Home / Feature Breaking news / जोडिदै दाङ–सुर्खेत–कर्णाली

जोडिदै दाङ–सुर्खेत–कर्णाली

बालाराम खड्का

दाङ, २६ भदौ

दाङ सुर्खेत हुँदै कर्णालीसम्म जोडिँदै छ । बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करिब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढेको छ ।

निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा प्रदेश नं ५ र प्रदेश नं ६ लाई जोड्ने लिङ्करोडको रुपमा समेत मानिन्छ ।

सडकको स्तरोन्नतिसँगै पश्चिम दाङका बजारहरु पनि भरिँदैछन् । दाङको पश्चिम क्षेत्रको समृद्धितिर लम्कँदै छ, यसले गर्दा अब कर्णाली दाङको सिधा सम्पर्कमा रहने छ । त्यहाँका वस्तुहरु दाङ र दाङबाट कर्णालीसम्म पुग्न पनि सहज हुनेछ ।

दाङको समृद्धिको रुपमा लिएको सो सडकको कालोपत्रेको काम तीव्र गतिमा भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

विभिन्न चार प्याकेजमा काम शुरू भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिएका छन् ।

सडक उतरोन्नतिको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालि र प्यासीप जेभीले डेढ वर्षभित्र दाङ सल्यान र सुर्खेतसम्म जोड्ने बाटो निर्माण सम्पन्न हुने बताएको छ ।

पोटलीदेखि बागर र रगैँचादेखि बहुलाखोलासम्मको ६ किलोमिटर सडक पनि कालोपत्रे भएको छ । पुरन्धारासम्म सडक कालोपत्रे सम्पन्न हुँदै छ ।

पुरन्धारादेखि दाङ र सल्यानको एक्लेबरसम्मको सडकमा सडक फराकिलो गर्ने काम सकिएको छ । विभिन्न चार फेजमा हुने सडक कालोपेत्रको काम पोटलीदेखि हापुरेसम्म १४ करोड, हापुरेदेखि एक्लेबरसम्म २० करोड र एक्लेबरदेखि सल्यानका काल्चेसम्म साढे ४४ करोड गरी करिब ७५ करोड बढीमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा छ ।

यसैगरी सल्यान–दाङको सीमाना एक्लेबरसम्म विभिन्न स्थानमा नाला निर्माण र साढे पाँच मिटरको बाटो चौडा गराउने काम पनि अन्तिम चरणमा छ ।

त्यस्तैगरी एक्लेबरदेखि सल्यानको काल्चेसम्मको सडकमा कल्भर्ड निर्माण, पर्खाल लगाउने काम पनि तीव्र रुपमा अगाडि बढेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

कालीका प्यासिप जेभीले २०७७ असारसम्ममा सडक कालोपत्रेको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको सडकले जनाएको छ । ‘सडक निर्माणको काम तीव्ररुपले अगाडि बढेको छ, तर विभिन्न सडकखण्डमा वनको जग्गा परेकाले अलि काममा अवरोध भएको छ’ –गौतमले भने । वनले समयमै सडक वरपर क्षेत्रमा पर्ने रुखहरु नहटाउँदा काममा बाधा पुग्ने देखिएको बताएको छ ।

‘सम्भवतः काममा कुनै अवरोध नभए एक, डेढ वर्षमा सबै काम सम्पन्न हुनेछ’–सूचना अधिकारी गौतमले भन्नुभयो । दाङ, सल्यान र सुर्खेत गरी प्रदेश नं ५ र ६ लाई जोड्ने यो करिब ६२ किलोमिटर बाटो कालोपत्रे भएमा सुर्खेतको बोटेचौरसम्म करिब ४ घण्टामै पुग्न सकिने छ ।

यसैगरी सुर्खेतको छिन्चुसम्म ७७ किलोमिटर रहेको छ । सडक जोडिएसँगै दाङको समृद्धिको ढोका खोल्ने बताएको छ । यस बाटोको स्तरोन्नति भयो भने यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला, मुगुको रारासम्म पुग्न सहज हुने बताइएको छ ।

सो सडकखण्डमा पहिले यात्रा गर्दा मानिस चिन्न नसक्ने गरी धुलो उड्ने र यात्रा जोखिम हुने गरेको यात्रुहरु बताउँछन् । हाल बाटो सहज हुँदा भने उनीहरु खुशी व्यक्त गर्दछन् ।

‘यस्तो सडक बन्ला भनेर हाम्रो कल्पना नै थिएन, तर हाल सडकमा धेरै सुधार भएको छ, अब कालोपत्रे भयो भने दाङको पनि विकास हुन्छ, प्रदेश नं ५ र ६ जोड्ने यो सडक बन्नु सबैका लागि राम्रो हो’ –स्थानीय रामबहादुर डाँगीले भने ।

हाल दाङ–सुर्खेत सडकखण्डको निर्माण कार्य तीव्र गतिमा भएपछि कर्णाली प्रदेशको उपनामले चिनिने पश्चिमवासी पनि खुशी भएका छन् ।

‘यसले दाङको समृद्धिको ढोका खोल्छ अबको एक÷दुई वर्षमै यस क्षेत्रको विकास हुनेछ’ –सल्यान कालिमाटी निवासी चन्द्रीका घर्तीले भनिन् ।

त्यसैगरी सो सडकखण्डमा यातायात सञ्चालन गर्दै आएका निमाराम वलीले पनि पहिलेको भन्दा सयौं गुणा सडकको सुधार भएको बताए । कुनै समय दाङ–सुर्खेतको यात्राका लागि एक दिन समय खर्चनुपर्ने समस्या थियो ।

समयसँगै बाटोको अवस्था दयनीय हुँदा यात्रुहरु तथा यातायात व्यवसायीहरुले हैरानी व्यहोर्नुपर्ने समस्या थियो । ठाउँ–ठाउँमा यात्रुहरु ओराल्नुपर्ने र गाडीमा चढेका यात्रुहरु धुलाम्मे हुने समस्या थियो ।

तर हिजोआज भने सो सडकखण्डमा यात्रा गर्ने यात्रुहरुलाई सहज भएको छ । साथै पश्चिम दाङ र पूर्वी सुर्खेतवासीवीच भएको रोटिवेटीको सम्बन्धलाई समेत सो सडकले थप सहज बनाउने बताइएको छ ।

त्यस्तै यहाँबाट मुगुको रारा, जुम्ला, कालीकोट, दैलेखसम्म पुग्न पनि यात्रा छोटो हुने बताएको छ । दाङ–सुर्खेत सडकको विभिन्न स्थानमा मापदण्ड विपरित विद्युतको पोलहरु गाडिएकाले केही समस्या भएको बताइएको छ ।

दाङबाट सुर्खेत पुग्नलाई नेपालगञ्ज हुँदै छिन्चुसम्म करिब एक सय ७८ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ, तर दाङ–सुर्खेत सडकखण्डबाट यात्रा गर्दा आधा ७७ किलोमिटर मात्र यात्रा गर्नुपर्ने
भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*