Home / खेलकुद / मेस्सीकाेे उच्च प्रदर्शनमा बार्सिलोनाको फराकिलो जित

मेस्सीकाेे उच्च प्रदर्शनमा बार्सिलोनाको फराकिलो जित

एजेन्सि । कप्तान लियोनल मेस्सीको उच्च प्रदर्शनमा प्रेरित बार्सिलोनाले फराकिलो जित निकालेको छ । मालोर्काको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४-० गोलको फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए । त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै भिडालले अल्बाको लामो पासमा हेडिङमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३७औं मिनेटमा ब्रेथवेटले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-० को अग्रता दिए । उनले मेस्सीको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्दा मेस्सीले एक गोल र एक असिस्ट गरे । खेलको ७९औं मिनेटमा अल्बाले मेस्सीको पासमा गोल गर्दा बार्सिलोना ३-० गोलले अगाडि बढ्यो । त्यसपछि खेलको इन्जुरी समयमा मेस्सीले गोल गरे । उनले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४-० को फराकिलो जित दिलाए ।

यस जितसँगै बार्सिलोनाले २८ खेल खेल्दै ६१ अंक जोडेको अंक तालिकाको शिर्ष स्थानमा दोस्रो स्थानको रियल मड्रिडविरुद्ध पाँच अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ । पराजित मालोर्का २५ अंकसहित १८औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*