काठमाडौँ, १७ असार
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको छ।
मंगलबार बसेको समिति बैठकले नेपालमा आयोजना हुने आइफा अवार्ड रोक्न निर्देशन दिएको समितिकै कर्मचारी गोपाल सिग्देलले जानकारी दिए।
गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए।
अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो।
अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।
समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि थिए।
यो समितिले अवार्डका लागि सम्झौता, सहजीकरण, समन्वय गर्ने र कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको थियो।
अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने बताइएको थियो।
के छ समितिको निर्देशनमा
भारतीय निजी कम्पनी विजक्राप्ट इन्टरनेसनल प्राइभेट लिमिटेडलाई नेपालमा इन्टरनेसनल इण्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रम आयोजना गर्न दिने सम्बन्धमा नेपाल सरकार र उक्त संस्थासँग गरिने भन्ने सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पुर्याउने रहेको, समग्रमा सो कार्यक्रम नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको तथा सम्झौताको मस्यौदामा नेपाल सरकारले व्यहोर्न पर्ने आर्थिक दायित्व अत्यन्तै अनुचित र अस्वभाविक किसिमले ठूलो भई नेपालको आर्थिक अवस्थाको दृष्टिबाट उचित नदेखिएकाले, यस्तो कार्यक्रम सम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न नेपाल सरकारलाई निर्देशन दिने। साथै नेपाल सरकारसँग यस कार्यक्रमको समग्र र विस्तृत जानकारी आगामी बैठकमा माग गर्ने।
सेतोपाटीबाट