Home / Feature Breaking news / युवाको रोजाइँ होटल, क्याफे र रेष्ट्रो

युवाको रोजाइँ होटल, क्याफे र रेष्ट्रो

अमरराज आचार्य

दाङ, ३ पुस । पछिल्लो समय युवाहरुको आकर्षक फरक शैलीका रेष्ट्रो, क्याफे र होटल व्यवसायमा जोडिन थालेको छ । यसअघि सञ्चालनमा आएका होटल रेष्टुरेण्टभन्दा नागरिकहरुको रोजाइँमा फरक स्वाद र फरक परिकारका बस्तुहरु उपलव्ध गराउने त्यस्ता व्यवसायमा युवा आकर्षण बढ्न थालेको पछिल्लो समयमा खुलेका यस्ता होटलहरुले संकेत गरेका छन् ।

बैदेशिक रोजगारीबाट फर्केका युवाहरु हुन् वा यहीकै शिक्षित एवं प्रवुद्ध युवाहरु पछिल्लो समयमा यो व्यवसायमा तानिन थालेका छन् । बुधवार मात्रै घोराहीमा दुई युवाहरु मिलेर मेजमान्की फुड पार्क सञ्चालनमा ल्याइएका छन् । एउटै घरका दुइ भाइबहिना मिलेर सञ्चालनमा ल्याएका हुन् । आफ्नो अध्ययनपछि उनीहरुले व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक सोनु चौधरीले बताइन् ।

आफूले पढेको कुरालाई व्यवहारमा उतार्नका लागि यस क्षेत्रमा प्रवेश गरेको उनले बताइन् । ‘आफूले सिकेको कुरा व्यवसायमा उतार्नका लागि लागेको हुँ’, सोनुले भनिन् । पढे लेखेपछि रोजगारका लागि अन्यत्र जानुभन्दा आफैले केही गर्नुपर्दछ भनेर फुड पार्क सञ्चालनमा ल्याइएको उनले बताइन् । होटल क्षेत्रमा केही नयाँपन दिन खोजिएको उनको भनाइ रहेको छ । अहिले आफूसहित १० जनालाई रोजगारी प्रदान गरेको सोनु बताउँछिन् ।

घोराहीका जेपी केसीसहित ४ जना मिलेर घोराहीमा बेसमेन्ट क्याफे एण्ड रेस्टुरेण्ट सञ्चालन गरिरहेका छन् । उनीहरुले करिब ३ वर्ष अघिदेखि रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । विभिन्न क्षेत्रमा कार्यरत युवाहरु मिलेर क्याफे एण्ड रेस्टुरेण्ट सञ्चालनमा ल्याएको केसीले बताए । ‘आफ्नै स्थानमा केही गर्नुपर्दछ भनेर यस क्षेत्रमा आएका हौं’, केसीले भने । जागिर खोज्न बाहिर जानुभन्दा सानो भए पनि आफ्नै क्षेत्रमा गर्नुपर्दछ भन्ने मान्यता राखेर व्यवसाय शुरु गरेको उनी बताउँछन् ।

रोजगारको शिलशिलामा होटलको बारेमा जानकारी थियो अन्य साथीहरुसँग कुरा गरेर यस होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । उनले करिब साढे २ वर्ष होटलमा काम गरेका थिए । ‘अहिले आफूसँगै अरुलाई पनि रोजगार दिन सकिएको छ’, केसीले भने । यसबाट आफूहरु सन्तुष्ट नै रहेको उनको भनाइ रहेको छ । अहिले १२ जनालाई रोजगार प्रदान गरिएको केसीले बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले युवा पुस्ताको होटल ब्यवसायप्रतिको आकर्षण बढेको बताउँछन् । यसतर्फ युवाहरुको आकर्षण बढ्नुले नयाँपन आउने उनको भनाइ रहेको छ । होटलमा बिकृतिजन्य कार्य हुने गरेको आरोप लाग्ने भन्दै यसलाई परिवर्तन गर्न लाग्नुपर्ने भुसाल बताउँछन् ।

युवाहरु जागिर खोज्न हिँड्नुभन्दा आफ्नै व्यवसायमा लागे आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाइ छ । होटलहरुले सेवाग्राहीको सन्तुष्टिलाई मुख्य आधार मान्दै सफा, स्वच्छ र स्वादिष्ट परिकारमा ध्यान दिन उनले आग्रह गरे । होटलमा गरिने व्यवहार पनि नमुनायोग्य बनाउनुपर्ने भुसाल बताउँछन् ।

जिल्लामा पछिल्लो समय होटल व्यवसायमा युवाहरुको आकर्षण बढेको दाङ देउखुरी होटल व्यवसायी संघका अध्यक्ष रुद्रबहादुर डाँगीले बताए । ‘यस क्षेत्रमा युवाहरुको आकर्षण बढ्नु खुसीको कुरा हो’, अध्यक्ष डाँगीले भने । अहिले देश–विदेश घुमेर आएका तथा पढे–लेखेका युवाहरुसमेत यस क्षेत्रमा आएको उनको भनाइ छ । ‘यस क्षेत्रका बारेमा युवाहरु आउनुभएको छ, जसले यसको विकास गर्न समेत सहयोग पुग्नेछ’, अध्यक्ष डाँगीले भने ।

होटल क्षेत्र पनि मर्यादित पेशा भएको कारण युवाहरुको आकर्षण बढेको अध्यक्ष डाँगीले बताए । युवाहरुले सञ्चालन गरेका व्यवसाय सफलसमेत रहेको उनी बताउँछन् । युवाहरुले कसरी, के–कस्ता सुविधा दिने तथा गुणस्तर कायम गर्न सक्ने भएकाले सफल हुने गरेको उनको भनाइ रहेको छ ।

पछिल्लो समयमा जिल्लामा सञ्चालन भएको होटल व्यवसायहरु अधिकांश युवाहरुले सञ्चालन गरेको उनले बताए । ‘अहिले पुराना पुस्ताकाले पनि युवा पुस्तालाई जिम्मेवारी दिने गर्नुभएको छ’, अध्यक्ष डाँगीले भने । जिल्लामा हाल साना तथा ठूला उद्योग गरी करिब ३ हजार होटल सञ्चालनमा रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*