सेवा घरको पहिलो प्राथमिकता भनेको परिवारसँग पुनर्मिलन गराउनु हो । जुन मुख्य चुनौति बनेको छ ।
आर.के.शीतल
‘भनिन्छ श्रद्धाले झुकेको शिर प्रेमले भरिएको नयन सत्य सँग जोडिएको जिब्रो सेवा गरिरहेको हात सत्मार्गमा लागेका पाउ अनि मुस्कुराइ रहेको ओठ बास्तवमै हामी मानवलाई मात्र होइन परमात्मा ईश्वर भगवान सबैलाई मनपर्छ त्यसैले मुस्कुराउदै गरिदिनुहोला नमस्कार ।’ सेवा घरमा आउने व्यक्तीहरुलाई स्वागत गर्ने सुन्दर वाक्य हो यो । मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा सहयोगी भावना लिएर पाल्नुहुने व्यक्तीहरुलाई स्वागत सम्मान गर्ने यो वाक्यले मानवलाई मुस्कुराउन र खुशी जिवन जिउनकालागी उत्प्रेरित गरिरहेको हुन्छ ।
२०७५ सालमा स्थापना भएको मानव कल्याण समाजले घोराही उपमहानगरपालिका वडा न. १० मा स्थापना गरेको सेवा घरमा धेरै पटक उपस्थित हुने र सहयोग गर्ने मौका पाएको छु । सेवा घरलाई सहयोग गर्नकालागी सहयोगी कतिपय व्यक्तीहरुले सम्पर्क गर्नुहुन्छ भने कतिपय अवस्थामा सेवा घरले नै निम्तो दिने गर्दछ । आँफू आवद्ध संघसंस्थाहरुलाई विशेष दिनमा सेवा घरमा सहयोग गर्नकालागी उत्प्रेरित गर्ने गर्दछु । पछिल्लो पटक नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको ३१ औँ स्थापना दिवशको अवसरमा सेवा घरमा जाने अवसर मिल्यो । महिलाहरुले मात्र वि.स २०५० सालमा स्थापना गरेको सेवा केन्द्रले आफ्नो स्थापना दिवशको अवसरमा सेवा घरमा दिवा खाजा खुवाउनुकासाथै अति आवश्यक सरसफाईका सामाग्री एवं खाद्यान्नहरु सहयोग गरेको थियो । सहयोगीहरु सेवा घरमा प्रवेश गर्दै गर्दा गर्ने स्वागत र औपचारिक कार्यक्रम सुरु हुँदा गर्ने स्वागत एकदमै स्मरणयोग्य लाग्छ । सेवा घरका बेसहाराहरुको सेवामा समर्पीत व्यक्तीहरुले गर्ने स्वागत सम्मानका शब्दहरु एकदमै मिठास र वास्तविक छन् । सेवा घरले स्वागत गर्ने तरिका उपस्थित अतिथिहरु धेरैलाई मन पर्ने गरेको म सहभागी कार्यक्रममा प्रतिक्रिया पाएको छु ।
औपचारिक कार्यक्रम शान्तिको कामना सहित दीप प्रज्वलन गरेर गर्ने र दीप प्रज्वलन प्रश्चात हुने प्राथनामा बोलिने शब्दहरु घतलाग्दा र प्रेरणादायी छन् । प्राथनामा भनिन्छ– ‘हे ईश्वर हे परमात्मा हे परमशक्ती तिमीलाई के नामले पुकारौ । सत्य तिमी नै है सनातन तिमी नै छौ । तिमी एक भएर पनि अनेक नामले पुकारिन्छौ । सबमा घटघट बासी तिमी छौ । तिमी जताततै छौ । यहाँ छौ उहा छौ । सर्वत्र छौ । जल, स्थल, नवशव तिर तिमी छौ । दुखको कुरा अज्ञानता र मोहनधताको कारण बुद्धि विवेकले सम्पन्न भएर पनि मनुष्य तिमीप्रति कृतज्ञ हुनुको सट्टा कृतग्न छ । अतः यो अज्ञानताको कालो बादललाई हटाउने प्रेरणा देउ । हे ईश्वर यस्तो कृपा गर तिमीलाई सवत्र देख्न सकौँ । प्राणीमात्रलाई तिम्रो रुपमा ग्रहण गर्न सकौ । परसेवालाई ईश्वर सेवा सम्झन सकौँ । लिने भन्दा बढि त्याग्न सकौँ । आफ्नो स्वार्थलाई पन्छ्याई