Home / Feature Breaking news / यस बर्ष मह उत्पादन घट्यो

यस बर्ष मह उत्पादन घट्यो

अमरराज आचार्य
दाङ, २४ मंसिर । यस बर्ष जिल्लामा मह उत्पादन घटेको छ । गत वर्षको भन्दा यस बर्ष मह उत्पादनमा कमी आएको पाहुरीपालक किसानहरुले बताएका छन् ।

गत वर्ष हालसम्म करिब ३÷४ पटकसम्म मह काढेका कृषकहरुले यस वर्ष २ पटक पनि मह काढ्न नपाएको बताएका छन् । यस वर्ष पानी नपरेपछि तोरी पनि छिटो सुकेको र चिउरीको फूलमा पनि किरा देखापरेका कारण मह उत्पादनमा कमी भएको कृषकहरुको भनाइ रहेको छ । वातावरण अनुकूल नहुँदा मह उत्पादनमा कमी भएको कृषकहरु बताउँछन् । अहिले जिल्लामा रहेका माहुरी कृषकहरुले चरणका लागि बाहिरी जिल्लामा लैजान थालेका छन् ।

जिल्लामा मह उत्पादन लिन नसकिने भएपछि बाहिर लगिएको हो । माहुरीपालक किसानहरुले चरण क्षेत्रतिर तोरी छरेको स्थानतिर माहुरी लगेका हुन् । जिल्लाबाट कैलाली, बर्दिया, कपिलवस्तु लगायतका स्थानमा माहुरी चराउनको लागि लगिएको छ । यता, कृषि ज्ञान केन्द्रले जिल्लामा समग्ररुपमा मह उत्पादनमा कमी नहुने जनाएको छ ।

ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलले अहिले केही कम उत्पादन भएको भए पनि समग्रमा उत्पादन बढ्ने बताए । बाहिर जिल्लामा चरणका लागि लगेर गरिएको उत्पादन पनि जिल्लाको उत्पादनमा जोडिने भएकाले समग्रमा नघट्ने उनको भनाइ रहेको छ ।

त्यसैगरेर चैत, बैशाखमा पनि मह काढिने छ । ‘अहिले केही घटेको पाइए पनि पछि र चरणको लागि बाहिर लगिएकोबाट भएको उत्पादनले समग्रमा उत्पादन कम हुने छैन’, उनले भने । हालसम्म कृषकहरुले २ पटक पनि नकाढेको उनले बताए । यसै समयमा अघिल्लो वर्ष कृषकहरुले ३ देखि ४ पटकसम्म मह काढेको उनको भनाइ छ । यस वर्ष प्रतिघार ६ देखि ८ केजीसम्म उत्पादन भएको उनी बताउँछन् । अघिल्लो वर्ष २६ देखि २८ केजी उत्पादन भएको थियो ।

हालसम्म जिल्लामा करिब साढे ३ सय मेट्रिकटन मह उत्पादन भएको छ भने यस वर्ष ६ सय मेट्रिक टन उत्पादन हुने लक्ष्य रहेको बाली संरक्षण अधिकृत पौडेल बताउँछन् । ‘जिल्लाका कृषकहरुले चरणका लागि बाहिर लगेर भएको उत्पादनले लक्ष्य पूरा हुनेछ’, पौडेलले भने । गत वर्ष जिल्लामा साढे ४ सय मेट्रिक टन मह उत्पादन भएको थियो । कोरोना संक्रमणको कारणले पनि गत वर्ष कम उत्पादन भएको उनको भनाइ रहेको छ ।

मह उत्पादन कमी हुनुको कारण चिउरीको फूलमा किरा देखिएको, मौसम प्रतिकूल तोरी लामो समयसम्म नफुल्ले भएको उनको उनी बताउँछन् । त्यसैगरेर माहुरीको वंश गर्दा पनि केही प्रभाव परेको उनको भनाइ छ । माहुरीको वंशको सुधार गर्न आवश्यक रहेको पौडेलले बताए । यसका लागि ज्ञान केन्द्र र माहुरी जोनले नयाँ रानी उत्पादन गर्ने योजना रहेको उनी बताउँछन् ।

जिल्लामा करिब साढे ६ सय कृषकहरु रहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । व्यावसायिकरुपमा माहुरीपालन गर्नेहरुको संख्या करिब २ सय बढी रहेको बाली संरक्षण अधिकृत पौडेल बताउँछन् । जिल्लामा हाल साढे १७ हजार मेरीफेरा माहुरीका घार र ३ हजार घार सेराना माहुरीका घार रहेका छन् ।

महको माग बढ्यो मूल्य पनि वृद्धि

यस वर्ष महको माग बृद्धि भएको कृषकहरु बताउँछन् । कृषकहरुले मह काढ्दा–काढ्दै नै मह सकिने गरेको छ । यस वर्ष महको माग बढी रहेको माहुरीपालक कृषक दिनेश वलीले बताए । ‘यस वर्ष मह खोज्नेहरुको संख्या धेरै रहेको छ’, उनले भने । उनले काढेको मह सबै बिक्री भइसकेको बताए । दोस्रो लट अझै काढ्न नपाएको उनको भनाइ रहेको छ ।

शरीर स्वस्थ राख्न मह खानु पर्दछ भन्ने भावनाको विकास भएको कारण माग बढेको कृषकहरु बताउँछन् । गत वर्ष सम्म २÷३ किलो किन्नेले पनि यस वर्ष ८÷१० किलोसम्म किनेको माहुरीपालक कृषक बताउँछन् । कोरोना संक्रमणबाट बच्नको लागि महले रोग प्रतिरोधात्मक शक्ति दिने विज्ञहरु बताउँछन् ।

महको माग बढेसंगै मूल्य पनि बृद्धि भएको छ । यस वर्ष कृषकले घरबाटै प्रतिकेजी साढे ४ सयदेखि ५ सय रुपैयाँ केजीसम्म बिक्री गरेको बताएका छन् । गएको वर्ष प्रतिकेजी ३ सय ५० देखि ४ सयसम्ममा मह बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*