Home / विचार / दिगो विकासका चुनौतीहरू

दिगो विकासका चुनौतीहरू

भूवन पोख्रेल
भविष्यका पुस्ताको बाँच्ने आधार नखल्बल्याई वर्तमानका आवश्यकता पूरा गर्नु नै दिगो विकास हो । दिगो विकास एक प्रक्रिया हो । जुन स्रोत साधनको प्रयोग, लगानीको गति तथा दिशा र संस्थागत परिवर्तनहरु वर्तमान र भावी आवश्यकता अनुकुल विश्वसनीय बनाइन्छ ।

वास्तवमा पृथ्वीमा उपलब्ध प्राकृतिक स्रोत साधनलाई सावाँ मान्ने हो भने तिनीहरुको समुचित संरक्षण गर्दै त्यसबाट प्राप्त व्याज मात्र खाने अवधारणा नै दिगो विकासको मुख्य सोच हो । आधुनिक विश्वका मानिसको व्यवहारमा कुनै पनि रुखको फल मात्र खानुको सट्टा त्यसको जरै खाइदिने स्वार्थी प्रवृत्ति हाबी भएको छ । यिनै प्रवृत्ति विरुद्ध विश्वमै भर्खर भर्खर मात्र चासो बढ्न थालेको दिगो विकासको अवधारणा नेपालमा भित्रिएको पनि धेरै भएको छैन ।

जैविक विविधताको खानी नेपालजस्तो मुलुकका लागि यो सोच निकै महत्वपूर्ण र सान्दभिएक छ । विकास नै वर्तमान युगको आवश्यकता भएकाले मानिसका क्रियाकलाप विकास निर्माणतर्फ बढी केन्द्रित देखिन्छन् । स्थानीय तहदेखि केन्द्रीय तहसम्म विभिन्न भौतिक विकासका योजनाले बढी महत्व पाउने गर्छन् । विकासबाट मान्छेले उत्तम जीवनको अपेक्षा राखेको हुन्छ र देशले सम्पन्नताको ।

उत्तम जीवन र सम्पन्नताका लागि प्राकृतिक स्रोत साधन महत्वपूर्ण हुन्छन् । प्रकृतिक सम्पदाको प्रयोगबिना कुनै पनि विकास आयोजना कार्यान्वयन गर्न सकिँदैन । प्रकृतिक सम्पदाको प्रयोग कसरी गर्ने भन्ने सोचसँगै विकास प्रक्रियाको दिगोपना निर्धारण हुन्छ । प्रकृतिले पृथ्वीमा रहेका सम्पूर्ण जीवको जीवन पद्धति सुनिश्चित गर्न निःशुल्क प्राकृतिक सम्पदा उपलब्ध गराएको छ ।

प्रकृति प्रदत्त सम्पदामाथिको बढ्दो मानवीय चाँप र विकास निर्माण कार्यको दबाबका कारण पारिस्थितिक प्रणालीको सन्तुलनमा प्रतिकूल असर परकाले अहिले विश्वव्यापी रुपमा विविध किसिमका वातावरणीय समस्या देखापरेका छन् । जसबाट छुटकारा पाउन आज विश्व समुदायले उपयुक्त विकल्पका रुपमा दिगो विकासको अवधारणालाई लिइएको छ ।

पृथ्वी सबैको साझा हो । विश्व नै हाम्रो समुदाय हो भन्ने भावनासँगै दिगो विकासलाई आवश्यकता मात्र नमानी विश्वव्यापी रुपमा अधिकारकै रुपमा ग्रहण गर्नु पर्छ । विकसित या अल्पविकसित मुलुकहरुमा बढ्दै गएको वातावरण विनाशलाई रोक्न तथा पुनःस्थापना गर्न अनि विकासको प्रतिफल बढाई गरिब देश तथा परिवारको आर्थिक, भौतिक स्तर सुधार्ने उद्देश्यले दिगो विकासको अवधारणा अघि सारिएको हो ।