निस्वार्थतामा रम्न सकौँ । आफूमा भएका जतिपनि अवगुणहरु छन् । जस्तै काम, क्रोध, लोभ, मोह, घमण्ड, अहंकार तिनको बदला सत्य, न्याय, अनुशासन, दया, माया, करुणा जस्ता मानवीय गुणहरुलाई आत्मसाथ गरि जिवनलाई सर्वोत्कृष्टता तर्फ, दिव्यतातर्फ उन्मुख गर्न सकौ । शान्ति, सद्भाव र आनन्द प्राप्त गर्न सकौँ । पहिले स्वयम् आफू बदलियौँ । त्यसपछि परिवार, समाज, राष्ट्र अनि विश्वलाई नै बदल्न सक्ने शक्ती सामथ्य क्षमता आर्जन गर्न सकौँ । रुढिवादी, अन्धविश्वास, विकृति र अज्ञानतालाई कत्तैव प्रोत्साहन नदिऔँ । यो श्रृष्टी सबैकोलागी बरदान हो । मिलेर बस्न सक्ने उदार, विशाल र आत्मीय गुणहरुको विकशीत गर्न सकौँ । अन्त्यमा सबैको मंगल होस् । सबैको कल्याण होस् । प्राणीमात्रको हित होस् । विश्वको जय होस् ।’ मानव जातिको कल्याण र विश्वको जय होस् भन्ने कामना सहितको यी शब्दहरु, वाक्यहरु सुन्दा मन आनन्दित हुन्छ भने शान्तिको अनुभुति हुन्छ ।
मानव कल्याण समाज मानव मात्रको कल्याण गर्ने संस्था हो । यो विशुद्ध सामाजिक संस्था हो । सडक तथा सार्वजनिक स्थलमा अलपत्र परिरहेका बेसाहारा जो नाना, खाना र छाना बिहिनी । जसको कोही छैन । जसको केही पनि छैन । अशक्त, असहाय, अनाथ, अपाङ्गहरु, मनोरोगी । बच्चादेखी बृद्धहरुलाई उद्धार उपचार र पालनपोषण गर्ने, उहाँहरुको परिवार भेटिए परिवारमा पुनर्मिलन गर्ने, यदि परिवार नभेटिएमा सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने । बेसहाराहरुको लौरी बनेर सहारा बन्ने संस्थाको रुपमा मानव कल्याण समाजले आफ्नो पहिचान बनाएको छ ।
वि.स २०७२ सालको भुकम्पपछि काठमाडौँ, भक्तपुर र ललितपुरको सडकहरुमा यत्रतत्र बेवारिसे अवश्थामा मानवहरु धेरै भेटिए । त्यो समयमा सुमित्रा चौलागाई (सुमी मानव) लगायत युवाहरुले टीमले सडक बेसाहराहरुकोलागी काम गर्ने जमर्को ग¥यो । युवाहरुले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर बेवारिसे अवश्थाका सडक मानवहरुलाई सडकमै खाना खुवाउने, सरसफाई गरिदिने अभियान सुरु ग¥यो । काठमाडौ, ललितपुर र भक्तपुरलाई केन्द्रित गरेर काम सुरु गर्दै गर्दा भक्तपुरमा मानव सेवाकालागी संघसंस्थाहरु नभएको पत्ता लगाईसकेपछि ती युवा समूहहरुले योजना बनायो र संस्था स्थापना ग¥यो । वि.स २०७४ सालबाट सेवा सुरु गरेको मानव कल्याण समाजले २०७५ वैशाखमा संस्था दर्ता गरेर काम सुरु गरेको हो । जसको संस्थापक अध्यक्ष बनीन्– सुमित्रा चौलागाई (सुमी मानव) ।
सेवा घरले भक्तपुरबाट केन्द्रिय कार्यालय सञ्चालन गरेको छ भने देशभर ६ स्थानबाट सेवा घर सञ्चालन गरेको छ । जसमा ३ सय ५० बढि व्यक्तीहरुले सेवा पाईरहेका छन् । काठमाडौ पशुपति क्षेत्र, भक्तपुर झौखेल, काभ्रेको धुलिखेल र पनौति, बाराको निजगढ र दाङको नारायणपुरमा सेवा घर स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ ।
