Home / Feature Breaking news / लुम्विनी प्रदेश : राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पुरा,भोली मतदान

लुम्विनी प्रदेश : राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पुरा,भोली मतदान

दाङ, १६ जेठ । लुम्विनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा निर्वाचनका लागि तीनवटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताए । उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउनका लागि प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाउने गरी तयारी गरिएको सूचना अधिकारी कुँवरले वताए ।

‘निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नसँगै कोभिडको जोखिमलाई मध्यनजर गरेर तीनवटा मतदान केन्द्रहरु तोकेका छौँ’, सूचना अधिकारी कुँवरले भने– ‘मतदानका लागि प्रदेशसभा सदस्य, पालिकाका प्रमुख–उपप्रमुखसँगै कोरोना संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरेका छौँ ।’ उनका अनुसार तीनवटा मतदान केन्द्रहरुमध्ये मतदान केन्द्र ‘क’ मा प्रदेश सभा सदस्यहरु, मतदान केन्द्र ‘ख’मा पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र मतदान केन्द्र ‘ग’मा कोरोना संक्रमण पोजिटिभ देखिएका मतदाताहरुका लागि छुट्याइएको छ । मतदानका लागि बिहान ९ बजेदेखि ३ बजेसम्म समय निर्धारण गरिएको छ ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनमा नेकपा एमालले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवार बनाएको छ । त्यसैगरी विपक्षी गठबन्धनका तर्फबाट कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । खड्कालाई नेकपा एमाले ओली समूहसहित जनता समाजवादीको ठाकुर–महत्तो समूहको समर्थन छ । पाण्डेलाई कांग्रेससहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ तर एमाले विभाजित भएकाले नेपाल–खनाल समूहको मत विपक्षी उम्मेदवारलाई जान सक्ने सम्भावना छ ।

निर्वाचनमा लुम्विनी प्रदेशसभाका ७९ जना सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २ सय १७ मतदाता छन् । निर्वाचिनमा जनता समाजवादी पार्टीका कारबाहीमा परेका चार मन्त्रीसहित ८ सांसद मतदानबाट बञ्चित हुनेछन् । ७ सदस्यीय प्रदेशसभाका ७९ जनाले मात्रै मतदान गर्न पाउनेछन् । प्रदेशसभामा एमालेका ३, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका २ र राजमोका १ जना सांसद छन् । स्थानीय तहतर्फका २ सय १७ मध्ये एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*