सन् १९६० को दशकमा पश्चिमी देशहरुमा भएको आर्थिक विकासले गर्दा त्यहाँ उपभोगयुक्त संस्कृतिको विकास भयो । जसले गर्दा वातावरणमा ठूलो नकारात्मक प्रभाव पर्न गयो । यस्तो वातावरण विनाशले मानिसको स्वास्थ्यमा पारेको नकारात्मक प्रभाव तथा असरको तथ्य प्रकाशमा आएपछि दिगो विकासको आवश्यकता महशुस गरियो ।

दिगो विकासले मानिसको जीवनस्तर र उपभोगमा कमी ल्याउनुका साथै वातावरणमा पनि नकारात्मक असर नपार्ने हुँदा यसलाई सबैले निकै रुचाए । धनी व्यक्ति तथा राष्ट्रको उपभोगमा कुनै कमी नल्याउने तथा गरिब राष्ट्रको भोतिक विकासमा सहयोग पु¥याउने भएकाले दिगो विकास गरिब तथा धनी दुवैलाई आफ्नो स्वार्थ पूर्ति गर्न मान्य सम्झौताका रुपमा स्थापित भएको छ ।

नेपालमा दिगो विकासको सर्वोपरी लक्ष्य भनेको यसका वर्तमान नागरिक तथा भावी पुस्तालाई कम्तिमा पनि जीवन यापनका आधारभूत साधनहरु निरन्तर उपलब्ध गराई गरिबी न्यूनीकरण गर्नुका साथै तिनीहरुका जीवनका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रका व्यापक अवसर पनि उपलब्ध गराउने प्रक्रियालाई तीब्र बनाउनु नै हो । सोझो अर्थमा दिगो विकास भनेको हालको स्रोत साधनको प्रयोगले भविष्यको वास्तविक आम्दानीमा ह्रास नआयोस् भन्ने नै हो ।

त्यसमाथि मानिसले गर्ने विकास निर्माणका काम पृथ्वीमा भएका प्राकृतिक साधन र स्रोतले धान्न सक्ने किसिमको हुनु पर्छ । पृथ्वीको धान्न सक्ने क्षमता सीमित हुन्छ । प्रकृतिक स्रोत र सम्पदा सबैका लागि जीवनसँग गाँसिएको अपरिहार्य आवश्यकता हो तर यस्तो स्रोतको दोहन पनि दिगो वा थेग्न सक्ने किसिमको हुनु पर्छ । स्रोत र साधनको अधिक उपयोगले वातावरणमा नकारात्मक असर पर्छ ।

विकास प्रक्रियालाई वातावरण र भावी पुस्तासँग जोडेर हेर्ने दृष्टिकोण नै दिगो विकास हो । यसले वातावरण संरक्षण गरी भावी पिढीको वातावरणमाथि रहेको अधिकारको वकालत गर्छ । दिगो विकासले वातावरण संरक्षण, विकास, स्रोतमाथिको अधिकारममा जोड दिएको छ । वातावरणीय स्रोतमा भावी पिँढीको अधिकार, गरिबी निवारणमा सहयोग, जैविक विविधताको संरक्षण र अर्थतन्त्र, समाज तथा वातावरणीय बीचको सम्बन्धमा जोड दिन्छ ।

दिगो विकासका लक्ष्यहरुमा सन् २०३० सम्ममा हरेक क्षेत्रमा रहेका सबै स्वरुपको गरिबी अन्त्य गर्ने, भोकमरी अन्य गर्ने, स्वस्थ जीवनको सुनिश्चित गर्ने, सबैका लागि जीवन पर्यन्त सिकाईका अवसर प्रदान गर्ने, लैङ्गिक विभेदको अन्त्य गर्ने, धान्न स्क्ने ऊर्जामा सबैको पहुँच सुनिश्चित गर्ने । दिगो आर्थिक बृद्धि गर्ने । उत्थानशील पूर्वाधार निर्माण गर्ने, देशभित्र तथा देशहरुबीचको असमानता हटाउने, मानव बस्तीहरुलाई समावेशी बनाउने, दिगो उपभोग र उत्पादन ढाँचाहरु सुनिश्चित गर्ने । जलवायु परिवर्तन र यसको प्रभावहरुसँग जुत्तन तत्काल कार्य अघि बढाउने ।

