Home / Feature Breaking news / टिकटक बनाउन झुलेङ्गे पुलमा झुण्डिएका युवा खसेर गम्भीर घाइते

टिकटक बनाउन झुलेङ्गे पुलमा झुण्डिएका युवा खसेर गम्भीर घाइते

दाङ,५ पुस । टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका एक युवा लडेर गम्भीर घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका–५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार पुलबाट झरेर गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।

शनिबार साँझ सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको अस्पताल प्रशासनले सेतोपाटीलाई जानकारी दिएको छ ।

शनिबार रमाईलो गर्ने भन्दै २५र२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यहीँ समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए। त्यहीँ क्रममा उनको हात गलेपछि सोझै बगरमा खसेका थिए।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार घटना शनिबार दिउँसो सवा २ बजेतिरको हो।

‘पिकनिक खाइसकेपछि साथीसँगै झुलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै सपोट तारमा झुण्डिएका रहेछन्,’ केसीले भने, ‘केहीबेर झुण्डिएपछि उनको हात गल्यो र उनी त्यहीँबाट सोझै तल बगरमा खसेको भन्ने छ।’

थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोटपटक लागेको भन्ने जानकारी उनका साथीले दिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

भिडियोलाई हेर्दा पुलमुनि केहीबेर झुण्डिएको देखिन्छ। केही बेरमै त्यहीँबाट सोझै बगरमा खसेको देखिन्छ।

थापा पुलमुनि झुण्डिरहेको समयमा उनका ६ र ७ जना साथीहरु पुलमा उभिरहेका हुन्छन्।

प्रहरी निरीक्षक केसीले आफूहरू खबर पाएलगतै घटनास्थल पुगे पनि उनका साथीहरुले उद्धार गरि अस्पताल लगिसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*