Home / Feature Breaking news / कांग्रेस महाधिवेशनमा महिला: आरक्षण होइन खुलामै प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनमा महिला: आरक्षण होइन खुलामै प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै केन्द्रदेखि तल्ला तहका पार्टी संरचनामा महिला नेताहरू खुला प्रतिस्पर्धामा उत्रनुपर्ने आवाज उठेको छ।

आरक्षणमा मात्रै नेताहरू सीमित हुन नहुनेमा कांग्रेस महिला विभागको जोड छ। खुला पदमा उम्मेदवारी दिन विभागले आग्रह नै गरेको छ।

महाधिवेशनबारे महिला विभाग र नेपाल महिला संघ केन्द्रीय कार्यसमितिबीच भएको संयुक्त छलफलमा आरक्षणमार्फत् केही पद सुनिश्चित भए पनि नेतृत्वका लागि पर्याप्त नहुने भएकोले खुला प्रतिस्पर्धामा उत्रनुपर्ने आवाज उठेको छ।

‘महिलालाई आरक्षणको व्यवस्था गरे पनि त्यो पर्याप्त होइन। प्रमुख पदहरूमा महिलाहरू खुला प्रतिस्पर्धामा उत्रनुपर्छ,’ महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले भनिन्।

कांग्रेसको विधानअनुसार केन्द्र र प्रदेश कार्यसमितिमा सहमहामन्त्री महिला हुनुपर्ने व्यवस्था छ। जिल्ला तथा पार्टीका अन्य संरचनाका कार्यसमितिमा यस्तो आरक्षण दिइएको छैन।

पार्टीमा काम गरेका महिलालाई सक्रिय सदस्यता दिइएको छ कि छैन भन्नेबारे महिला संघले अनुगमन गर्ने तयारी गरेको छ।

‘पार्टीमा लामो समयदेखि काम गरिरहेका साथीहरूले क्रियाशील सदस्यता पाए कि पाएनन् भन्ने हामी अनुगमन गरछौं,’ महिला संघकी अध्यक्ष उमा रेग्मीले भनिन्, ‘कूल क्रियाशील संख्याको ३३ प्रतिशत महिला पुगे/नपुगेको हामी हेर्छौं।’

छलफलका सहभागीले महाधिवेशन अगाडि नै केन्द्रदेखि तल्ला तहसम्म थप सिट सुनिश्चित गर्न दवाव दिनुपर्ने धारणा राखेका थिए। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*