Home / Feature Breaking news / सहुलियतको चामल बिक्री भएन

सहुलियतको चामल बिक्री भएन

 

दाङ, १८ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालय तुलसीपुरको सहुलियतको चामल बिक्री भएको छैन् ।

वडादशै, तिहार तथा छठपर्वको उपलक्ष्यमा कम्पनीले उपभोक्ताहरुलाई सहुलियतमा चामल बिक्री गर्ने योजना ल्याए पनि पर्याप्त मात्रामा चामल बिक्री नभएको कम्पनी लिमिटेड तुलसीपुरले जनाएको छ । भदौ २९ देखि मंसिर पहिलो हप्तासम्म सहुलियत दररेटमा खाद्यान्न बिक्री वितरण गर्ने भने पनि साचेअनुरुप चामल बिक्री नभएको कम्पनीका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिएका छन् ।

बजार मूल्यभन्दा पनि धेरै छुट दिएर चामल सहुलियतमा बिक्री गर्न थाले पनि चामल बिक्री नभएको उनले बताए । जिरा मसिनो चामल, सोना मनसुली चामलमा प्रतिक्वीन्टल ५ सय छुटका साथै अन्य चामलहरु पनि बिक्रीका लागि राखिए पनि हालसम्म जिरा मसिनो चामल १ क्वीन्टल २५ किलो र जापानी चामल ९० किलोमात्र बिक्री भएको चौधरीले जानकारी दिए ।

कम्पनीले जिरा मसिनो, सोना मनसुली, मोटाचामल जापानीलगायतका चामल कार्यालयबाट बिक्री गर्ने योजना बनाएको थियो । बिक्री नभएपछि चामल कार्यालमै थन्किएको छ । सहुलियतमा उपभोक्ताहरुलाई खाद्यान्न बिक्री गर्ने योजना भए पनि पर्याप्त प्रचार–प्रसार र उपभोक्ताहरुलाई जानकारी नहुँदा पनि लक्ष्यअनुरुप चामल बिक्री नभएको कम्पनीले जनाएको छ ।

‘हामीहरुले बजार मूल्यभन्दा सहुलियतमा चामल बिक्रीका लागि राखेका छौं, तर उपभोक्ताहरु जानकारी नहुँदा तथा प्रचार–प्रसारको कमीले होला आउनु भएन’, चौधरीले भने । उनले आफूहरुसँग पर्याप्त मात्रामा चामल भएको बताए । कम्पनीले जिरा मसिनो चामल ५१ सय, सोना मन्सुली ४२ सय र जापानी चामल ४७ सयमा प्रतिक्वीन्टल बिक्री गर्दै आएको जनाएको छ । त्यसैबीच कम्पनीले आइतवार भने १ सय ८० क्वीन्टल चामल जाजरकोटका लागि पठाएको जनाएको छ ।

कम्पनीको चामल विभिन्न कारागारहरुमा बिक्री भए पनि उपभोक्ताहरुले भने नलिने गरेको बताएको छ । ‘एउटा त जानकारी नभएर होला, अर्को जिल्लामा सबैको घरमा चामल छ त्यसैले पर्याप्त मात्रामा यस बर्ष चामल बिक्री भएन’, निमित्त प्रमुख चौधरीले भने । कम्पनीमा पर्याप्त चामल भए पनि उपभोक्ताहरुको रोजाइँमा पर्न सकेको छैन । अन्य स्थानमा पनि सबै चामल ढुवानी नहुँदा चामल गोदामै थन्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*