Home / Feature Breaking news / सबै खोप पाए तुलसीपुरका बालबालिकाले

सबै खोप पाए तुलसीपुरका बालबालिकाले

तुलसीपुर, २३ असार । यो बर्ष तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत रहने÷बसोबास गर्ने सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क गरेका खोप पाएको प्रमाणित भएको छ । नेपाल सरकारले तेह्रवटा सरुवा रोग लाग्नबाट बच्नका लागि विभिन्न ७ प्रकारका खोप सबै बालबालिकालाई निःशुल्क लगाउने नीति लिएको छ ।

वडा खोप समन्वय समितिले आ–आफ्नो वडाका सबै बालबालिकालाई पूरै खोप लगाएको प्रमाणित गरेसँगै स्थानीय तुलसीपुर उपमहानगरपालिकाले खोप सुनिश्चितता तथा दिगोपनाका लागि जिल्ला खोप समन्वय समितिमा आग्रह गरेको थियो । खोप समन्वय समितिले पनि तथ्यगत विवरण प्रमाणीकरणसँगै तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकाका रुपमा घोषणा गर्दै प्रमाण–पत्रसमेत दिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समिति जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीले तुलसीपुर उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित पालिका भएको घोषणा गर्दै पालिकालाई प्रमाणपत्र समेत दिइन् । साथै उनले खोप अभियानलाई आदत बनाउँदै निरन्तर क्रियाशील बनाउन पनि आग्रह गरिन् ।

‘नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारका रुपमा स्थापित गरेको तथा आधारभूत स्वास्थ्य सेवामा बालबालिकालाई खोप पहिलो आधार भएको भन्दै यसलाई निरन्तरता दिन आवश्यक छ’, प्रमुख अतिथि चौधरीले भनिन् । सुनिश्चितता यो बर्षका लागि मात्र भएको भन्दै यसलाई हरेक बर्ष पर्वका रुपमा मनाउन पनि आग्रह गरिन् ।

खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख ओमप्रकाश न्यौपानेले तुलसीपुर उपमहानगरपालिकालाई आधारभूत स्वास्थ्यको पहुँच सबै नागरिकलाई पुग्ने गरी काम गरिरहेको बताए । साथै उनले नेपाल सरकारका हरेक स्वास्थ्य कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाले गौरवपूर्ण सफलता पाएको पनि बताए ।

कार्यक्रममा जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले खोप अभियान तथ्यगत विवरणमा सञ्चालन भएको र यो पालिकामा लक्षित उमेर समूहका कुनै पनि बालबालिकाले खोप नपाएको अवस्था नरहेको बताएका थिए । साथै उनले खोप अभियानको कार्यतालिका समेत प्रस्तुत गरेका थिए । आफ्नो मातहतका खोपकेन्द्रसँगै तुलसीपुर प्रादेशिक अस्पताल, राप्ती लाइफकेयर अस्पताल र तुलसी अस्पतालले समेत बालबालिकाका खोप कार्यक्रममा सहकार्य गरेको भन्दै प्रशंसासमेत गरिएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले खोप अभियानलाई ह्याविटका रुपमा लिन सम्पूर्ण स्वास्थ्य युनिटलाई आग्रह गरिन् । उनले स्वास्थ्य र शिक्षामा आफू अत्यन्तै गम्भीर भएको भन्दै यहाँका स्वास्थ्य संस्थाहरुको स्तरबृद्धि गरी जनताको विश्वास जित्ने बनाउन पनि आग्रह गरिन् ।

सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, नगर स्वास्थ्य केन्द्रका तर्फबाट तुलसीपुर उपमहानगरपालिका–९ का इन्चार्ज ईश्वरीप्रसाद चालिसेलगायतले खोप सुनिश्चित पालिका बनाउन आफूहरुले गरेको प्रयासका विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा स्वास्थ्यकर्मीहरुले कोरोना भाइरसको महासक्राममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता समेत नपाएको गुनासो गरेका थिए । अघिल्लो जननिर्वाचित पालिका बैठकले जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

कार्यक्रमलाई समापन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले तुलसीपुरलाई स्वस्थ शहर बनाउन नेपाल सरकारले ल्याएका सबै अभियानमा आफ्नो पालिकाको सधै साथ र सहयोग रहने अभिव्यक्ति थिए ।

साथै उनले स्वस्थ बालबालिका भए मात्रै मुलुकको भावी जनशक्ति स्वस्थ र सक्षम हुने भन्दै बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर रहन हरेक पालिकाका स्वास्थ्य इकाईहरुलाई निर्देशनसमेत दिएका छन् । जनस्वास्थ्य महाशाखाका प्रमुख ओमपी न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत विमल केसीले गरेका थिए ।

लमही पनि पूर्णखोप सुनिश्चित पालिका

यसैबीच लमही नगरपालिका पनि पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीले लमही उपमहानगरपालिकाका प्रमुख जोगराज चौधरीलाई बुधवारै खोप सुनिश्चितताको प्रमाणपत्र दिइन् ।

लमही उपमहानगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाले सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा भनेर प्रमाणपत्र तथा सम्मान दिएको थियो भने जिल्ला समन्वय समितिले लमही नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणाको प्रमाणपत्र दिएको थियो । कार्यक्रममा पूर्ण खोप सुनिश्चिततालाई जीवन्त बनाउन पनि सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका छन् ।

पूर्ण खोप सुनिश्चित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप कार्यक्रम अधिकृत किशोर आचार्यले पूर्ण खोप सुनिश्चित पालिका बन्नका लागि आवश्यक तयारी र प्रमाणीकरणका सन्दर्भमा जानकारी गराएका थिए । नगरप्रमुख जोगराज चौधरीले वडाहरुलाई खोप सुनिश्चितताको प्रमाणपत्र दिएका थिए । कार्यक्रमको सहजीकरण लमही नगरपालिका जनस्वास्थ्य प्रमुख लालमणि पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*