काभ्रेको पनौतिलाई बाल शाखाको रुपमा सञ्चालन गरिएको छ । जसमा बालबालिकाहरुमात्र रहेका छन् । संस्थापक अध्यक्ष सुमित्रा चौलागाईका अनुसार काभ्रेको पनौतिमा ४२ जना बालबालिकाहरुमात्र हुनुहुन्छ । एक महिनादेखी १२ बर्षको बालबालिकाहरु सेवा घरमा रहेका छन् । मानसिक समस्याले सडकमा जिवन बिताईरहेका महिला, सडकमा हुँदा बलात्कारबाट जन्मीएका बच्चाहरुदेखी विभिन्न प्राकृतिक तथा मानविय विपदबाट जन्मीएका देशभरका बालबालिकाहरुलाई पनौति शाखामा राखेर सेवा दिईएको छ । उनीहरुको शिक्षामा पनि सेवा घरले विद्यालय लगायत विभिन्न सहयोगी मनहरुको सहयोगमा सहयोग गर्दै आएको छ । ती बालबालिकाहरुको हाल जन्मदर्ता र भोलिको दिनमा नागरिकता समस्या रहेको छ ।
सेवा घर स्थापना गर्दा संस्थापकहरुले धेरे चुनौतिहरु पनि व्यहोर्नुभयो । आफ्नै कोठा(डेरा)मा राखेर मानवको सेवा सुरु गरेकोमा हाल आएर ६ शाखा स्थापना गरेर सेवा प्रवाह गर्न सफल भएको छ । सडकमै भेटिएका ७ जना युवाहरुले सुरु गरेको मानव कल्याण समाजले हाल २१ जना स्वयंसेवी युवाहरुले मानव सेवा खटिएका छन् । घरबाट बुवाआमाले क्याम्पस पढ्न, खाजा खान दिएको खोजीको पैसा खर्च गरेर काम सुरु गरेको, पुराना भाडाकुडा, खाद्यान्न, लत्ताकपडा लिएर सुरु गरेको, मन्दिरहरुमा गएर जौ तिल मिसिएको रातो चामल लिएर पनि खुवाएको, कति पुजारीले त्यही चालम पनि नदिएको, कतिपय पुजारीहरुबाट ५० प्रतिशत छुटमा चालम किनेको चालम पकाएर खुवाएको कष्टकर पलको स्मरण मानव कल्याण समाजका संस्थापकहरुसँग छ । पछिल्लो समयमा खुला आकाशलाई ओड्ने र सडकलाई बिच्छ्याउने मानवहरुलाई सेवा घरसम्म लिएर सेवा प्रवाह गर्दा भगवान्को कृपाले पुराना कपडा भएपनि, साँझविहानको खानाको व्यवस्थापन सहयोग मनहरुबाट जुटेको अनुभव सेवा घर सञ्चालकहरुसँग छ ।
मानव कल्याण समाज (सेवा घर) नारायणपुरका संयोजक सुस्मीता श्रेष्ठलाई सेवा घर कसरी सञ्चालन भईरहेको छ भनेर सोध्दा जवाफ दिईन्– ‘खुशीको कुरा के छ भने हाम्रो सेवा घर विदेशीको सहयोग बिना नेपालीहरुकोमात्र सहयोगले चलेको छ । नेपालीहरुले जन्मोत्सव, विवाह उत्सव, पृतिहरुको सम्झना लगायत बिशेष दिनको अवसरमा हुने सहयोगले मात्र सेवा घर सञ्चालनमा रहेको छ ।’ यही प्रश्न गर्दा मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमीत्रा चौलागाई भन्छिन्– ‘हामी नेपाली मनहरुको सहयोगलेमात्र सेवा घर सञ्चालन गर्न सफल भएका छनँे । स्थानीय तहबाट पनि राम्रो सहयोग भएको छ । जुन स्थानीय तहमा सेवा घर सञ्चलानमा छ सो स्थानीय तहले राम्रो सहयोग गर्नुभएको छ । कतिपय व्यक्ती एवं सघसंस्थाले सेवा घरको घरभाडा, विद्युत, पानीको रकम मेरो तर्फबाट भनेर पनि सहयोग गर्नुभएको छ । हामीलाई पछिल्लो समय सामाजिक सञ्जालले धेरै सहयोग पु¥याएको छ । सामाजिक सञ्जालको माध्यमबाट थाहा पाएर पनि सेवा घरमा सहयोग गर्न आउनेहरुको संख्या उत्तिकै छ ।’
