Home / Feature Breaking news / अनुदानको धानको बीउ पाउन कृषकलाई सकस

अनुदानको धानको बीउ पाउन कृषकलाई सकस

अमरराज आचार्य

दाङ, २५ जेठ । कृषकहरुलाई अनुदानको धानको बीउ पाउन सकस भएको छ । जिल्लाका केही स्थानीय तहका कृषकहरुले अनुदानमा धानको बीउ पाएका छन भने केही स्थानीय तहका कृषकहरुले धानको बीउ पाउन सकेका छैनन् । अनुदानमा उन्नत धानको बीउ नपाउने स्थानीय तहले धानको बीउको खरिदमा समस्या हँुदा वितरण हुन नसकेको बताएका छन् ।

स्थानीय तहहरुले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ प्रदान गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका कृषकहरुले यस वर्ष अनुदानमा धानको बीउ पाउन नसकेका हुन् । धान खरिद हुन नसक्दा अनुदानमा धानको बीउ वितरण हुन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अधिकृत धनराज गौतमले बताए । धान खरिदका लागि उपमहानगरपालिकाले गएको बैशाखमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । कसैबाट पनि निवेदन आउन नसकेको कारण धान खरिद हुन नसकेको जनाएको छ ।

उपमहानगरपालिकाले जिल्ला बीउबिजन समन्वय समितिले निर्धारण गरेको मूल्यमा उन्नत धानको बीउ खरिदको लागि सूचना प्रकाशित गरेको थियो तर त्यस मूल्यमा धान दिनको लागि कसैले पनि निवेदन नदिएको गौतम बताउँछन् । जिल्ला बीउ बिजन समन्वय समितिले उन्नत धानको बीउको मूल्य ७० रुपैयाँ तोकेको थियो । समन्वय समितिले तोकेको भन्दा बढी करिब १ सय रुपैयाँसम्ममा बिक्री गर्न पाएपछि कृषकहरुलाई बिक्री गर्ने गरेको बताइएको छ । ‘आफ्नो क्षेत्रमा धानको बीउको स्रोत छैन, बाहिरबाट ल्याउनुपर्ने वाध्यता रहेको छ त्यसैले पनि समस्या भएको हो’, उनले भने ।

कोभिड–१९ को कारण गरिएको लकडाउनको कारणले पनि थप समस्या भएको उनको भनाइ छ । आउँदो वर्षदेखि उपमहानगरपालिकामा आफ्नै धानको बीउको स्रोत हुने गौतको भनाइ छ । लामो सययको प्रयासपछि बीउको स्रोत केन्द्र बनाउन थालिएको उनी बताउँछन् । अघिल्लो वर्ष उन्नन जात धानको बीउ वितरण गरेका कारण यस वर्ष कृषकहरुको त्यति धेरै माग नरहेको उनको भनाइ रहेको छ । एक वर्ष रोपेको उन्नत बीउ ३÷४ वर्षसम्म लगाउन सकिने कृषि विज्ञहरु बताउँछन् । उपमहानगरपालिकाले बाहिरबाट आउनेलाई प्रतिस्थापन गर्ने नीति ल्याएको गौतम बताउँछन् । त्यसै अनुसार उपमहानगरपालिका अगाडि बढेको उनको भनाइ रहेको छ ।

यता घोराही उपमहानगरपालिकाले ६१.५ क्वीन्टल उन्नत जातको धानको बीउ वितरण गरेको जनाएको छ । कृषकहरुलाई एक महिनाको समय दिएर माग संकलन गरेर त्यसैअनुसार धानको बीउ खरिद गरेर वितरण गरिसकिएको घोराही उपमहानगरपालिकाका कृषि शाखा प्रमुख चोपनारायण खनालले बताए । उपमहानगरपालिकाभित्र नै स्रोत केन्द्र रहेकाले धानको बीउ खरिदमा समस्या नभएको उनको भनाइ छ ।

घोराहीमा धान खरिदका लागि २ लाख ४० हजार बजेट रहेको कृषि शाखा प्रमुख खनाल बताउँछन् । लमही नगरपालिकाले पनि धानको बीउ खरिद गरेर कृषकलाई वितरण गरेको जनाएको छ । लमही नगरपालिकाका कृषि शाखा प्रमुख अमरकुमार चौधरीले कृषलाई अनुदानमा धानको बीउ वितरण गरिसकिएको बताए । नगरपालिकाले १ हजार ७ सय ३८ केजी वितरण गरिएको उनको भनाइ रहेको छ । नगर क्षेत्रमा रहेका धान उत्पादन सहकारीमार्फत खरिद गरेर वितरण गरिएको थियो । आफ्नै क्षेत्रमा स्रोत केन्द्र भएका कारण खरिद गर्न समस्या नभएको उनी बताउँछन् ।

अनुदानमा धान वितरणका लागि नगरपालिकाले १ लाख ५० हजार बजेट छुट्याएको चौधरी बताउँछन् । ‘कृषकहरुमा उन्नत जातभन्दा पनि हाइबे्रड धानतर्फ जोड रहेको छ’, उनले भने । जिल्लामा दशवटा पालिका छन् । तीमध्ये केही पालिकाले अनुदानमा बीउ दिएका छन् भने केही पालिकाले यो पटक उपलब्ध गराउन नसकेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*