लाग्छ ।’

स्थानीय तोरी, विन्देश्वरी धान, तिल्की धान, स्थानीय मन्सुली धान, गहुँ, गहतको दाल, शान्तिनगरको सेतो राज्मालगायत थुप्रै खाद्य उत्पादनहरु पसलमा राखिएका छन् । प्रायः अधिकांश लघुवित्त कार्यक्रममा जोडिएका विपन्न महिलाहरुले उत्पादन गरेका सामानहरु छन् त्यहाँ लोहोरो–सिलौटोदेखि केराउको मस्यौरा र मुलाको गुन्द्रकसम्म हरियो बजारमा राखिएका छन् ।

पसलमा बाहिरबाटै देखिनेगरी हरेक सामानको दैनिक मूल्यसुचि समेत राखिएको छ । हरित क्रान्तिका लागि महिला उद्यमीहरुको सशक्तीकरण अभियानअन्तर्गत हरियो बजार सञ्चालनमा आएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगी भन्छिन्– ‘सानो पँुजीलाई परिचालन गरी विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि हाम्रो अभियान हो । साथै संस्थाले लघुवित्त कार्यक्रममा जोडिएका सेवाग्राहीले उत्पादन गरेका बस्तुहरुको बजारीकरणका लागि पुलको काम गर्ने पनि बताएको छ । ताकि उत्पादित बस्तुले बजार नपाउने समस्याबाट यो पेशामा जोडिएकाहरु विचलित हुन नपरोस् ।

महिला सामुदायिक सेवा केन्द्रले यो बजार सञ्चालन गर्दा ५ जनाको सञ्चालक समिति बनाइएको थियो । यो मुनाफारहित संस्था हो । यसले सञ्चालकलाई बोनस बाँड्दैन । प्राप्त मुनाफाबाट संस्थाले हरित बजारलाई थप परिमार्जन र स्तरबृद्धि गर्दै लैजाने बताएको छ । यो बजारमा दैनिक रुपमा दूध ल्याउनेहरु नै करीब १ सयको हाराहारीमा किसानहरु छन् ।

उनीहरुलाई संस्थाले तोकेको मूल्य बैंक खातामै भुक्तानी गर्ने गरेको छ । यसमा यो दुई बर्षको अवधिमा प्रत्यक्ष वा परोक्षरुपमा १ हजार परिवार जोडिएका छन् । हरियो बजारमा दैनिक रुपमा ५ सय लिटर दूध संकलन हुने गरेको छ । सोही दिन ग्राहकलाई सो दूध बिक्री गरिन्छ । यसमा कम्तीमा १५ जनाले मासिक रोजगारी पनि पाएका छन् ।

जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लघुवित्त कार्यक्रमअन्तर्गत ३ बर्षको अवधिमा ५ अर्बभन्दा बढी लगानी गरिसकेको छ । यसमा ३ अर्बभन्दा बढी आयआर्जनमा मात्र लगानी भएको बताइएको छ । यसमा ५० प्रतिशत लघुवित्त कार्यक्रममा जोडिएका सदस्यहरुबाट संकलन भएको रकम र बाँकी ५० प्रतिशत अन्य बैंकबाट ऋण लिएर यस कार्यक्रममा लगानी हुँदै आएको छ । ग्राहक संरक्षण कोष भनेर गत बर्ष १ करोड रुपैयाँ अनुदान दिएको पनि संस्थाले जनाएको छ ।

भावी योजना

यसैबीच संस्थाले आगामी बर्ष २ हजार लिटर दूध संकलन गरी त्यसलाई प्रशोधन गरेर प्याकेजिङ गरी बिक्री वितरण गर्ने जनाएको छ । त्यसैगरी पशुपालक किसानको सहजताका लागि स्थानीय तहमै यहीकै उत्पादनबाट घास खेती, बीउ उत्पादन तथा दाना उद्योग सञ्चालन गरिने पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय कार्यक्रमका लुम्विनी प्रदेश प्रमुख पवन योगीले बताएका छन् । त्यस्तै धान तोरीको मिल सञ्चालनसँगै स्थानीय कृषकलाई सामूहिक खेतीमा जोड्न पनि संस्थाले पुलको काम गर्ने योजना रहेको पनि प्रदेश प्रमुख योगीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*