दाङ, ३ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको समय नजिकिँदै गर्दा दाङको लमहीमा रहेको क्रिकेट मैदानको व्यवस्थापनको कामलाई तीव्र बनाइएको छ । प्रतियोगिताका लागि लमहीमा रहेको ग्राउण्ड सफाई, पिच निर्माणदेखि ग्राउण्ड सम्याउने काम भइरहेको छ ।
व्यवस्थापन पक्षको लापरबाहीका कारण केही दिन अघिसम्म घाँस, सिसौलगायत विभिन्न विरुवा र घाँसले भरिएको क्रिकेट मैदानलाई सफाई गरेर अहिले आकर्षक बनाउने काम गरिएको क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिएका छन् ।
उनले कोरोना भाइरसका कारण लामो समयसम्म क्रिकेटका गतिविधिहरु जिल्लामा नहुँदा क्रिकेट मैदानको स्वरुप नै परिवर्तन भई घाँसे मैदानमा परिणत भएपछि अहिले पुर्ननिर्माणको कामले गति लिएपछि केही सुधार आएको पनि उनले बताए ।
‘लामो समय खेलकुदका प्रतियोगिताहरु नहुँदा घाँसले भरिएको ग्राउण्डलाई सफाई गरेर आकर्षण बनाउनदेखि ग्राउण्डमा भएका खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा भइरहेको छ’, संघका अध्यक्ष मजगँयाँले भने– ‘जसले गर्दा जिल्लाकै गहनाका रुपमा रहेको क्रिकेट मैदानको आकर्षण बढेको छ ।’
उनका अनुसार मैदानमा जागेका घाँसका बोटहरु काट्नेदेखि, माटो फिलिङ, रोलिङसँगै दुवो बढाउनका लागि सिचाईको काम भइरहेको बताए । त्यसैगरी खेलाडीहरुका लागि डे«सिङ रुम, अभ्यास गर्ने ठाउँ, शौचालयलगायतको सम्पूर्ण काम गरिएको छ । स्थानीय व्यवस्थापनका हिसाबले आफूहरुले उक्त कामहरु चाँडै नै सकेर पुस ११ गतेदेखि प्रतियोगिता सञ्चालनका लागि मैदानलाई तयार गर्ने समेत उनले बताए ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता दाङको लमहीमा रहेको क्रिकेट मैदानमा सञ्चालन गर्ने निर्णयसँगै मैदानमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको नेपाल क्रिकेट संघका लुम्बिनी तथा कर्णाली प्रदेश सचिव सञ्जय गुरुङले जानकारी दिएका छन् ।
‘प्रतियोगिताका लागि काठमाडौंबाट आएको टिमले मैदानमा दुई वटा पिच निर्माणदेखि आउटफिल्ड मिलाउने काम गरिरहेको छ’, सचिव गुरुङले भने– ‘करिब ६÷७ दिनभित्र मैदानको सम्पूर्ण काम सकिनेछ ।’ उनका अनुसार आउँदो ११ गतेदेखि हुने प्रतियोगिताका लागि करिब ८÷९ गतेसम्म क्रिकेट मैदानको सम्पूर्ण काम सकिने बताए ।
मैदानमा उम्रिएको घाँस काट्ने काम सकिएर अहिले ग्राउण्डको अन्य भाग मिलाउने काम भइरहेकाले उक्त काम चाँडै सकिने बताए । त्यसका लागि प्रदेशको कमिटीले दाङ जिल्ला क्रिकेट संघ, लमही नगरपालिका, नगर विकास समितिसँगै देउखुरीमा रहेको क्रिकेट संघको सहयोगमा काम गरिरहेको बताए ।
प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिता नेपालगञ्जमा भइरहेको छ । पुसको ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही, दाङ र बाँके गरी तीन जिल्लाका महिला क्रिकेट टिमको सहभागिता रहेको नेपाल क्रिकेट संघ लुम्बिनी तथा कर्णाली प्रदेश सदस्य कैलाश रोकामगरले जानकारी दिएका छन् ।
तीन जिल्लाका महिला क्रिकेट खेलाडीहरुको खेलका आधारमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नका लागि प्रदेशस्तरीय टिम छनोट गरिने भएको छ ।