घोराही, १० असार
नेपाल पत्रकार महासंघ दाङले सुरु गरेको मिडिया साक्षरता अभियान अन्तरगत प्रहरीहरुलाई मिडियासम्बन्धी अभिमूखीकरण कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङसँगको सहकार्यमा प्रहरीहरुलाई अभिुमखीकरण गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले मिडियाको बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले सञ्चार भनेको के हो, सञ्चार साक्षरता भनेको के हो, समाचार र विज्ञापनबिचको फरक, पत्रकारिताले कसरी काम गर्छ, मिडियाको दायित्व, मिडियाको आचरण, प्रेस स्वतन्त्रता र बहुलवाद, मिडियाको सामाग्रीमा चित्त नबुझे के गर्ने, सामाजिक सञ्जाल र सञ्चार माध्इमबीचको फरक लगायतका विषयमा जानकारी दिनुभएको थियो ।
उहाँले प्रहरीले पत्रकार आचारसंहिता अध्ययन गर्न आवश्यक भएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालबीचको फरकका विषयमा जानकार रहन अनुरोध गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य सरद अधिकारीले प्रेस काउन्सीलले गर्ने कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जि.एम, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं सल्लाहकार सुदीप गौतम, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर वली लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहभागी प्रहरीहरुले मिडियासम्बन्धी जिज्ञासा राख्नुभएको थियो । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव आर.के.शीतलले गर्नुभएको थियो ।