Home / Feature Breaking news / महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने

महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने

यस वर्षको महामूर्खकाे उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो।

रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ। कार्यक्रममा हास्यव्यंग्य र सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिँदै आएको छ। उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनील मल्लिकले बताए। उनका अनुसार होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ ।

उनले भने, ‘मिथिलाञ्चलमा जोगिरा गीत सुनिन लगभग बन्द भएको छ र भोजपुरी गीतको प्रभुत्व बढिरहेको वेला मिनापले पुरानो संस्कृतिलाई बचाउन होली महोत्सव र महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।’

‘महामूर्ख’ उपाधि ०६१ सालदेखि दिन थालिएको हो । ०६१ मा मैथिली कवि नरेश ठाकुर, ०६२ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता शीतल झा, ०६३ सालमा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी तथा ०६४ सालमा सदभावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो ।

त्यसैगरी, ०६५ सालमा साहित्यकार डा. राजेन्द्र विमल, ०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा, ०६७ सालमा राजनीतिक विश्लेषक सिके लाल, ०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, ०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव तथा ०७० सालमा तमलोपाका नेता डा. विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो ।

नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*