देवेन्द्र बस्नेत
दाङ, १२ साउन
केहिदिन अघि पारिवारीक भेटघाटका लागि घोराही आएका बाँके खासकुश्माका ऋषि डाँगीको पेट वुधवार बिहान एकाएक दुख्यो । दुखाई बढ्दै जान थाल्यो, केहिबेर पछि उनि उठ्न बस्नै नसक्ने भए । सकि नसकि उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल पुगे । बिरामीको लामो चाप । सकि नसकिन लाईनमा उभिएर झण्डै एक घण्टा पछि उपचारको पालो पाए । चिकित्सकले उनको भिडियो एक्सरे गर्नु पर्ने भने । उनका भाई भिडियो एक्सरेका लागि ‘पर्चा’ काट्ने ठाउँ पुगे । तर त्यहाँ भिडियो एक्सरेका लागि पर्चा दिईएन । त्यहाँ रहेकी एक महिला कर्मचारीले भनिन् ‘आजका लागि कोटा पुगिसक्यो,भोली आउनु ।’ भिडियो एक्सरे कहाँ गर्ने ? उनिहरु अलमलमा परे ।
अस्पतालको अघिल्तरको भागमा दुखाईले रन्थनीएका ऋषि सिधा उभिन सकेका थिएनन् । विहान १० बजे तिरै अस्पतालमा उपचार लिन पुगेका उनले दिउँसो दुईबजे सम्म उपचार पाएनन्, तर अस्पतालकै आँगनमा दुखाई सहि रहेका थिए । ‘अस्पतालले आज हुँदैन भनेर भनिदिएपछि हामीहरुले केहि बाटो भेटाउनै सकेनौ,’ ऋषिका भाई निमप्रकासले भने ‘दुखाईले उभिनै बस्नै नसक्ने अवस्था भएको बिरामीलाई त्यत्तिकै घर फर्काउनु पनि भएन ।’
भिडियो एक्सरे सेवाका सम्वन्धमा जानकारी लिन खोज्दा भिडियो एक्सरेको पर्चा पाईने कक्षमा रहेकी महिला कर्मचारीले नागरिकसंग पनि उस्तै जवाफ दोहोर्याईन् ‘आजका लागि कोटा पुगिसक्यो,अब भिडियो एक्सरे भोली मात्रै हुन्छ ’ । ति कर्मचारीका अनुसार यो अस्पतालले दिनमा ३० जनाको मात्रै भिडियो एक्सरे गर्छ । ३० भन्दा बढि एकजनाको पनि भिडियो एक्सरे हुँदैन । यसो किन ? ति महिला बोलिन् ‘प्रशासनमा गएर सोध्नुस्,हामीहरुलाई यहि निर्देशन छ ।’
यसबारे बुझ्न खोज्दा अस्पतालका मेडिकल निमित्त सुपरिटेण्डेन्टले भने ‘१९ नम्बर कक्षामा जानुस् म डाक्टरलाई पठार्ईदिन्छु ।’ यो कक्ष रित्तो थियो, केहिबेर पछि मात्रै डा.गोपाल खनाल आईपुगे । उनि पनि भन्दै थिए ‘अलि चाँडै किन नआको ?’ ऋषिको भिडियो एक्सरे गरेपश्चात डा. खनाल उतिखेरै आफ्नो कक्षबाट बाहिरिए । त्यहाँ रहेकी एक महिला कर्मचारी भन्दै थिईन् ‘अब डाक्टर साप आउनु हुन्न ।’
दाङ स्थित राप्ती उपक्षेत्रीय अस्पताल । जुन अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नती गर्न सरकारले प्रकृया थालिरहेको छ । तर स्वास्थ्य सेवाको अवस्था भने निकै नाजुक छ । उपचारका लागि आउने बिरामीहरुको उपचारमा अस्पतालबाटै चरम लापरवाही भैरहेको छ । बुधवारकै घटनालाई हेर्ने हो भनेपनि एक्सरे गर्नका लागि ‘कोटा सिस्टम’ लागु गरिनु कहाँ सम्मको सहज उपचार सेवा हो ?
