Home / Feature Breaking news / तुलसीपुरचोकमा सडकको चौडाइ घटाएर कालोपत्रे

तुलसीपुरचोकमा सडकको चौडाइ घटाएर कालोपत्रे

दाङ, ९ चैत । दाङमा लामो समयदेखि कालोपत्रे हुन नसकेको घोराही बजारको मुख्य सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । जग्गा विवादका कारण घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही बजारमै करिब ५ बर्षदेखि अलपत्र परेको सडक पिच गर्ने काम सुरु भएको हो ।

दाङ जिल्लाको केन्द्रका रुपमा रहेको घोराहीकै मुख्यचोकमा रहेको सडक करिब आधा दशकदेखि निर्माण नहुँदा व्यापक जनगुनासो बढेको थियो । सडक कालोपत्रे नहुँदा पानी नपर्दा धुलो र पानी पर्दा स्थानीयले हिलोको समस्या भोग्न थालेपछि जनगुनासो बढ्दै गएको थियो । धेरै जनगुनासो बढेपछि तत्कालका लागि सडकको करिब सात मिटर चौडाई घटाएर सडक पिच गर्ने काम सुरु गरिएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिएका छन् ।

‘जग्गा विवादका कारण सडक कालोपत्रे गर्ने काम लामो समयदेखि हुन सकेको थिएन’, सूचना अधिकारी सुवेदीले भने– ‘मुख्य सडक नै अस्तव्यस्त बन्दा, धेरै जनगुनासो आएपछि अहिले सडकको चौडाई घटाएर सडक पिच गर्ने काम सुरु गरेका हौं ।’ जसअन्तर्गत घोराही बजारको मुख्यचोकदेखि तुलसीपुर जाने सडकको दायाँतिरको १ सय ७१ मिटर सडक कालोपत्रे गर्नका लागि वेष्टर्न डेभलपमेन्ट कन्ट्रक्सन प्रालिलाई ठेक्का दिइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

करिब १७ लाख रुपैयाँमा फागुन महिनाभित्रै सडकको दायाँतर्फ बाँकी रहेको काम सक्ने गरी सम्झौता भएको कार्यालयका सूचना अधिकारी सुवेदीले बताए । बाँकी रहेको सडकको बायाँतर्फको काम भने पूर्व सम्झौता अनुसार बिजय बिल्डर्स निर्माण सेवाले गर्ने भएको छ । त्यहीअनुसार कामलाई अघि बढाइएको उनले बताए । ‘सडकको भाग धेरै पनि होइन, जग्गा विवादका कारण १७१ मिटर सडक विस्तार गर्दै कालोपत्रे गर्ने काम लामो समयदेखि हुन सकेको थिएन’, सूचना अधिकारी सुवेदीले भने– ‘अहिले विस्तार गर्नुपर्ने सडकको भागलाई घटाएर साढे ८ मिटरमा पिच गर्न थालिएको छ ।’

सडक निर्माणको काम चैत २० गतेभित्रै सक्ने सडक निर्माणको काम गर्न थालेको वेष्टर्न डेभलपमेन्ट कन्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक कृष्ण वलीले जानकारी दिएका छन् । ‘लामो समयदेखि अलपत्र रहेको सडक निर्माणको काम सुरु गरेका छौं’, प्रबन्ध निर्देशक वलीले भने– ‘निर्माणमा कुनै अवरोध नभए निर्धारित समयमै सडक कालोपत्रे गर्ने काम सक्ने छौं ।’ उनले योसँगै यसअघि आफ्नो निर्माण कम्पनीले लामो समयदेखि बिग्रिएको घोराही मुख्यचोकसँगै न्यूरोडसमेत कालोपत्रे गर्ने काम गरेको थियो ।

आर्थिक बर्ष ०७२÷७३ मा साविकको सडकलाई विस्तार गर्दै ३० मिटर चौडाई पु¥याएर कालोपत्रे गर्ने क्रममा जग्गाधनी स्व. सावर्नीबहादुर बस्नेतले २०७३ साल वैशाखमा अदालतमा मुद्दा हालेपछि १८ महिनामा सक्नुपर्ने काम अहिलेसम्म पूरा हुन सकेको थिएन । उनले मुद्दा दर्ता गरेको १५ महिनापछि २०७३ भदौको २८ गते अदालतले सडक विस्तारको काम भइरहेको जग्गा बस्नेतको नाममा रहेको भन्दै सडक निर्माणको काम नगर्नु÷नगराउनु भन्ने आदेश गरेको थियो । अदालतको आदेश अनुसार अझै सडक निर्माण पूरा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*