Home / Feature Breaking news / ‘च्यातिएको जिन्स’ बारे भारतमा किन चर्किदैछ बहस ?

‘च्यातिएको जिन्स’ बारे भारतमा किन चर्किदैछ बहस ?

भारतको पुरुष प्रधान समाजमा आलोचित भइरहने पहिरन ‘जिन्स’ यतिबेला फेरि समाचारमा आएको छ । युवाहरुको नैतिकता गिराउने आरोप खेप्दै आएको जिन्स र अझ बढी दुश्प्रचार हुने ‘रिप्ड जिन्स’ अर्थात् च्यातिएको या फाटेको जिन्स पाइन्ट अहिले भारतभर बहसको विषय बनेको छ ।

गतहप्ता उत्तराखण्ड प्रदेशका नवनियुक्त मुख्यमन्त्री तिरथ सिंह रावतले युवाहरुको सबै गलत व्यवहारका लागि तिनको ‘च्यातिएको जिन्स’ जिम्मेवार भएको बताएपछि नै यसबारे विवाद चर्किएको छ ।

बाल अधिकारको सुरक्षा सम्बन्धी एक ‘वर्कसप’मा बोल्दै गर्दा उनले आफूले विमानमा भेटेकी एक अपरिचित महिलाको आलोचना गर्दै त्यसो भनेका थिए । उनका अनुसार ती महिला आफ्ना दुई छोराछोरीसँग यात्रा गरिरहेकी थिइन् र ‘बुट्स अनि च्यात्तिएको घूँडा देखिने जिन्स लगाएकी थिइन् भने उनका हातैभरि ‘ब्रेसलेट’ थियो ।

उनले प्रश्न गर्दै भनेका हुन्, “तपाईँ घूँडामा च्यातिएको जिन्स लगाएर एनजीओ चलाउनुहुन्छ अनि समाजमा त्यसरी नै हिँड्नुहुन्छ ।

त्यहाँ बच्चाहरुले पनि हेरिरहेका हुन्छन्, अनि त्यसले हाम्रो मूल्य मान्यताबारे उनीहरुलाई के सिकाउँछ होला ? यति मात्र नभइ भाजपाका नेता रावतले त्यस्तो कपडा नैतिक अशान्ति पैदा गर्ने बाटो भएको बताउँदै छोरीहरुलाई यस्ता पहिरन लगाउन दिने अभिभावकको समेत आलोचना गरेका छन् ।

यसपछि उनले सबै भारतीयलाई लक्षित गर्दै ‘नग्नता’ तर्फ दौडिरहेको गुनासो गरे । भारतमा सबैले च्यातिएको जिन्स लगाइरहँदा बाहिर चाहिँ मानिसहरुले शरीर राम्ररी ढाक्न थालेको र योग गरिरहेको उनले भनेका हुन् ।

उनका यिनै भनाइ सार्वजनिक हुनासाथ देशव्यापी रुपमा आक्रोश र आलोचना सुरु भएको हो । विपक्षी पार्टी, कांग्रेसले त बयान नै जारी गर्दै उनलाई कि सम्पूर्ण भारतीय महिलासमक्ष माफी माग्न या पदबाटै राजीनामा दिन माग गरेको छ ।

पार्टीकी वरिष्ठ नेता प्रियंका गान्धीले चाहिँ मोदीको क्याबिनेटका एक सहकर्मीले ‘घूँडा देखाएको’ तस्बिर सेयर गर्दै व्यंग्यात्मक शैलीमा विरोध जनाएकी हुन् । महिलाका लागि दिल्ली कमिसनकी प्रमुख, स्वाती मलिवालले पनि ट्विट गर्दै रावतले स्त्री जातिविरुद्ध भ्रामक प्रचार फैलाइरहेको आरोप लगाएकी छन् । मलिवालले यसमा रावतले भनेका कुरा भन्दा पनि उनको बोल्ने तरिका समस्याजनक भएको बताइन् । उनका अनुसार रावतले महिलालाई अनुचित रुपमा माथिदेखि तलसम्म हेर्ने गरेको यसै मार्फत स्वीकार गरेका छन् ।

रावतको अभिव्यक्तिपछि भारतभरबाट महिलाहरुले च्यातिएको जिन्स लगाएका तस्बिरहरु ट्विटरमा शेयर गरेका हुन् । ‘रिप्ड जिन्स’ भन्ने ह्यासट्याग ट्वीटरमा घण्टौँ ट्रेन्डिङमा रहेको थियो । धेरै मानिसहरुले रावतलाई ट्याग गर्दै उनलाई अन्य बढी महत्वपूर्ण विषय जस्तै ‘खस्कदो अर्थतन्त्र’ र ‘महिला सुरक्षा’ बारे बढी चिन्ता गर्न सुझाव दिएका हुन् ।

यसरी चारैतिरबाट गालीगलौज आएपछि शुक्रबार रावतले माफी मागेका थिए र आफ्नो बोलीले कसैको चित्त दुखेको भएमा क्षमा गर्न भनेका हुन् । आफ्नो उद्देश्य कसैको अपमान गर्नु नभएको र सबै मानिस आफ्नो रोजाइको लुगा लगाउन स्वतन्त्र भएको उनले बताए ।

