Home / Feature Breaking news / पौडेल भन्छन्- संसद् पुन:स्थापना, देउवा भन्छन्- मलाई प्रधानमन्त्री हुन नदिने खेल भयो

पौडेल भन्छन्- संसद् पुन:स्थापना, देउवा भन्छन्- मलाई प्रधानमन्त्री हुन नदिने खेल भयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनगरेपछि नेकपा दुई ध्रुवमा विभाजित छ । नेकपा विभाजित हुँदा संगठित भएर देशको संकटसँग लड्ने अठोटसहित जनताको विश्वास लिने र कार्यकर्तामा विश्वास भर्नुपर्ने कांग्रेस पनि विभाजित छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसविरुद्ध उभिने निर्णय गरेको छ । तर, त्यही निर्णय कार्यान्वयनका विषयमा सभापति देउवा र पौडेल विपरीत ध्रुवमा छन् ।

केन्द्रीय समितिको निर्णय प्रतिनिधिसभा विघटनविरुद्ध उभिने भए पनि सभापति शेरबहादुर देउवा स्पष्ट चुनावको पक्षमा छन् । त्यसैले उनी पार्टीभित्र अदालतभन्दा ठूला न्यायाधीश जनता हुन् । जनतामा जाने कुरालाई कांग्रेसले अस्वीकार गर्नु हुँदैन भन्ने तर्क गरिरहेका छन् । “प्रतिनिधिसभा विघटनको विषय सर्वोच्चमा विचाराधीन छ । विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम कांग्रेसले गर्न हुँदैन । यसबारे  बोल्न हुँदैन,” भनिरहेका देउवाले २०७३ चैत १५ गतेको केन्द्रीय समिति बैठकबाट जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय उल्टाइदिँदा ‘शक्ति पृथकीकरणको सिद्धान्तविरुद्ध अदालत प्रवेश गरेको’भन्ने निर्णयतिर भने ध्यान नदिएको कांग्रेस नेताहरू नै बताउँछन् ।

०५१ सालमा मनमोहन अधिकारीले संसद् विघटन गर्दा आफैं अदालतमा रिट दायर गर्न पुगेका देउवा अहिले न त अदालतमा रिट लिएर गएका छन् न त त्यसविरुद्ध उभिन नै सकेका छन् । बरु उनी आफूनिकट केन्द्रीय सदस्यहरुसँग ‘पौडेल र सिटौलाले आफूलाई प्रधानमन्त्री हुन नदिन पुन:स्थापना भनिरहेको’बताउने गरेका छन् ।

रामचन्द्र पौडेल भने प्रतिनिधिसभा पुनःस्थापना नभए विधिको शासन र व्यवस्था दुवै धरापमा पर्ने चेतावनी दिइरहेका छन् । “म सांसद नभए पनि प्रतिनिधिसभा पुनःस्थापना भनिरहेको छु । चुनाव हुँदा मलाई फाइदा हुन्छ, तर लोकतन्त्र र संविधान धरापमा पारेर मैले के पाउने ?,” पौडेल भन्छन्, “पहिला यो संविधान बच्नुपर्छ, लोकतन्त्र बच्नुपर्छ, प्रणाली बच्नुपर्छ ।”

उनले विधिको शासनकै लागि कांग्रेसको स्थापना भएको भन्दै विधि ढल्दै गर्दा टुलुटुलु हेर्ने कांग्रेस जनता र देशलाई नचाइएको बताएका छन् । “विधिको व्यवस्थाकै लागि नेपाली कांग्रेसको स्थापना भएको हो । जनता अधिकार र विवेकको शासनका लागि लड्छ भनेर नै जनताले नेपाली कांग्रेसलाई समर्थन गरेका हुन्,” वरिष्ठ नेता पौडेल भन्छन्, “तर, स्वार्थी नेतृत्वका कारण संविधानविपरीत संसद् विघटन हुँदा प्रस्टसँग बोल्ने आँट गरिरहेको छैन । यसले जनतामा रहेको कांग्रेसप्रतिको विश्वास धर्मराउने अवस्था आएको छ । कार्यकर्तामा गम्भीर अन्योल छाएको छ ।” उनले केन्द्रीय समितिको बैठकबाट ‘प्रतिनिधिसभा भंग गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएकाले त्यसका विरुद्ध उभिने’ निर्णय गरे पनि त्यसलाई सच्याउनभन्दा चुनावको माहोल बनाउन नेतृत्वले काम गरेको बताइरहेका छन् ।

