Home / Feature Breaking news / स्कुल विभागबारे ओली-प्रचण्डबीच कुरा मिलेन, सचिवालय बैठक सर्‍यो

स्कुल विभागबारे ओली-प्रचण्डबीच कुरा मिलेन, सचिवालय बैठक सर्‍यो

बिनु सुवेदी
काठमाडौं, ७ साउन

पार्टी स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा दुई अध्यक्षबीच कुरा नमिलेपछि नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक धकेलिएको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्कुल विभागमा कसलाई प्रमुख बनाउनेबारे छलफल गरेका थिए। छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो।

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्चो पनि छैन र दुई अध्यक्षलाई गृहकार्यका लागि थप समय पनि चाहिन्छ भन्ने खबर आयो,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने। उनका अनुसार अर्को बैठक साउन ९ गते बस्ने भनिएको छ।

पार्टी स्कुल विभागको प्रमुखमा सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरलले दाबी नछोडेपछि सोमबार करिब तीन घन्टा ओली र प्रचण्डबीच छलफल भएको थियो।

स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्नेबारे दुई जनाबीच कुरा मिलेन। प्रचण्डसहित पूर्वमाओवादी केन्द्रका नेताहरूले पोखरेललाई स्कुल विभाग प्रमुख दिन नहुने अडानमा छन्।

पार्टीको कार्यनीति जनताको जनवाद हुने सहमति भइसक्दा पनि जनताको बहुदलीय जनवादकै पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै पोखरेललाई स्कुल विभाग प्रमुख बनाउन नहुने तर्क पूर्वमाओवादी पक्षको छ।

स्कुल विभागको टुंगो नलाग्दा नेकपाभित्रका पूर्वमाओवादी पक्षले आफ्नो भागमा परेको आर्थिक विभागमा कसलाई पठाउने भन्ने निधो गर्न सकेको छैन।

 यसअघि दुई अध्यक्षबीच छ विभागमध्ये संगठन, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान पूर्वएमालेलाई, आर्थिक र प्रचार विभाग पूर्वमाओवादी केन्द्रलाई दिने अनौपचारिक समझदारी बनेको थियो।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*