Home / Feature Breaking news / कुटपिटको विरोधमा भेरी अस्पतालमा प्रदर्शन

कुटपिटको विरोधमा भेरी अस्पतालमा प्रदर्शन

कोरोना संक्रमित बिरामीको मृत्युपछि आफन्तहरूले डाक्टर र नर्समाथि कुटपिट गरेको विरोधमा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रदर्शन भएको छ।
डाक्टर र नर्सलगायतले आज बिहानैदेखि कुटपिटमा संलग्नलाई कडा कारवाही माग गर्दै प्रदर्शन गरेका छन्।

उनीहरूले सुरक्षा नहुने हो भने काम गर्न नसकिने बताएका छन्।

‘हामी न्याय चाहन्छौं, दोषीलाई कारवाही गर्,’ उनीहरूले भनेका छन्।

मुख्यमन्त्री शंकर पोखरेल, प्रहरी र प्रशासन घटनाबारे छानविन गर्न गम्भीर हुनुपर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने स्वास्थ्यकर्मीको माग छ।

उनीहरूले हातमा प्लेकार्ड लिएर ‘अब त अति भो, स्वास्थ्यकर्मी कुट्न पाइँदैन’ भन्ने नारासहित प्रदर्शन गरेका छन्।

घटनाबारे निष्पक्ष छानविन गर्ने मुख्यमन्त्री पोखरेलले बताएका छन्। स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना हुनु दुस्खद भएको उनको भनाइ छ।

घटनाबारे छानविन गरी दोषीलाई कडा कारवाही गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि माग गरेका छन्।
कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई आइसियू कक्षमै कुटपिट र अस्पताल तोडफोड भएको घटनाको आलोचनासमेत भइरहेको छ।
बिहीबार बेलुकी ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए।

घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई कोरोना देखिएको थियो।

उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*