Home / Feature Breaking news / बमजनलाई समाउन सिआइबीले चलाएको ‘ब्लु अपरेसन’

बमजनलाई समाउन सिआइबीले चलाएको ‘ब्लु अपरेसन’

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो २ बजे तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनलाई सार्वजनिक गर्‍यो।

बलात्कार, बाल यौन दुरूपयोग र हत्यासमेतको आरोप लागेका बमजनलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो।

बाराको घना जंगलमा तपस्या गरेर चर्चा कमाएका बमजनले त्यसैको आडमा अपराधको श्रृंखला मच्चाएका थिए। उक्त घटना सार्वजनिक भएपछि उनी फरार भएका थिए। कतिपटक त प्रहरीले उनको खोजी गर्दै  विभिन्न जिल्लामा रहेका उनका आश्रममा छापा मारेको थियो। तर जसोतसो उनी फुत्किन्‍थे, फेला पर्दैनथे।

सिआइबी र जिल्‍ला प्रहरी कार्यालयले दुईवर्षअघि बमजन सिन्धुलीमा रहेको सूराकी पाएको थियो।त्यसपछि प्रहरी टोलीले टोलीले सिन्धुली आश्रममा छापा मार्दा पनि उनलाई फेला पार्न सकेन।

यस घटनाको अनुसन्धान नेपाल प्रहरीका विभिन्न निकायले गरिरहेको थियो। विभिन्न निकायका कतिपय अनुसन्धान अधिकृत समेत परिवर्तन भए।

यता सिआइबीमा १९ महिनाअघि आएका डिएसपी धर्मराज भण्डारीलाई सुरूदेखि नै रामबहादुर बमजनको खोजी गर्ने जिम्मा दिइएको थियो। उनले त्यसैबेला यसको अनुसन्धान अघि बढाएका थिए। तर कतैबाट पनि बमजन फेला पार्न सकेका थिएनन्।

सोही क्रममा दुई महिनाअघि प्रहरीले बमजन काठमाडौं आएको सूचना पायो। उनी दुई महिनादेखि आफ्नै घरमा बसिरहेको एसएसपी दिनेश आचार्यले बताए।

‘काठमाडौं आएदेखि उनी घरमा बसिरहेको भन्ने रहेछ,’ उनले भने।

सूचना पाएपछि प्रहरीले विभिन्न तरिका अपनाएर सुराकी परिचालन गर्‍यो। बमजनको परिवार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६ हात्तिगौंडास्थित एक घरमा बस्दै आएको सिआइबीले पत्ता लगायो। सिआइबीले अनेक जुक्ति लगाएर उनी बसिरहेको घर पत्ता लगायो।

घर पत्ता लागेता पनि बमजन त्यहीँ छन्/छैनन् भन्ने प्रहरीलाई थाहा थिएन। दैनिक निगरानी गर्ने क्रममा बुधबार बमजन सोही घरमै छन् भन्ने यकिन भएपछि प्रहरी छापा मार्न पुगेको सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्।

‘हिजो बेलुकी ढुक्क भयौं, अनि रेड गरी पक्रियौं,’ पत्रकार सम्मेलनमा एआइजी बज्राचार्यले भनिन्, ‘विभिन्न तरिकाहरू अपनाएर हामीले उनी घरमा रहेको पत्ता लगाएका थियौं।’

मंगलबार साढे ७ बजेतिर डिएसपी भण्डारीको टोली बमजन बसिरहेको घरमा पुगेको थियो। त्यहाँ बमजनकी श्रीमती र छोराछोरीले डिएसपीको टोलीलाई गेटमै रोक्न खोजेका थिए। तर बमजन भने प्रहरी आएको थाहा पाएपछि घरको चौथो तला पुगी हाम फालेर दोस्रो तलामा पुगेका थिए।

‘प्रहरी आएपछि उनी चौथो तलाबाट दुई तलामा आइपुगेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो,’ एसएसपी दिनेश आचार्यले भने।

उनको खोजी गर्न प्रहरीले गोप्य अपरेसन चलाएको एआइजी बज्राचार्यले बताइन्। यसअघि छापा मारेर उनलाई पक्राउ गर्न खोज्दा असफल भएको हुँदा यसपटक गोप्य अपरेसन चलाइएको उनको भनाइ थियो।

‘लामो समयदेखि नेपाल प्रहरीले विशेषगरी केन्द्रीय अनुसन्धान ब्‍युरोले बमजनलाई खोजिरहेको थियो। प्रयास भइरहेकै थियो,’ उनले भनिन्, ‘पछिल्लो समय गरेका अपरेसनहरू कहीकतैबाट सार्वजनिक भएको हुँदा उक्त ठाउँबाट भागेको अवस्था थियो। त्यसैले यसपालि गोप्य तरिकाले अनुसन्धान गर्यौं।’

यस्तै, बमजनलाई पक्राउ गर्ने अदालतबाट पुर्जी समेत जारी भएको छ। उनी पक्राउ परेपछि सिआइबीले यसलाई ‘अपरेशन ब्लू’ को नाम दिएको छ।

प्रहरीले घरमा छापा मार्दा बमजनसहित ठूलो मात्रामा अवैध रकम फेला पारेको छ। सिआइबीका अनुसार प्रहरीले उनको घरबाट सेफभित्र राखिएका विदेशी मुद्रासहित कुल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बराबरको नगद बरामद गरेको छ।

प्रहरीले बमजनको घरबाट १७ देशका विदेशी मुद्राहरू ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको बरामद गरेको छ।

सिआइबीले उक्त रकमको स्रोतबारे पनि अनुसन्धान गर्ने जनाएको छ। त्यसबाहेक सिआइबीले उनको घरबाट महंगा गाडी बरामद गरेको छ।  बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर बरामद गरिएको छ।

त्यसबाहेक उनले शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए। उक्त गाडी बमजनले वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए। गाडी खरिद गर्न उनले तीन करोड रुपैयाँ भुक्तानी समेत दिइसकेको अनुसन्धानबाट खुलेको छ।

बमजनलाई हिरासतमा लिएको जानकारी पाएपछि उनका अनुयायीहरू सिआइबी बाहिर कुरेर बसिरहेका थिए। उनीहरूलाई सिआइबी परिसरभित्र प्रवेश गर्नबाट रोक्न गेटमा प्रहरीहरूसमेत तैनाथ बसिरहेका थिए। पक्राउ गरेको बमजनलाई सिआइबीले सुरूमा जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरिरहेको छ। उनलाई प्लेनमार्फत आजै सर्लाही पुर्‍याउने सिआइबीको तयारी छ। बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित गराउने भनिएको छ।

धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई ‘भगवान’ भनेर चिनाउँथे। सेतोपाटीले पाँच वर्षअघि उनले गरेको हत्या, व्यक्ति बेपत्ता, हिंसा र बलात्कारका घटनामा तीन महिनासम्म अनुसन्धान गरी तयार पारेको फेहरिस्त प्रकाशन गरेको थियो।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।

बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका थिए।

२०७५ भदौ ३० गते रौतहटकी १८ वर्षीया गंगामाया तामाङले ललितपुरस्थित सामुदायिक सूचना नेटवर्कको कार्यालयमा पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। उनले चार वर्ष बमजनको आश्रममा बस्दा देखेका र भोगेका दुर्व्यवहारबारे सार्वजनिक गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*