दाङ,१६ असार । मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनार दाङको घोराहीमा हुने भएको छ । नेपाल मार्शल आर्ट हाप्किडो संघ दाङको आयोजनामा साउनको १० र ११ गते घोराहीमा प्रदेशस्तरिय सेमिनार हुन थालेको हो ।
नेपाल मार्शल आर्ट हाप्किडो संघ दाङ शाखाले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि सेमिनारका बारेमा जानकारी दिएको हो । नेपालमा पहिलो पटक गर्न थालिएको सेमिनारमा प्रदेश नं. ५ का १२ जिल्लाका दुई सय खेलाडीहरुको सहभागिता हुने नेपाल मार्शल आर्ट हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरले जानकारी दिए । उनका अनुसार सेमिनारमा दाङसहित रोल्पा, पूर्वी रुकुम, प्युठान, पाल्पा, बाँके, बर्दिया, रुपन्देही,कपिलबस्तुलगायतका जिल्लाका खेलाडीहरु सहभागी हुनेछन ।
‘खेल क्षेत्रको महत्वसँगै हाप्किडो संघका नीति, नियमका बारेमा जानकारी दिने उद्देश्यले सेमिनार गर्न थालेका छौँ’,अध्यक्ष बुढामगरले भने,‘पहिलो पटक गर्न थालेका छौँ । यसले खेलाडीहरुलाई उत्साह थप्ने काम गर्नेछ ।’ कोरियावाट सुरु भएको खेलका बारेमा जानकारीसँगै नयाँ खेलाडी उत्पादनका लागि समेत प्रदेशस्तरिय सेमिनार महत्वपुर्ण हुने नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय सदस्य हरीबहादुर सुनारले बताए ।
आत्मरक्षासँगै स्वास्थ्यका लागि यो खेल खेलिने गरेको समेत उनले बताए ।
प्रदेशस्तरिय सेमिनार सञ्चालनका आर्थिक समस्या भएपनि खेलाडीहरुकै पहलमा गर्न थालिएको नेपाल मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय सदस्य सुवर्ण बिसीले बताए । प्रदेश नं. ५ मा पहिलो पटक हुन थालेको सेमिनारमा सहभागी हुन समेत खेलाडीहरुलाई बिसीले अनुरोध गरेका छन ।
RaptiSandesh RaptiSandesh