Home / Feature Breaking news / ‘ठाटीमा सीमा सुरक्षा प्रहरी’

‘ठाटीमा सीमा सुरक्षा प्रहरी’

लिलाधर वली
दाङ, २४ मंसिर । नेपाल–भारत सीमा सुरक्षाका लागि दाङको भैसाही नाकामा स्थापना भएको सीमा सुरक्षा पोष्ट (बिओपी) ठाटीमा बस्दै आएको छ । सीमा सुरक्षासँगै लागूऔषध तथा आपराधिक क्रियाकलापहरु नियन्त्रण गरी जनतालाई सुरक्षा प्रदान गर्नका लागि स्थापना भएको बिओपीको आफ्नै भवन नहुँदा समस्या परेको छ ।

स्थानीय एक व्यक्तिले बनाएको ठाटी (घर)मा बस्दै आएको उक्त घरको तल्लो तलासम्म मात्र भित्ता उठाइएको छ । तालमाथि खरको छानो भए पनि भित्ता भने छैन । त्यही घरमा बसेको सशस्त्र प्रहरीको सिमा सुरक्षा बलको टोलीले नेपाली सीमा क्षेत्रको सुरक्षामा खटिएको छ । सईको नेतृत्वमा १५ जना सशस्त्र प्रहरी रहेको बिओपीको टोलीलाई खिर्की, भैसाहीनाका, मनौरादेखि भैवानाकासम्मको सुरक्षा हेर्ने काम गर्दै आएको छ ।

सीमा सुरक्षासँगै आपराधिक क्रियाकलाप नियन्त्रणका लागि भैसाही नाकामा रहेको भारतीय सुरक्षा बल एसएसवीको टोलीसँग आफूहरुले प्रत्येक हप्ता संयुक्त गस्ती गर्ने गरेको सीमा सुरक्षा पोष्ट भैसाहीका प्रमुख दुर्गाबहादुर ऐरीले जानकारी दिए । भौगोलिक रुपमा विकट ठाउँ भए पनि आफूहरुले सीमा सुरक्षाको काम गर्दै आएको बताए । ‘भौगोलिक रुपमा यो विकट ठाउँ हो, नयाँ सीमा सुरक्षा पोष्ट भएकाले आफ्नै भवन निर्माण हुन सकेको छैन’, प्रमुख ऐरीले भने । उनले हाल आफ्नो भवन नहुँदा अरुको घरमा बस्दै आएको बताए । बिओपीको भवन निर्माणका लागि जग्गा छनोट भने भइसकेको उनले जानकारी दिए ।

आफ्नै भवन निर्माण भएपछि अहिलेको समस्या हट्ने उनले बताए । अहिले अर्काको सानो आधा भित्ता मात्र उठाइएको खुल्ला घरमा बस्नुपरेका कारण चिसो मौसममा समस्या हुने गरेको बताए । ‘गर्मी समयमा बस्ने गरी घरको माथिल्लो तल्ला खुल्ला रहेको छ’, उनले भने– ‘जसले गर्दा माथि सुत्नेलाई चिसो हुने गरेको छ ।’ उनले आफ्नै घर निर्माण नगर्दासम्म समस्या नहट्ने समेत बताए । यो समस्या भैसाहीमा मात्र होइन अन्य नाकामा क्षेत्रमा बसेका सीमा सुरक्षा पोष्टहरुमा रहेको छ ।

दाङको नेपाल–भारत सीमा क्षेत्रको ८३ किलोमिटर सीमा क्षेत्रमा करिब एक दर्जन बढी सशस्त्र प्रहरीको सीमा सुरक्षा बल स्थापना गरिएको छ । गतबर्षमा नेपाल–भारत सीमा नाकाअन्तर्गत सुनपथरी, गुरुङ नाका, भैसाहीनाका, खंग्रानाकालगायतका करिब एक दर्जन नाकाहरुमा सुरक्षा पोष्ट स्थापना गरिएको थियो । यसरी राखिएका सीमा सुरक्षा बल अधिकांश कच्ची घरमा रहेका छन् । दाङमा भारतसँग जोडिएका २८ नाका रहेका छन् ।

सीमा सुरक्षा प्रहरीलाई पनि समस्या

भैसाही नाकामा रहेको सीमा सुरक्षा प्रहरीको हालत पनि उस्तै रहेको छ । अर्काको घरमा बस्दै आएको सीमा सुरक्षा प्रहरीको घरमा माथिल्लो तलामा भित्ता उठाइएको भए पनि झ्याल ढोकाका पल्ला छैनन् । जसले गर्दा झ्याल र ढोकामा बोरा र कपडा लगाएर बस्नुपर्ने बाध्यता रहेको सीमा सुरक्षा चौकी भैसाही नाकाका प्रमुख सई ओमबहादुर गिरीले बताए ।

उनले आफ्नै भवन नहुँदा प्रहरीलाई समस्या भएको बताए । ‘२२ जनाको दरबन्दी रहे पनि ६ जना बस्दै आएका छौं तर आफ्नै भवन भने छैन’, प्रमुख गिरीले भने– ‘आफ्नै भवन नहुँदा अर्काको घरमा बसेका छौ, घरको झ्याल र ढोकाका पल्लै छैनन् ।’ उनले घरबेटीलाई घरको माथिल्लो तलामा झ्याल र ढोकाका पल्ला जोड्न आग्रह गरे पनि विभिन्न समस्या कारण घरबेटीले जोड्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*