तर भारतमा महिलाहरुको पहिरनबारे नकारात्मक टिप्पणी गर्ने उनी एक मात्र नेता भने होइनन् । पाँच वर्ष अगाडि त्यहाँ संस्कृति मन्त्रीले नै पर्यटकहरुलाई विमानस्थलमा भारत प्रवेश गरिसकेपछि स्कर्ट या छोटो कपडाहरु नलगाउन र सहरमा रातिको समय एक्लै नहिँड्न सुझाव दिएका थिए । उनले यसमा महिलाहरुको पहिरनका कारण बलात्कार र यौन हिंसा हुने उदाहरणसमेत दिएका थिए जसको त्यस समय ठूलै विरोध भएको थियो ।

त्यस्तै २०१४ मा अर्का लेजेन्डरी गायक केजे येसुदासले पनि महिलाहरुले जिन्स लगाउनु भारतीय संस्कृतिको विरुद्धमा भएको र त्यसले अनुचित व्यवहारलाई उक्साउने बताएका थिए । यसरी महिलाहरुको पहिरन सम्बन्धी बन्देज लगाउने चलन विशेषगरी ग्रामीण क्षेत्रमा अझैसम्म पनि प्रचलित छ । गत हप्ता नै उत्तर प्रदेशमा गाउँका पञ्चायत प्रमुखले जिन्स या स्कर्ट लगाउने महिला अनि छोटो पाइन्ट लगाउने पुरुष दुवैलाई समाजबाट बहिस्कार गरिने बताएका थिए ।

२०१४ मा भारतभरका ४६ गाउँका जेष्ठहरुबीच भएको बैठकमा महिलाहरुलाई जिन्स लगाउन र मोबाइल फोन प्रयोग गर्न निषेध गरिने घोषणा भएको थियो । यसको तीन वर्षपछि हरियाणा र राजस्थानमा पनि महिलाहरुलाई फोन बोक्न र जिन्स लगाउनबाट प्रतिबन्धित गरिएको हो ।

भारतमा जिन्सको लोकप्रियता १९८० को दशकपछि बढ्न पुगेको हो । र समय बित्दै जाँदा अधिकांश युवाहरुका लागि यो नै सबैभन्दा सहज पहिरन छनोट बनेको छ । हाल भारतको जिन्स बजार झन्डै ४ अर्ब डलर बराबरको रहेको छ जुन २०२८ सम्ममा बढेर १२.६ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ । यसमा पनि पछिल्ला केही वर्ष ‘रिप्ड जिन्स’ या च्यातिएको जिन्सले अचानक ठूलो स्तरमा लोकप्रियता हासिल गरेको छ । जसलाई आज बलिउड सेलिब्रेटीदेखि आम सर्वसाधारण सबैले लगाउँछन् । यसले विशेषगरी दुई पीढीबीचको फरक दृष्टिकोण प्रस्तुत गर्दै आएको फेशन डिजाइनर आनन्द भुषण बताउँछन् ।

उनले भने, “युवाका लागि जिन्स भनेको कुल, हिप देखिने फेशनेबल माध्यम हो तर तिनका अभिभावक र हजुरबुवाआमाले छोराछोरीले किन त्यस्तो च्यातिएको लुगा लगाउँछन् भन्ने बुझ्दैनन् ।”

तापनि बाबुआमाले छोराछोरीको पहिरनबारे गुनसो गर्नु र सार्वजानिक निकायले नै सो पहिरन सामाजिक रुपमा अनुचित भएको दोष लगाउनुबीच धेरै ठूलो फरक भएको भुषणले बताए ।

उनले थप भने, “यो केबल महिलाहरुलाई नियन्त्रणमा राख्ने प्रयास मात्र हो । यस्ता पुरुषप्रधान धारणा भएकाहरु परम्पराका पछाडि लुकेर महिलालाई तल झार्न खोज्छन् र महिलाले के लगाउनु हुन्छ के हुँदैन भनेर आफ्नो निर्णय जबरजस्ती उनीहरुमाथि थोप्न चाहन्छन् ।”

अर्कोतर्फ रावतको सो वक्तव्यले कतिपयलाई चाहिँ पहिलोपटक फाटेको जिन्स लगाउन उत्प्रेरित गरेको पनि पाइएको छ ।

मुम्बईमा आधारित क्यान्सर परामर्शदाता भिजि भेन्कटेशका अनुसार रावतको कुरा सुनेर उनी यति धेरै आक्रोशित भइन् कि नकाटिएको जिन्सलाई नै काटेर आफूले रिप्ड जिन्स बनाइ लगाएको उनले बताइन् ।

उनी भन्छिन्, “म ६९ वर्षकी हुँ र प्रायः जस्तो सारी लगाउँछु । मलाई पनि बच्चाहरुले किन च्यातिएको लुगा लगाएर हिँड्छन् भन्नेमा आश्चर्य लाग्थ्यो । तर मलाई रावतको महिला विरोधी भनाइसँग अत्यन्तै रिस् उठ्यो । अनि मैले आफूसँग भएको सध्धे जिन्सलाई प्वाल पारेर त्यसलाई लगाइ ट्विटरमा तस्बिर पोस्ट गरेँ ।”

यसपछि उनलाई सो पहिरन लगाउँदा के फरकपना महसुस भयो भनेर सोध्दा उनले हाँस्दै  यस्तो जवाफ दिइन्, “मेरो घुँडामा यसले धेरै सजिलो गरायो । र यो अझै पनि राम्रै देखिन्छ ।”

साथै उनले गम्भीर हुँदै महिलाले के लगाउँछन् र के लगाउन चाहन्छन् भन्ने कुरा कसैको चासोको विषय नभएको पनि बताइन् ।

बीबीसी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*