नेता पौडेलले आन्दोलन र पुनःस्थापना भन्ने अडान राखिरहँदा देउवा भने आन्दोलन गर्न कांग्रेसँग पैसा नभएको तर्क गरिरहेका छन् । प्रतिनिधिसभा विघटनलगत्तै सत्तारुद्ध नेकपा दुई समूहमा विभाजित भएको छ । तर, केन्द्रीय समिति बैठकबाट प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले त्यसविरुद्ध उभिने निर्णय गरेको कांग्रेसभित्रको ध्रुवीकरणा भने अनौठो छ । यसले नेकपाका विभाजित समूहहरुलाई हामीसँग कांग्रेसको फलानो समूह छ भनेर अर्थ्याउँदै राजनीतिक लाभ लिने त सहयोग पुर्‍याएको छ । प्रजातन्त्रका पक्षधर र कांग्रेस कार्यकर्तामा भने गम्भीर अन्योल पैदा गरेको छ ।

कांग्रेसमा देउवानिकटहरु भने प्रतिनिधिसभा पुन:स्थापित हुने भएपछि पौडेल अझ बढी आक्रामक बन्दै गएको बताउँछन् ।

उनीहरु आफूले दाबी गर्दै आएको कुरा हुने भएपछि पौडेल सबैले सुन्नेगरी प्रतिनिधिसभा पुन:स्थापना भन्दै हिँडेको दाबी गर्छन् ।

देउवानिकटका कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे पौडेलले पुनःस्थापना भने पनि त्यसले कांग्रेस र देशलाई थप संकटमा लैजाने बताउँछन् ।

“पुनःस्थापना भयो भने कांग्रेसभन्दा ठूलो संख्यामा नेकपा हुन्छ । नेकपाको सरकारमा गएर प्रतिपक्षमा बस्ने जनमतको म्यान्डेट पनि रहँदैन । सरकारमा गएर जनताका पक्षमा आफूले काम गरेर देखाउन पनि सकिँदैन,” घिमिरेले भने, “यदि सरकारको नेतृत्व नै दिइयो भने पनि ०५२-५४ साल तिरको लोकेन्द्रबहादुर चन्द वा सूर्यबहादुर थापाको जस्तो अवस्था हुन्छ ।” उनले यदि कांग्रेसले सरकारमा जान्न वा सरकार बनाउन सहयोग गर्दिनँ भन्ने हो भने सरकार दिन नसकेर फेरि प्रतिनिधिसभा भंग हुने दाबी गर्छन् ।

विश्लेषकहरु विगतमा नेकपा एमालेको फुटपछि कांग्रेस पनि फुटेको भन्दै अहिले पनि चरम ध्रुवीकरणमा जाने बताउँछन् । उनीहरु कांग्रेस नेतृत्वको दोहोरो चरित्र र संस्थापनइतरको आक्रोशले त्यस्तो अवस्था आउने विश्लेषण गर्छन् ।

“मूलतः कांग्रेस नेतृत्वमा दोहोरो चरित्र देखिँदै छ । नेताहरु व्यक्तिगत फाइदाका पछि लाग्दा त्यसले कांग्रेसमा पनि जोखिम बढाउँदै छ,” विश्लेषक डा. विष्णु दाहालले भने, “क्याडरबेस पार्टीजस्तो मासबेस पार्टी फुटाउन सहज हुँदैन । तर कांग्रेस चरम ध्रुवीकरणमा जाने निश्चित छ ।” विगतमा पनि एमाले फुटेको केही वर्षमै कांग्रेस फुटमा पुगेको भन्दै अहिले पनि नेकपाको फुटले ल्याएको ध्रुवीकरणको चरम असर कांग्रेसमा देखिने उनको दाबी छ ।

बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्म संगत गरेका विश्लेषक पुरञ्जन आचार्य कांग्रेसमा सैद्धान्तिक मतभेद देखिएको बताउँछन् । “व्यवस्था जोगाएर अघि जानुपर्छ भन्ने, व्यवस्था जोखिममा पारेर भए पनि लाभ लिनुपर्छ भन्ने र व्यवस्था नै सिध्याएर मुलुकलाई पुरानो अवस्थामा फर्काउनुपर्छ भन्ने सैद्धान्तिक विवादमा कांग्रेस देखिन्छ,” आचार्य भन्छन्, “सभापति शेरबहादुर देउवा व्यवस्था जोखिममा राखेरै भए पनि फाइदा लिने पक्षमा हुनुहुन्छ । महामन्त्री शशांक कोइराला व्यवस्था नै समाप्त पारेर हिन्दु राज्य भन्दै हुनुहुन्छ । विटुइन द लाइन राजा पनि उहाँको भनाइमा भेटिन्छ । अहिले संविधान र व्यवस्था रक्षाका पक्षमा रामचन्द्र पौडेल देखिनुभएको छ ।”

कांग्रेसमा देखिएको यो मतभेद प्रतिनिधिसभा पुन:स्थापना वा नयाँ चुनाव जहाँ गए पनि तत्काल टुंगिने अवस्था छैन । यस्ता गम्भीर मतभेदको समाधान महाधिवेशनबाट खोज्नुपर्ने हो । तर, कांग्रेसको महाधिवेशनमा विचारको बहस हुन छाडेको धेरै समय भएको विडम्बनापूर्ण अवस्था रहेको आचार्यको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*