दिगो विकासका निम्ति महासागरहरु सामुद्रिक स्रोतहरु संरक्षण गर्ने । पृथ्वीको भूपरिधिस्तरीय प्रणालीहरुको दिगो उपयोग, रक्षा र पुनःस्थापना गर्ने, वनको दिगो रुपपमा व्यवस्थापन गर्ने । दिगो विकासका निम्ति शान्तिपूर्ण र समावेशी समाजको प्रबद्र्धन गर्ने । दिगो विकासका लागि कार्यान्वयनका उपयाहरु सुदृढ गर्ने र अन्तर्राष्ट्रिय साझेदारीलाई पुनः जीवन्त तुल्याउने ।

नेपालका सन्दर्भमा दिगो विकासका उपायहरुमा पारिस्थितिकीय प्रणालीको संरक्षण, मध्यवर्ती क्षेत्रका व्यवस्थापन, रैजाने प्रजातिको संरक्षण, व्यापारिक प्रयोजनका लागि खोज गर्नुपर्ने देखिन्छ । नेपाल गरिब मुलुक भएकाले आफ्नै आन्तरिक स्रोत र साधनको परिचालनबाट मात्र जैविक विविधताको संरक्षण निकै जटिल हुने देखिन्छ । जैविक विविधतासँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने कानुनको कार्यान्वयन पनि एकीकृत रुपमा हुन सकिरहेको छैन । रैथाने जीवजन्तु र बालीनालीको संरक्षण गर्ने अभियान नै चलाउन जरुरी भएको छ ।

दिगो विकासको लक्ष्यलाई व्यवहारमा उतार्ने क्रममा समाज, राष्ट्र र विश्वले धेरै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । अहिले पनि एक अर्बभन्दा बढी मानिसहरु निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् । नेपालजस्ता विकासोन्मुख मुलुकका आधा जनसंख्या गरिबीको रेखामुनि छन् । यसलाई दिगो विकासको प्रमुख चुनौतीका रुपमा लिने गरिन्छ ।

दिगो विकासलाई पनि विकासको समष्टिगत रुपमा परिभाषित गर्नुपर्छ । केवल वातावरणीय विकासको रुपमा मात्र लिनु हुँदैन । न्यायपूर्ण संसार र साझा हक भोगेको संसारको निर्माण पनि दिगो विकासको चुनौतीको रुपमा रहेको छ । जनसंख्या बृद्धिको कारणले उत्पन्न हुने समस्या पनि दिगो विकासको चुनौती हो । जनसंख्या बृद्धिको कारणले सोही अनुपातमा प्राकृतिक स्रोत साधनको उपयोगमा पनि बृद्धि हुने जोखिम समेत रहेको देखिन्छ ।

जनसंख्या बृद्धिको कारणले आपूर्ति र मागका बीचमा सन्तुलन राख्न नसकी वातावरण प्रदूषण हुने र रोगव्याधी फैलिने सम्भावना बढ्छ । विनाश बिनाको विकास दिगो विकास हो ।वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यता पूर्ति गर्दै जानु दिगो विकास हो । प्राकृतिक सम्पदाको अत्यधिक विनाशबाट उत्पन्न हुने वातावरणीय दुष्परिणाम र भविष्यका सन्ततीलाई जिउने अधिकारको हनन् नहुने गरी विकासको फल वर्तमान सन्ततीले मात्र उपयोग गर्नु पर्छ भन्ने मान्यता नै दिगो विकासको मान्यता हो ।

विश्वका सबै सरकारहरुले प्रतिबद्धता जनाएका ती विकास लक्ष्यहरुले सन् २०३० सम्ममा सबै प्रकारका गरिबी र भोकमरी उन्मुलन गर्नेदेखि विपतसँग जुध्ने क्षमता मजबुत बनाउने सहति १७ वटा उद्देश्य राखेका छन् । संयुक्त राष्ट्रसंघले अब अर्को १५ वर्षका लागि दिगो विकास लक्ष्य लागू गर्दा नेपाल एउटा विनाशकारी भूकम्प र त्यसपछि एउटा मुख्य व्यापार नाका अवरुद्ध भएपछि देखिएका आर्थि, सामाजिक तथा राजनैतिक संकटको मारमा थियो ।

