Home / समाचार / प्रधानमन्त्रीले घोषणा गरेको ५० प्रतिशत जोखिम भत्ता पाएनन् संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले

प्रधानमन्त्रीले घोषणा गरेको ५० प्रतिशत जोखिम भत्ता पाएनन् संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले

गत वैशाख २० गते देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने घोषणा गरे।

तर संक्रमितको उपचारमा खटिने धेरैजसो स्वास्थ्यकर्मीले सो भत्ता पाएका छैनन्।

काठमाडौंको वीर अस्पतालमा नर्सको रूपमा कार्यरत मुना पोखरेलले आफूले जोखिम भत्ताको नाममा कुनै पनि रकम नपाएको जानकारी दिइन्।

‘भत्ताको नाममा एक रूपैयाँ पनि पाएको छैन। व्यवस्थापनसँग कुरा हुँदा माथिबाटै बजेट आएको छैन भन्नुहुन्छ,’ उनले भनिन्।

पोखरेलका अनुसार उनीसँगै संक्रमितको उपचारमा खटिएका वीर अस्पतालका कुनै पनि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन्।

भत्ता नपाउँदा काम गर्न समेत निरूत्साहित भइने भन्दै उनले भनिन्, ‘कुरै भएको थिएन भने वास्तै हुन्न थियो तर दिन्छु भनेपछि त आश लाग्छ नि! कतिले योबेला घरै बसेर पनि तलब खाए तर हामी मरिमरि काम गर्दा पनि भत्ता नपाउँदा चाहिँ दुःख लाग्ने रैछ।’

यस्तै,टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका स्वास्थ्यकर्मीले पनि जोखिम भत्ता पाएका छैनन्।

कोभिड आइसियूमा खटिएकी एक नर्सले सेतोपाटीसँग भनिन्, ‘कहिले भत्ता आउँछ भन्नुहुन्छ, फेरि कहिले आउँदैन भन्नुहुन्छ। अस्ति कुरा गर्दा अस्पतालसँगै बजेट छैन, त्यसैले भत्ता नआउन सक्छ भन्नुभयो रे।’

उनले महामारीमा घरपरिवार र आफूलाई नसोची काम गर्दा पनि भत्ता नपाउँदा भने खल्लो महसुस हुने बताइन्।

‘काठमाडौं आएदेखि घर गएको छैन। रातदिन बिरामीका लागि खटिरहेका छौं। तर यस्तो जोखिममा काम गर्दा पनि भत्ता नदिँदा चाहिँ खल्लो लाग्छ,’ उनले भनिन्।

भत्ता नपाएको विषयबारे अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलासँग कुरा गर्दा उनले एकदुई साताभित्रै भत्ता दिने बताए।

सुरूमा उनले मन्त्रालयबाटै भत्ताका लागि रकम निकासा नभएको भन्दै आफूले त्यसका लागि मन्त्रालयसँग कुराकानी गरिरहेको जनाएका थिए।

तर फेरि उनले दुई साताभित्रै संक्रमितको उपचार गरेबापत सरकारले सोधभर्ना गरेको रकमबाट स्वास्थ्यकर्मीलाई भत्ता दिइने बताए।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले पनि भत्ता नपाएको भन्दै ठाउँ-ठाउँबाट स्वास्थ्यकर्मीहरूको गुनासो आइरहेको बताए।

‘भत्ता नपाएको भन्दै ठाउँ-ठाउँबाट गुनासो आइरहेको छ। यो असार मसान्तभित्र चुक्ता गर्ला कि भन्ने छ। तर त्यतिञ्जेल पनि भएन भने हामी बोल्छौं,’ उनले भने।

उनले भत्ता नपाउने समस्या उपत्यकाभित्र र बाहिर दुबै क्षेत्रका अस्पतालमा रहेको जनाए। यद्यपि केही ठाउँमा भत्ता पाए पनि भत्ता नपाउने स्वास्थ्यकर्मीको संख्या भने बढी रहेको उनी बताउँछन्।

उनले स्वास्थ्यकर्मीले भत्ताका लागि काम नगरेको भन्दै तर दिने भनेको भत्ता नदिँदा स्वास्थ्यकर्मीको मनोबल घट्ने बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जोखिम भत्ताका लागि अस्पतालहरूसँग उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको सूची मागिएको बताए।

‘मन्त्रालयले अस्पतालसँग ड्युटी रोस्टरमा खटिएका स्वास्थ्यकर्मीहरूको विवरण मागेको छ। विवरण प्राप्त भएपछि नियम अनुसार जोखिम भत्ता पाउँछन्,’ उनले भने।

प्रवक्ता पौडेलका अनुसार कति अस्पतालहरूले अहिले पनि सो विविरण पठाइरहेको भन्दै सोही अनुसार बजेट पनि पठाइरहेको जनाए।

उनले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिने सरकारको मनसाय नरहेको भन्दै केही निजी अस्पतालहरूले संक्रमितबाट पनि शुल्क असुलेको कुराहरू बाहिर आएपछि त्यसले अस्पतालहरूमा बजेट पठाउन समस्या भएको बताए। त्यसैले अहिले सबै अस्पतालहरूलाई विवरण पठाउन भनिएको र सोही आधारमा स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता पठाइने प्रवक्ता पौडेलले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*