Home / Feature Breaking news / गाउँपालिकालाई चिनाउन ‘बंगलाचुली पार्क’

गाउँपालिकालाई चिनाउन ‘बंगलाचुली पार्क’

दाङ, २३ जेठ । कुनै समय सुक्खा र उजाड पहाडका रूपमा रहेको बंगलाचुली पहाड पछिल्लो समय पार्कका रूपमा विकास हुँदै गएको छ । बंगलाचुली गाउँपलिका वडा नं. ५ को मुर्कुटी बजारदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले केही वर्ष अघि सुक्खा डाँडाको रूपमा रहेको उक्त पहाड अहिले बंगलाचुली पार्कका रुपमा विकास भइरहेको छ ।

करिब दुई सय ५० रोपनी क्षेत्र रहेको उक्त ठाउँमा अहिलेसम्म विभिन्न भौतिक संरचनाहरु निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च भएको छ । समुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाउँलाई गाउँपालिकाकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि अहिलेसम्म भ्यू–टावर, प्रतीक्षालय, नाँचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र उक्त क्षेत्रमा हिडडुल गर्नका लागि पक्की बाटोलगायतका विभिन्न संरचनाहरु निर्माण गरिएको छ ।

बंगलाचुली पार्कलाई थप आकर्षक बनाउनका लागि पिक स्पोर्ट, खेल मैदान, मन्दिर, विवाह मण्डपलगायतका अन्य थुप्रै संरचनाहरु निर्माण गर्न बाँकी रहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । उनका अनुसार २०६४÷०६५ साल बंगलाचुली पर्यटकीय क्षेत्र पूर्वाधार समिति गठन गरेर उक्त क्षेत्रको विकासका लागि काम सुरु गरिएको हो ।

सुरुमा उक्त क्षेत्रलाई विकास गर्न सरोकारवाला निकायले चासो नदिँदा पछाडि पर्दै आएको गाउँपालिका अध्यक्ष वलीले बताए । ‘यो पहाड यस क्षेत्रकै अग्लो भएको र सफा मौसम भएको समयमा नेपालको दक्षिणी क्षेत्रमा रहेका अग्ला हिमालहरुको दृश्यअवलोकन गर्न सकिने भएकाले यस ठाउँलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न स्थानीय लागेका थिए तर बजेट अभावका कारण विकास गर्न सकेका थिएनन्’–गाउँपालिका अध्यक्ष वलीले भने–‘तर अहिले प्रदेश सरकार र स्थानीयका रूपमा गाउँपालिकाले बंगलाचुली पार्कको विकासमा बजेट राख्न थालेपछि अहिले विकसित हुँदै गएको छ ।’

अध्यक्ष वलीले अहिले प्रारम्भिक चरणको मात्र विकास भएको बताए । ‘अहिले पार्कको प्रारम्भिक चरणको विकासको काम भएको छ, अझै धेरै कामहरु हुन बाँकी नै छन्’–अध्यक्ष वलीले भने–‘सबै संरचनाहरु निर्माण भएपछि यो नमुना पर्यटकीय केन्द्रका रुपमा विकास हुनेछ ।’ उनकाअनुसार यस क्षेत्रको पूर्वाधार विकासका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय ५० लाख रुपैयाँ खर्च गरेर गत वर्ष धेरै काम गरेको बताए । त्यस्तै यस वर्ष पनि कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको र अन्य संरचना निर्माणको काम भइरहेको बताए ।

यसैगरी उक्त ठाउँको पर्यटकीय विकासका लागि गाउँपालिकाले करिब २० लाख रुपैयाँ र पर्यटन बोर्ड भइरहवाले तीन वर्ष अघि सुरुमा पाँच लाख रुपैयाँ खर्च गरेर भ्यू टावर निर्माणको सुरुवात गरेको समेत बताए । ‘बंगलाचुली पहाडलाई बंगलाचुली पार्कका रुपमा विकास गर्न २०६४÷०६५ सालदेखि सुरु भए पनि, बजेट अभावका कारण हुनसकेको थिएन’–उनले भने–‘पछि जनप्रतिनिधिहरु निर्वाचित भएपछि प्रदेशसँगै पालिका र वडाले समेत यस क्षेत्रको विकासका लागि पहल बजेट विनियोजन गर्न थालेपछि विकास हुँदै गएको छ ।’

बंगलाचुली पार्कको पर्यटकीय विकासले यस क्षेत्रको समग्र विकासका लागि भूमिका खेल्ने बंगलाचुली गाउँपालिका वडा नं. ५ का अध्यक्ष एनुराज खत्रीले बताए । उनले सामन्य पहाडको डाँडालाई पर्यटकीय रुपमा विकास गर्नका लागि विभिन्न संरचनाहरु निर्माण गर्दा अहिले आकर्षणको केन्द्र बन्दै गएको बताए ।

‘बंलाचुली पहाडलाई पार्कका रूपमा विकास गर्नका लागि प्रदेश सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेर विभिन्न संरचना निर्माण गर्ने काम भइरहेको छ’–वडा अध्यक्ष खत्रीले भने–‘विभिन्न संरचना निर्माणले थप आकर्षक बनाउने छ ।’ पार्कलाई थप आकर्षक बनाउनका लागि हिड्ने बाटोमा रेलिङ राख्ने, विभिन्न प्रकारका विरूवा रोपिने समेत भएको छ । बंगलाचुली पार्क घोराहीदेखि ३२ किलोमिटरको दूरीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*