Home / Feature Breaking news / शिक्षण सिकाइमा शिक्षक नै अन्योलमा

शिक्षण सिकाइमा शिक्षक नै अन्योलमा

सुशील बस्नेत
तुलसीपुर, १८ कार्तिक । शैक्षिक संस्था सञ्चालनमा आए पनि पाठ्यक्रममा एकरुपता आउन नसक्दा शिक्षकहरु अन्योलमा परेका छन् । कोरोना भाइरस संक्रमणको त्रासका कारण गत चैत पहिलो हप्तादेखि अवरुद्ध भएका शैक्षिक संस्थाहरु गएको असोज १ गतेदेखि सञ्चालनमा आएका थिए । त्यस अघि पनि प्रविधिको उपयोग गर्दै वैकल्पिक शिक्षण सिकाई भएका थिए ।

वैकल्पिक शिक्षण सिकाइ अन्तर्गत रेडियो, टिभी, भर्चुअलमार्फत् कक्षा सञ्चालनमा आएका थिए । वैकल्पिक शिक्षण सिकाइले प्रभावकारिता हुन नसकेको अवस्थामा सरकारले नयाँ शिक्षण सिकाइका लागि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सोही अनुरुप पाठ्यवस्तु समायोजन ढाँचा र विद्यार्थी मूल्याङ्कन ढाँचा २०७७ पनि सरकारले कार्यान्वयनमा ल्याएको छ । तर शिक्षण सिकाइमा एकरुपता भने आउनसकेको छैन ।

शैक्षिक संस्थाहरु खुल्ला गरिए पनि शिक्षण सिकाइमा शिक्षकहरु आफै अन्योलमा परेको माध्यमिक विद्यालय तुलसीपुर सेण्टरका शिक्षिका सुनिता यादवले बताएकी छन् । ‘सबै विद्यार्थी विद्यालयमा आउने वातावरण छैन’–उनले भनिन्–‘विद्यालय सञ्चालनमा आए पनि सामान्य अवस्थामा अध्यापन गराएकोझैँ हुनै सकेको छैन ।’ यस अघि बैशाखदेखि सुरु भई चैत्र मसान्तलाई नयाँ शैक्षिक–सत्रको व्यवस्था थियो ।

तर वर्तमान अवस्थाका कारण सरकारले असोज १ गतेदेखि चैत मसान्तसम्मलाई यस वर्षको शैक्षिक–सत्र मानेको छ, सोही अनुरुप पाठ्यवस्तु पूरा गर्नुपर्ने व्यवस्था समेत बनाएको शिक्षा विकास तथा समन्यव ईकाई दाङका प्रमुख देवनारायण चौधरीले बताए । शिक्षा नियमावलीअन्तर्गत समन्वय र प्राविधिक सहयोग मात्र समन्वय ईकाईलाई भएकाले शिक्षासम्बन्धी सम्पूर्ण अधिकार स्थानीय सरकारसँग रहेको चौधरीको भनाइ छ ।

एकवर्षे शैक्षिक सत्रमा एक सय २० दिन अध्यापन गराउनुपर्ने व्यवस्थामा कटौती गरी हाल परिस्थितिमा १ सय दिनमा शैक्षिक सत्र पूरा गर्नुपर्ने बनाएको छ । एक सय दिनका लागि निर्धारण गरेको पाठ्यवस्तु पूरा गरी विद्यार्थीको मूल्याङ्कन गर्नुपर्ने, भर्चुअल कक्षामा सहभागिता मूल्याङ्कन, सिकाई केन्द्रमा विद्यार्थीको दैनिकी हाजिरी, विद्यार्थीहरुको आनीबानीमा आएको व्यावहारिक परिवर्तन र अध्यापन गरेको विषयको गृहकार्यको आधारमा दुई चरण परीक्षा हुने व्यवस्था छ ।

जसमा मंसिरको अन्तिम सातामा पहिलो र चैतको दोस्रो हप्तामा परीक्षा लिई चैत्र मसान्तसम्म अन्तिम नतिजा प्रकाशन गर्नुपर्ने सरकारले बनाएको शैक्षिक कार्यविधि २०७७ मा व्यवस्था छ ।
तर शिक्षकहरुको शैक्षिक क्रियाकलाप पुरानै अवस्थामा छ । जसका कारण तोकिएको समय र प्रक्रियामा नयाँ शैक्षिकसत्रभित्र पाठ्यवस्तु पूरा हुनसक्नेमा आशंका गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण शिक्षण सिकाई केन्द्र सञ्चालनका लागि केही मापदण्ड समेत बनाइएको छ । सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ लाई केही हदसम्म लागू गर्ने प्रयासमा माध्यमिक विद्यालय बालापुर रहेको शिक्षक निर्मल नेपालीले बताए ।

सरकारले लागू गरेको मापदण्ड अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । मापदण्डलाई पालना गर्दै विद्यालयमा भौतिक दूरी कायम गरी पठनपाठन सञ्चालन गरिएको भए पनि प्रभावकारी भने हुन नसकेको अनुभव लमही नगरपालिकालाई रहेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख रवीन्द्र केसीकाअनुसार विद्यार्थीमा कोरोना भाइरस संक्रमणको त्रास झन बढ्नसक्ने आशंका बढ्दै गएपछि पूर्ण रणनीति परिवर्तन गरिएको उनले बताएका छन् ।

मंसिर १ गतेपछि लागू हुने गरी वैकल्पिक शिक्षण सिकाई सञ्चालन गर्ने तयारी लमहीले गरेको छ । प्रोजेक्ट बनाउने एउटा समूह जुटेको छ भने अर्को समूहले पालिकाको निर्देशिका लेखनको तयारीमा जुटेको छ । कक्षा ३ सम्मका बालबालिकाहरुका लागि पाठ्य सामग्री अभिभावकलाई उपलब्ध गराउने र ४ कक्षादेखि १० सम्मका लागि विद्यार्थीलाई नै उपलब्ध गराउने तयारी गरिएको क्षत्रीले बताए । बिद्यार्थीहरुले स्वअध्ययन गर्ने र टेलिफोनमार्फत् उनीहरुको शिक्षण सिकाई÷अध्ययनको अबस्थाका बारेमा जानकारी लिने तयारीमा जुटेको लमही नगरपालिका शिक्षा शाखा प्रमुख क्षत्रीले बताए ।

बालबालिका र शिक्षकलाई कोरोना भाइरस संक्रमण हुन नदिनका लागि सतर्कता स्वरुप शिक्षण सिकाइ केन्द्रमा पुगेका बालबालिका र शिक्षक कर्मचारीलगायतले साबुन पानीले अनिर्वाय हात धुनुपर्ने, मास्कको अनिवार्य प्रयोग, सेनिटाइजरको प्रयोग र भौतिक दूरी एक मिटर कायम गरी शिक्षण सिकाइ सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*