दाङ, १४ फागुन । दाङमा एक शिक्षक घरको आँगनमै मृत फेला परेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १० सौंडिकुला निवासी ४३ वर्षीय श्रीधर घिमिरे शुक्रबार बिहान घरको आँगनमा मृत फेला परेका हुन् ।
उनी घोराही उपमहानगरपालिका–१० मा रहेको माध्यामिक विद्यालय लमडरुवाका सहायक प्रधानाध्यापक हुन् । शुक्रबार बिहान बस चालक सहायक प्रअ घिमिरेलाई लिन उनको घर पुगेका थिए। तर उनी मृत भेटिएपछि चालकले छिमेकी र प्रहरीलाई खबर गरेका थिए ।
घिमिरे बिहीबार राति घरमा एक्लै भएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताएका छन् । उनकी श्रीमती र बच्चा माइती गएका थिए। घिमिरेको राति आफ्नै घरको दोस्रो तल्लाबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको डिएसपी रिजालले बताए ।
‘शव घरको दोस्रो तल्लाको शौचालयमुनि आँगनमा फेला परेको हुँदा घिमिरे राति शौचालय जाने क्रममा लडेर मृत्यु भएकोजस्तो देखिएको छ’, प्रवक्ता रिजालले भने–‘अहिले प्रहरीले घट्ना बारेमा अनुसन्धानमै रहेको छ । थप अनुसन्धानपछि थाहा हुनेछ ।’
घिमिरेको कोठामा मदिरा समेत फेला परेको हुँदा मदिरा सेवनपछि शौचालय जाने क्रममा उनको लडेर घटनास्थलमै मृत्यु भएको देखिन आएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार शव नियाल्दा गाला धस्सिएको र नाक, मुखबाट रगत आएको देखिएको भए पनि अन्त कतै शरीरमा चोटपटक देखिएको छैन।