पर्वत, ३२ जेठ
पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा आठजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् ।
पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर थापा, उनकी पत्नी मीनकुमारी थापा, नातिनी विविशा थापाको मृत्यु भएको छ । यस्तै दीपा थापा र कमला विक र प्रमिसा विकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै सम्राट थापा र विवेक थापाको पनि शव भेटिएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाह्रखरीलाई जानकारी दिए ।
प्रजिअ रेग्मीका अनुसार प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले पनि त्यहाँ सुरक्षाकर्मीद्वारा उद्धार कार्य जारी छ । घटनास्थलमा डोजर पनि लगिएको छ ।