Home / Feature Breaking news / अधिकांशले बुझाएनन् दाङमा निर्वाचन खर्च विवरण

अधिकांशले बुझाएनन् दाङमा निर्वाचन खर्च विवरण

विमला घर्ती
घोराही, १२ साउन
स्थानीय तह निर्वाचनको मतगणना सकिएको एक महिनाभित्र खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्थालाई दाङका राजनीतिक दलहरुले वेवास्ता गरेका छन् । चुनावमा भाग लिने अधिकांश उम्मेदवारहरुले अहिलेसम्म पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बिजयकुमार कार्कीले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको एक महिना भित्र उम्मेद्धवारहरुले चुनावी खर्च विवरण जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनुपर्ने भए पनि धेरै उम्मेद्धवारहरुले आफ्नो खर्च विवरण पेस गरेका छैनन् । दाङ जिल्लामा अन्तिम मतपरिणाम सार्वजनिक भएको २० दिनमा २९ जनाले खर्च विवरण बुझाएका छन् । दोस्रो चरणमा भएको निर्वाचनमा जिल्लामा दुई हजार तीन सय ८२ जना चुनावी मैदानमा उत्रिएका थिए । उक्त संख्याका उम्मेद्धवार चुवावी प्रतिस्पर्धामा भए पनि हालसम्म २९ जनाले मात्र चुनावको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
घोराही र तुलसीपुर उपमहानगरपालिका सहित लमही नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरुले खर्च विवरण बुझाएका छैनन् । विजयी एवं पराजित सबैले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयको भनाई छ बबइ गाउँपालिका तथा बंगलाचुली गाउँपालिकाकाको केही वडा अध्यक्ष तथा सदस्यहरुले मात्र खर्च विवरण प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ ।
चुनावको खर्च विवरण बुझाउने समय सकिन केही दिन बाँकी रहदा अधिकांशले खर्च बुझाउन बाँकी रहेको छ । जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्कीले समयमै निर्वाचन खर्च विवरण बुझाउन निर्वाचनमा भाग लिएका विजयी तथा पराजित उम्मेद्धवारहरुलाई आग्रह गर्नुभएको छ । कानुनी व्यवस्थालाई पालना गर्न समयमै विवरण बुझाउन उहाँले आग्रह गर्नुभएको हो । खर्च विवरण नबुझाउनेहरुलाई आयोगले कारवाही गर्ने व्यवस्था भएको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*