समृद्ध समाज निर्माणका लागि अवसरका रुपमा आएको दिगो विकास लक्ष्य कार्यान्वयनका चुनौती पनि कम छैनन् । दिगो विकासका लागि विकासका सबै आयाम आर्थिक, सामाजिक, शासकीय र वातावरणीयलाई सम्बोधन गरिनु पर्छ भन्ने मान्यताका साथ विश्व विकासको मार्गचित्रका रुपमा दिगो विकासका लक्ष्य जारी गरिएको हो । दिगो विकास लक्ष्यका पाँच रणनीतिक स्तम्भ छन् ।

पहिलो पृथ्वीमा रहेका प्राकृतिक साधन स्रोत र वातावरण भावी पुस्ताका लागि समेत संरक्षण, दोस्रो सबै प्रकारका गरिबी र भोकमरीको अन्य गरी मानव मर्यादा एवं समानता कायम, तेस्रो प्रकृतिसँग सामञ्जस्य कायम गर्दै समृद्धि र समुन्नत जीवनको सुनिश्चितता, चौथो शान्त, न्यायपूर्ण र समावेशी समाज निर्माण र पाँचौ सशक्त विश्वव्यापी साझेदारीद्वारा दिगो विकासको एजेण्डा कार्यान्वयन, विकासका लक्ष्यहरु त्यसै कार्यान्वयन हुँदैन ।

लक्ष्यमा पुग्नका लागि उपयुक्त रणनीति, कार्यक्रम, स्रोत परिचालन, संस्थागत व्यवस्था, क्रियाकलाप सञ्चालन र प्रभावकारी अनुगमन पूर्वशर्त हुन् । दिगो विकास लक्ष्य दीर्घकालीन विकास गन्तव्य भएकाले यसलाई राष्ट्रिय, प्रादेशिक एवं स्थानीय योजना र क्षेत्रगत कार्यक्रममा समाहित नगरी कार्यान्वयनमा ल्याउन सकिँदैन ।

योजना कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आधार भनेको वार्षिक बजेट हो । चौधौँ योजना र आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक विकास कार्यक्रम बजेट, तर्जुमाको प्रमुख आधार नै दिगो विकासलाई मानिएको थियो । पन्ध्रौँ योजनाले पनि निरन्तरता दियो तर सन् २०३० सम्म कार्यान्वयनमा आउने सबै विकास कार्यक्रमले दिगो विकासका लक्ष्यहरुलाई समेट्नु पर्छ ।

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा दिगो विकास लक्ष्यलाई आवधिक योजना, प्रदेश तथा स्थानीय योजना साथै सबै तहका वार्षिक विकास कार्यक्रममा कसरी समाहित गर्ने भन्ने चुनौती छ । स्थानीय तहको जिम्मेवारी भित्र दिगो विकासलाई समाहित गर्ने । आन्तरिक र वाह्य साधन परिचालनको चुनौती छ । विभिन्न तहमा क्षमता विकास गर्ने र राज्यका विभिन्न तहबीचको शासकीय क्षमता विस्तारसँगै समन्वय र सहकार्य कसरी गर्ने भन्ने चुनौती पनि हामीसँग छ ।

नागरिक स्तरमा दिगो विकासमुलक सोच र संस्कृति कसरी निर्माण गर्ने भन्ने चुनौती छ । अहिले मुलुकको ठूलो सहर काठमाडौँको वातावरण प्रदूषित भएको छ । जलवायु परिवर्चनका असर देखिएका छन् । घर बाहिर स्वच्छ हावा छैन, धुलो र वायु प्रदूषण आकासमा छ, कसरी व्यवस्थित र स्वच्छ सहर बनाउने ? चुनौती थपिएको छ । यसलाई बेलैमा वातावरण संरक्षण हुन नसकेको मान्नु पर्छ । राजनैतिक स्थिरता भएपछि मात्र यी दिगो विकासका चुनौतीलाई अवसरमा बदल्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*