Home / Feature Breaking news / कृष्णबहादुर महराको डीएनए परीक्षण हुने

कृष्णबहादुर महराको डीएनए परीक्षण हुने

काठमाडौँ, २८ असोज । महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ ।

दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्तपालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

प्रहरीले मंगलबार उनलाई म्याद थपका लागि अदालतमा लाने तयारी गरेको छ ।

डीएनए परीक्षणको तयारी

घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो ।

अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको होरहोइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको स्रोतले बतायो । प्रहरीले महराको निवासबाट पनि केही जुत्ता र अन्य सामग्री पनि बरामद गरिसकेको स्रोतले बतायो ।

संसद सचिवालयमै कार्यरत पीडित महिलाले १३ असोजमा घटना सार्वजनिक गर्दै दिएको भिडियो अन्तरवार्तामा ती सबुत देखाइएको थियो । आफू सभामुखबाट बलात्कृत भएको बताउँदै प्रहरी कन्ट्रोल १०० मा फोन गरेको भोलिपल्ट भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले ती सबुत संकलन गरेको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘चस्मा वा जुत्ताको जिब्रीमा अभियुक्तको पसिना हुन सक्ने भएकाले डीएनए परीक्षण गरेर दाँज्न खोजिएको हो ।’

अधिकृतहरुका अनुसार जबरजस्ती करणी उद्योगको कसूर पुष्टि हुन दुई वटा विषय सबैभन्दा महत्वपूर्ण हुन्छ ।

पहिलो, अभियुक्त घटनास्थलमा पुगेको देखिनुपर्छ ।

यो विषय प्रहरीले सीसी टीभी फुटेजको विश्लेषणबाट पुष्टि गरिसकेको छ । अनुसन्धान अधिकृतहरुका अनुसार महराको गाडी १२ असोजमा साँझ ७ बजेतिर महिलाको घर छेऊ रोकिएको देखिन्छ । यद्यपि, सीसी टीभी फुटेज स्पष्ट भने छैन ।

त्यहाँबाट पानै ९ बजे महरा सवार गाडी फर्किएको देखिन्छ । त्यसबीचको दुई घन्टाको अवधिमा महिला र महरा मात्रै कोठाभित्र रहेको प्रहरीको भनाइ छ । प्रहरीमा खबर भएपछि गएको बानेश्वर वृत्तको टोलीले घरको माथिल्लो तलामा रहेको वृद्ध महिलालाई पनि भेटेको थियो । तर, ढिला पुगेका कारण महरा निस्किसकेको बताइएको छ ।

महरासँगै गएका अंगरक्षकले पनि उनी घटनास्थलमा पुगेको अनौपचारिक बयान दिइसकेका छन् । सरकारी वकिलसामू औपचारिक बयान हुनेछ ।

महरामाथि लागेको अभियोग पुष्टि गर्न अनुसन्धान अधिकृतसामू अर्को जिम्मेवारी शारीरिक आक्रमण खुल्ने सबुत संकलन गर्नु पनि हो । अधिकांश बलात्कार प्रयासका घटनामा पीडितको कपडा च्यातिएको देखिन्छ । तर, यो घटनामा त्यस्तो छैन ।

बरु दुवै पक्षलाई चोट लागेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् । प्रहरीले अस्पतालमा गराएको स्वास्थ्य परीक्षणले पनि पीडितको शरीरमा चोटपटक भएको देखाइसकेको छ ।

‘यस्तो अवस्थामा कि त अन्य व्यक्ति पनि भित्र प्रवेश गरेको खुल्नु पर्छ । नभए महराकै कारण चोटपटक लागेको पुष्टि हुन्छ’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

मंगलबार अदालतमा म्याद थपिँदै

मुलुक दशैंमा रमिरहेका वेला १९ असोजमा महरा सरकारी निवासबाट पक्राउ परेका थिए । महिलाको आरोप सार्वजनिक भएलगत्तै सभामुख पदबाट राजीनामा दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठकले सुझाएको थियो ।

महराको राजीनामासँगै पीडित महिलाको अर्को भिडियो सार्वजनिक भएको थियो, जसमा उनले बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।

उजुरीका दिनका लागि उनी प्रहरी कहाँ त पुगिनन् नै, स्वास्थ्य परीक्षणका लागि पनि तयार भएकी थिइनन् । बरु १५ असोजमा बानेश्वर प्रहरीमा गएर ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिइन् ।

पीडित महिला र उनका पतिबीच सम्बन्ध विच्छेद गर्ने निर्णय भएको १६ असोजमा सार्वजनिक भयो । तर, घटनाले त्यसबेला फेरि यू–टर्न लियो, जब पीडित महिलाले प्रहरीको काउन्सिलिङपछि महराविरुद्ध किटानी जाहरी दिइन् ।

त्यसवेला अदालत दशैं विदाका कारण बन्द भएकाले उनको म्याद थप हुन पाएको थिएन । सोमबारबाट अदालतको नियमित काम सुचारु भएसँगै उनलाई मंगलबार म्याद थप्ने तयारी प्रहरीको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘विदा भएको दिनको समेत जोडेर एकमुष्ठ म्याद थप हुन्छ होला ।’ उनका अनुसार त्यसअघि सरकारी वकिलको रोहवरमा बयान लिने कार्य सुरु हुनेछ ।

अनुसन्धान अधिकृतका अनुसार यस प्रकृतिको मुद्दा बढीमा २५ दिनभित्र पेश गरिसक्नुपर्छ । तर, सरकारी वकिलले पनि अध्ययन गर्नुपर्ने भएकाले चाँडै पेश गर्ने तयारी प्रहरीको छ ।

सुरुवातमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्तपालको क्याविनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अनलाइन खवरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*