वुधवार अस्पतालमा भेटिएको यो प्रतिनीधिमुलक घटना हो । समयमै भिडियो एक्सरे नहुँदा एक बिरामीले जयानै गुमाउनु परेको घटना पनि यहिँ छ । उक्त घटनालाई नजिक बाट बुझेका नागरिकसमाज दाङका संयोजक चन्द्रराज पन्तले भने ‘भिडियो एक्सरे भएन, अनि अनुमानकै आधारमा औषधि चढाउँदा असर बढि भैदियो ।’ त्यो बेला ति बिरामीको भिडियो एक्सरे गर्नुपर्ने भनियो । तर अस्पतालले भिडियो एक्सरेका लागि प्राविधीक समस्या देखायो । ‘यो घटना पछि मेरो अस्पताल प्रशासनसंग विवाद पनि भयो,’पन्त भन्छनन् ‘यो सबै अस्पताल प्रशासनको चरम लापरवाहीले हुँदै आएको छ ।’
उपचार नपाएर ब्यथा च्यापेरै अस्पतालमा अलपत्र पर्ने बिरामीहरुको कहिल्यै कमी हुँदैनन् । वुधवार पनि भिडियो एक्सरे सेवा नपाउँदा धेरै बिरामीहरु निराश देखिन्थे । ‘डाक्टरले भिडियो एक्सरे गर्न भन्छन्,यहाँ गरिदिन्नन्,’अर्का एक बिरामी भन्दै थिए ‘तीस जना भन्दा पछि आउने सबै बिरामीहरु उपचारै नपाएर मर्ने अवस्था छ ।’
ति बिरामी जस्तै अस्पतालकै एक कर्मचारी अस्पतालको सेवा सुविधाका बारेमा ‘उदेक’ थिए । उनि भन्दै थिए ‘तीस जना भन्दा पछि आउने ३१ ऋौँ बिरामी भिडियो एक्सरे नपाएरै मर्ने अवस्था आउन सक्छ ।’ उनले यसो हुनुको कारण चिकित्सव अभाव रहेको आँफूले सुनेको पनि बताए । उनका अनुसार पहिला भिडियो एक्सरेका लागि दुईजना चिकित्सक थिए । तर अहिले एकजना मात्रै छन् । हाल रहेका एकजना चिकित्सकले ‘नभ्याउने’ भएका कारण भिडियो एक्सरेका लागि सिमित कोटा निर्धारण गरिएको हो । ‘एकजना डाक्टर मात्रै भएको र उहाँले सबै बिरामीको भिडियो एक्सरे गर्न नसक्ने भएकाले तीस,बत्तिस जना बिरामीलाई मात्रै हेर्ने भन्ने कुरा भएको भनेर सुनेका छौँ,’ति कर्मचारीले नाम नखुलाउने सर्तमा भने ‘तीस भन्दा पछि आउने बिरामीहरु भिडियो एक्सरेकै लागि अर्को दिन कुर्ने वा नीजि क्लिनीकमा जानु पर्ने वाध्यता छ ।’
अँझ अचम्मको कुरा त, नीजि क्लिनीकमा भिडियो एक्सरे गर्ने डाक्टर उनै हुन्, जसले राप्ती उपक्षेत्रीय अस्पतालमै उपचार गर्नुपर्ने हो । भिडियो एक्सरे गर्ने कक्षमा भेटिएकी एक महिला कर्मचारीले सिमित कोटा अनुसार बिरामीको एक्सरे गर्ने गरिएको भन्दै त्यसपछिको समयमा भिडियो एक्सरे सेवा पाईने भनेको बाहिर रहेको एक नीजि क्लिनीकै हो । एक नीजि क्लिनीकको नाम लिँदै उनले भनिन् ‘यहाँ भिडियो एक्सरे सकेर डाक्टरसाप त्यहाँ जानु हुन्छ,तीस जना भन्दा बढि बिरामी यहाँ भिडियो एक्सरेका लागि कहिल्यै आउँदैनन् ।’
भिडियो एक्सरे सेवाका सम्वन्धमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जनार्दन पन्थीले कोटा भन्दा बढि आउने बिरामीहरु यात अर्को दिन आउनु पर्ने यात बाहिर नीजि क्लिनीकमा जाानु पर्ने भन्दै सहजढंगले जवाफ दिए । उनले यसको कारण खुलाउँदै भने ‘डाक्टरलाई ओभर चाप भयो ।’ उनले भनेअनुसार भिडियो एक्सरे सेवाका लागि अहिले एकजना मात्रै डाक्टर छन् । एकजनालाई धेरै बिरामी हेर्न निकै गाह्रो भैरहेको छ । ‘एकजना बिरामीको भिडियो एक्सरे गर्न कम्तीमा १० मिनट लागिहाल्छ,’पन्थीले भने ‘एकैजनाले धेरै जना बिरामीलाई हेर्न त मुश्किल भैहाल्छ नि ।’ यो समस्या तत्काल निराकरण गर्न अस्पतालले चासो देखाएको पनि छैन । निमित्त मेसु डा. पन्थीले भनेअनुसार यो समस्या अँझै ६ महिना यथावतै रहने छ । ‘अब धेरै समय सम्म यो समस्या रहन्न,अबको चार÷छ महिना मात्रै हो,’उनले भने ‘म दरबन्दी थप्ने योजनामा छु ।’
त्यसोत, यो अस्पतालमा प्रभावकारी उपचार सेवा पाईँदैन भन्ने बुझाई धेरै लामो समय देखि जरा गाडेरै बसेको छ । ‘अस्पताल व्यवस्थापन पक्षको चरम लापरवाहीले यो अस्पतालले कहिल्यै राम्रो सेवा दिन सकेन,’नागरिकसमाजका सचिव पन्त भन्छन् ‘सबै भन्दा पहिला अस्पतालको आन्तरिक व्यवस्थापन गर्ने साहस देखाउन सक्नु पर्छ ।’ भिडियो एक्सरे जस्तो सम्वेदनशिल बिषयमा समेत गरिएको लापरवाहीले बिरामीको ज्यान माथिनै खेलवाड भैरहेको उनको दाबी छ । ‘तीस भन्दा ३१ बिरामी के उपचार नपाएर मर्ने ?’ पन्तले थपे ‘सिकिस्त बिरामीले त्यहि दिन भिडियो एक्सरे सेवा पाएन भने उसको हालत के हुन्छ ?’ त्यसोत, भिडियो एक्सरेका लागि टाठाबाठाहरुले बाहिर नीजि क्लिनीकमा सेवा लिन सक्ने भएपनि केहि बिरामीहरु अस्पतालकै मात्रै भरमा परिरहेका समेत हुन्छन् । विशेषगरि भिडियो एक्सरेको सेवा थाहा नहुने बिरामीहरुलाई यसले अत्यधिक समस्या पार्ने गरेको छ ।