शिरदेखी पाउसम्म जुम्रा, जट्टा परेको कपाल, लट्टा परेको दारी । लामा लामा नंङ । खुट्टामा चप्पल छैन । आफैलाई लागेको चोट दुख्दैन । म कहाँ छु । म के बोलिरहेको छु । म को हुँ भनेर थाहा नपाउने व्यक्तीहरुलाई सेवा घरसम्म ल्याउदा उहाँहरुबाट धेरैपटक कुटाई खाएको अनुभव पनि सेवा घर सञ्चालकहरुसँग छ । उनीहरुलाई सेवा घरमा लिएर सरसफाई गरिदिने, नुहाईदिने, उपचार गर्ने, उहाँहरुलाई नाम दिने, स्वाहार सुसार गर्दै जाँदा जब निको हुन्छ त्यतिबेला आत्मसन्तुष्टी हुने सेवा घर सञ्चालक व्यवस्थापकहरुको अनुभव छ । त्यो भन्दा पनि अझ सेवा घरमा लिएर सेवा प्रदान गरेपछि उनीहरु सञ्चो भएर घरपरिवारमा पुनर्मिलन गराउदा एकदमै आनन्द, शान्ति र आन्मसन्तुष्टिको पल हुने गर्दछ । ‘जसको कोही छैन उहाँहरुको सेवा गर्न पाउदा गर्व फिल भईरहेको छ । जब उहाँहरुको सेवा गर्न पाउदा अझ सेवा घरमा सेवा पश्चात परिवारमा पुनर्मिलन गराउन पाउदा एकदमै आत्मसन्तुष्टि हुन्छ ।’ सेवा घर नारायणपुरका संयोजक सुस्मीता श्रेष्ठ भन्छिन् ।
सेवाघरमा दैनिक कपडामा फोहोर गर्ने आमाबुवालाइ सरसफाइ गरिदिने, दिउँसोको समयमा कपासको बत्ति काट्न सिकाउने, खाना पकाउन, भाडा माझ्न, कपडा धुन सिकाउने । टि.भि देखाउने, खेल खेलाउने, सबे जनासँग कुरा गर्ने, अशक्त भएको व्यक्तीहरुलाई हड्न, हात खुट्टा चलाउन सिकाउने, योग गराउने, ध्यान गराउने, नाच्न गाउन मादल बजाउन लगाएर मनोरञ्जन प्रदान गर्ने गरिन्छ । खाना खान नजान्नेलाइ खान सिकाउने, उहाँहरु सँग कुरा गर्दै उहाँहरुको परिवार खोज्ने प्रयासमै सेवा घर सञ्चालक एवं व्यवस्थापनहरुको दिन बित्ने गर्दछ ।
सेवा घर सञ्चलानका विभिन्न चुनौतिहरु पनि छन् । पछिल्लो समय समाजमा एकअर्काप्रतिको माया मर्दै गएको छ । परिवार भएकाहरुले पनि घरमा लिएर जान नमान्ने भएका कारण परिवारमा पुनर्मिलन गराउन समस्या रहेको छ । सेवा घरले उपचार गरेर सञ्चो हुँदा पनि लैजान नमान्ने अवश्था छ । सेवा घरको पहिलो प्राथमिकता भनेको परिवारसँग पुनर्मिलन गराउनु हो । जुन मुख्य चुनौति बनेको छ । यस्तै राज्य पक्षबाट पूर्ण रुपमा साथ सहयोग नहुँदा समस्या भोग्नुपरेको छ । राज्य पक्षबाट सामाजिक संघसंस्थामा पनि भेदभावको भावना छ । जुन स्थानीय तहमा सेवा घर छ ती स्थानीय तहले सहयोग गरेपनि प्रदेश र संघ सरकारबाट सेवा घरकालागी कुनै साथ सहयोग छैन । सेवा घरमा रहेका व्यक्तीहरको उपचारमा समस्या छ । ठुलो रोगका बिरमाीहरु पनि छन् सेवा घरमा । जसको उपचारमा लाखौ खर्च हुने पनि छ । त्यस्ता व्यक्तीहरुलाई उपचार गर्न, दिर्घरोगीहरुलाई नियमीत औषधी सेवनमा पनि समस्या रहेको छ । बालाबालिकाहरुको पहिचान नहुँदा हाल जन्मदर्ता र केही बर्षपछि नागरिकताको समस्या हुने निश्चित नै छ । जेष्ठ नागरिकहरुको पहिचान नै नहुँदा नागरिकता बिना सामाजिक सुरक्षा भत्ता पाउन समस्या छ । यी समस्या झेल्दा झेल्दै पनि सेवा घरले गरेको मानव सेवा कार्य एकदमै प्रशंसायोग्य र प्रेरणादायी छ । सेवा घरको उचित व्यवस्थापन र दिगोपनामा ध्यान दिन आवश्यक छ ।